coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भाँसिएको पुल मुनि सांसद गौतमको अनशन

तस्बिर: नागरिक

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जिल्लाको एउटा पुल उद्घाटन नहुँदै ७ वर्ष अघि भत्कियो।

जिल्लाको आधा भूगोल जोडने पुल बनाउने कम्पनीलाई न त कारबाही नै भयो। न त पुल पुनः निर्माण भयो। यो त जिल्लाको एउटा मुद्दा मात्र हो। बर्दिया जिल्लाका यस्ता थुप्रै मुद्दा र समस्याहरू वर्षौँदेखि समाधान नभएपछि एक जना सङ्घीय सांसद त्यही भत्किएको पुल मुनि अनशन बसिरहेका छन्।

दुई कार्यकाल लगातार चुनाव जित्ने मध्येमा पर्छन्, बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतम। एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता वामदेव गौतमलाई हराएर चुनाव जितेका सञ्जयको आफू दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदासमेत विकासको अनुभूति जिल्लावासीले गर्न नपाएको गुनासो छ।

गौतमको चुनावी एजेन्डामा मुख्य गरी तीन वटा विकासे काम प्राथमिकतामा पर्दथे, ‘भत्किएको जब्दी घाटको पुल निर्माण, गुलरिया मूर्तिहा नाका खोल्ने र तेलपानी सुर्खेत सडक खन्डमा सडक निर्माण पूर्णता।’ पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भत्किँदासमेत पुनर्निर्माण हुन सकेन र तेलपानी सडक पनि अलपत्र अवस्थामा छ।

२००९ अक्टोबरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा भारतसँग सम्झौता भएको गुलरिया–मूर्तिहा नाका अझै खुल्न सकेको छैन।

सिँचाई मन्त्रीसमेत भइसकेका सांसद गौतमले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाले पूर्णता पाउन नसक्दा जिल्ला विकासको हिसाबले पछि परेको बताए।

गौतमले आफ्नै पार्टी सरकार रहँदासमेत सिन्को भाँच्न नसकेको अनुभूति गरेपछि सरकारलाई दबाब दिन आमरण अनशन सुरु गरेका बताएका छन्। गौतमको आमरण अनसनको साथसाथै प्रदेश सांसद भुवनेश्वर थारू, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाकामा नगर प्रमुख छविलाल थारूले पनि रिले अनशन सुरु गरेका छन्।

गुलरिया वडा नं २ का एमालेका जनप्रतिनिधि टंक पौडेलले अनशन स्वागत योग्य भएको भन्दै समर्थन जनाए। ७ वर्षअघि भत्किएको पुलको पुनः निर्माण नहुँदा जब्दी घाटको पुलमुनि गौतमको आमरण अनशन चलिरहेको छ।

शनिबारदेखि गौतमले अनसन सुरु गरेका हुन। उनी १५ बुँदे मागसहित अनसन बसेका हुन्। ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔं,’ भन्ने अनशनको मूल नारा छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाटस्थित भासिएको पुल मुनि अनशन सुरु गरेका हुन्।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल २०७४ सालमा भत्किएको थियो। भत्किएर जीर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिमपूर्ण आवागमन गरिरहेका छन्। तर गत वर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवतजावत ठप्प भएको छ।

बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्न सक्ने जोखिम बढेको छ।

पुल निर्माणको विषयमा सदनमा पटक पटक कुरा उठाउँदा सरकारको बेवास्ता गरेको सांसद सञ्जय कुमार गौतमले बताए। 

‘भत्किएको जब्दीघाटको पुलले बाँधको काम गरेको छ,’ सांसद गौतमले भने, ‘यसले गर्दा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका बाढीको उच्च जोखिममा छ।’

आउँदो बर्खामा हजारौं जनता डुबानमा पर्ने उनले बताए। बबई सिँचाइ आयोजना पनि अलपत्र परेको छ। बजेट अभावमा तटबन्धका काम अलपत्र परेका छन्। जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भीर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले दाबी गरे।

प्रकाशित: २ जेष्ठ २०८० ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App