१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘ज्यान छ तर जीवन छैन’

सरकारकाे नीति तथा कार्यक्रम

सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति विभिन्न पार्टीका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले आमूल परिवर्तन गर्नेगरी नीति तथा कार्यक्रम नआएको बताए। ‘गठबन्धन सरकारले आलोपालो नै सही पाँच वर्ष चलाउने दृढताका साथ पहिला केही वर्ष आमूल संरचनात्मक परिवर्तनका नीति–कार्यक्रम ल्याउनुपथ्र्यो। सुझाव पनि दिएकै हो,’ शुक्रबार साँझ ट्विट गर्दै उनले भनेका छन्, ‘तर निरन्तरतामा १९ को २० गर्ने गरी आयो। ठीकै छ। जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र बर्सेनि ५–७ लाख रोजगारी हुन्न तबसम्म केही हुन्न है।’

एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’अहिले हामीले भोगिरहेको आर्थिक–सामाजिक चुनौतीको समाधान गर्ने ठोस प्रस्ताव र कार्यक्रम नआएको उनले बताए। उनले कार्यक्रम एकदम लम्बेतान भएको पनि बताए। ‘भएभरका सबै छन् तर खास केही छैन,’ उनले भने। नीति तथा कार्यक्रम आर्थिक मन्दीमा गइरहेको मुलुकलाई सही ट्र्याकमा ल्याउनेखालको नरहेको उनको भनाइ छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले नीति तथा कार्यक्रमले अहिलेको समस्याको समाधान गर्न नसक्ने बताए। ‘अहिले देश जुन आर्थिक अवस्थामा गुज्रिरहेको छ, त्यसलाई सम्बोधन गर्न ठोस कार्यक्रम आएको छैन,’उनले भने, ‘यस विषयमा राम्रोसँग सैद्धान्तिक छलफल गर्नु आवश्यक छ। यसले आजको आर्थिक जटिलतालाई सम्बोधन गर्न ठोस कार्यक्रम ल्याएको छैन।’  

कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री मोहन बस्नेतले भने नीति तथा कार्यक्रमबाट देशले राम्रो ट्र्याक समात्ने बताए। मुलुकमा साधन र स्रोतका अधिकतम परिचालन गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी उनले गरे। सर्वपक्षीय हित समेटेर नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ छ।

प्रकाशित: ६ जेष्ठ २०८० ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App