८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावी एजेन्डा पूरा गर्न अनशनमा उत्रिए सांसद गौतम

१५ बुँदे माग पूरा गराउन आमरण अनशनमा बसेका गौतम।

दुई कार्यकाल फटाफट चुनाव जित्ने मध्यमा पर्छन्– बर्दिया क्षेत्र नं १ का सङ्घीय सांसद संजय गौतम।

एमाले र माओवादीको गठबन्धन हुँदा तत्कालीन एमालेका शीर्ष नेता बामदेव गौतमलाई हराएर चुनाव जितेका संजय दुई कार्यकाल सांसदको जिम्मेवारी रहँदा समेत विकासको अनुभूति जिल्लावासीले गर्न नपाएको गुनासो छ।

गौतमको चुनावी एजेन्डामा मुख्य गरी तीन वटा विकासे काम प्राथमिकतामा पर्थे– भत्किएको जब्दी घाटको पुल निर्माण गर्ने ,गुलरिया मुर्तीहा नाका खोल्ने र तेलपानी सुर्खेत सडकखन्डमा सडक निर्माणलाई पूर्णता दिने।

सांसद गौतमको दोस्रो कार्यकालको समय घर्किँदै जाँदा समेत ती विकास एजेन्डा ओझेलमा परिरहेकाले सांसदले उठाएको आवाजलाई बेवास्ता गर्न थालेपछि यति बेला गौतम बिलखबन्दमा परेका छन्।

सन् २००९ अक्टोबरमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र  भारतबीच सम्झौता भएकाे  गुलरिया–मुर्तीहा नाका हाल सम्म खुल्न सकेको छैन, पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भत्किदा समेत पुनर्निर्माण हुन सकेन र तेलपानी सडक अलपत्र अवस्थामा छ।

सिँचाई मन्त्री समेत भइसकेका सांसद गौतमले राष्ट्रिय गौरवको आयोजना बबई सिचाई आयोजनाले पूर्णता पाउन नसक्दा जिल्ला विकासको हिसाबले पछि परेको बताए। आफ्नै पार्टी सरकार रहँदा समेत सिन्को भाँच्न नसकेको अनुभूति गरेपछि संर्घषमा उत्रिएर सरकारलाई दबाब दिन आमरण अनशन सुरु गर्नु गरेकाे उनले सुनाए।

सांसद गौतमको आमरण अनशनको साथसाथै प्रदेश सांसद भुवनेश्वर थारु, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाकामा नगर प्रमुख छविलाल थारुले रिले पनि अनशन सुरु गरेका छन्।

गुलरिया वडा नं २ का एमाले तर्फ जनप्रतिनिधि टंक पौडेलले अनशनमा स्वागत योग्य भएको भन्दै समर्थन जनाए। ७ वर्ष अघि भत्किएको पुलको पुनः निर्माण नहुँदा जव्दी घाटको पुल मुनी गौतमको आमरण अनशनमा चलिरहेको छ।

शनिवार देखि सांसद गौतमले अनशन सुरु गरेका हुन्। उनी १५ बुँदे मागसहित अनशन बसेका छन्। ‘हाम्रो बर्दिया बचाऔं, सम्मुनतबर्दिया बनाऔं’ भन्ने अनशनको मूल नारा छ। 

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर सांसद गौतम बबई नदीको जब्दीघाट स्थित भासिएको पुलमुनि अनशन सुरु गरेका हुन।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। भत्किएर जीर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिम पूर्ण आवागमन गरिरहेका छन्। तर गत वर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवत जावत ठप्प भएको छ। बर्खामा पुलको स्पामले बाढी छेक्दा गुलरिया र बारबर्दिया नगरपालिका बाढी पस्न सक्ने जोखिम बढेको छ।

पुल निर्माणको विषयमा सदनमा पटक पटक कुरा उठाउँदा सरकारको बेवास्ता गरेको सङ्घीय सांसद संजय कुमार गौतमले बताए।

‘भत्किएको जब्दी घाटको पुलले बाधको काम गरेको छ’ सांसद गौतमले भने,‘यसले गर्दा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका बाढीको उच्च जोखिममा छ।’ आउँदो बर्खामा हजारौं जनता डुबानमा पर्ने उनले सुनाए।

बबई सिँचाई आयोजना पनि अलपत्र परेको छ। बजेट अभावमा तटबन्धका काम अलपत्र परेका छन्। जिल्लाको  समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदा सरकार गम्भीर नहुँदा अनशन बस्न बाध्य भएको सांसद गौतमले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०८० १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App