१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नक्कली शरणार्थी प्रकरण: दोषी समात्न एक वर्ष अघि खाँणसंगै गुहार

फाइल तस्बिर

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीमा परेका दाङका केहि ब्यक्तिहरुले ठगी गर्ने गिरोहमा संलग्न ब्यक्ति विरुद्ध उजुरी हाले। आफूहरुबाट रकम असुलेर भागेको भन्दै उजुरी हालेका दाङका केहि ब्यक्तिहरुले नेताहरुलाई पनि उसैगरि रकम निकासाका लागि गुहारिरहेका थिए। दाङबाट २०७० मा संविधानसभा सदस्यमा निर्वाचित बुद्धिराम भण्डारी समक्ष पीडितहरुले गत बर्ष आफुहरुको समस्या सुनाए। पीडितहरुले दाङका सन्देश शर्मा विरुद्ध उजुरी हालेका थिए। अहिले नक्कली शरणार्थी प्रकरण बाहिरिएपछि शर्मा पक्राउ परेका छन्।

आफ्नै क्षेत्रका नागरिकहरु ठगीमा परेको सुनेपछि पूर्व सांसद भण्डारीले ठगीमा परेकाहरुको उद्धारका लागि पहल थाले। ‘हामीहरु अमेरिका जाने लोभमा ठगियौँ,हामीहरुको रकम निकासाका लागि पहल गरिदिनु पर्यो भनेर म कहाँ केहि ब्यक्तिहरु आउनु भयो,’ भण्डारीले भने ‘उहाँहरुले प्रहरीमा पनि उजुरी हाल्नु भएको रहेछ, अनि मैले उहाँहरुको समस्या समाधानका लागि भनसुन गरेँ।’

प्रहरीमा उजुरी परिसकेको बिषय भएकाले उनले प्रहरीको ध्यानाकर्षण गराउन खोजे। प्रहरीलाई सकृय बनाए समस्या समाधान गर्न सकिन्छ भन्ने मनसायले पूर्व सांसद बुद्धिराम गृहमन्त्री समक्ष २०७९ जेठमा गुहार माग्न गईपुगे। त्यो बेला गृहमन्त्री बालकृष्ण खाँण थिए । ‘हाम्रै पार्टीका नेता गृहमन्त्री भएकाले मैले सिधै उहाँलाई नै भेटेर दाङका ब्यक्तिहरुको डुबेको रकम फिर्ताका लागि पहल गरिदिनु भनेको थिएँ,’ उनले भने, ‘मैले उहाँलाई यो मुद्धा प्रहरीमा पनि परेको भनेर उहाँलाई जानकारी गराएको थिएँ,उहाँलाई भनेपछि प्रहरीले रकम ठगेर भागेकाहरुलाई चाँडै पक्राउ गर्न सक्छ भन्ने बिश्वास थियो।’ उनी गृह मन्त्रीले कडा पहल गरिदिने भन्दै ठगी गरि भागेका पक्राउ पर्ने र ठगिएको भन्दै आफू समक्ष गुहार माग्न पुगेकाहरुले फसेको रकम फिर्ता पाउनेमा बिश्वस्त थिए।

नक्कली शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै ठगी गरेकाहरु बिरुद्ध कारवाहीका लागि ध्यानाकर्षण गराउन पुगेका भण्डारीले तत्कालीन गृहमन्त्री खाँणलाई लाखौँ रकम डुबाएकाहरुको उद्धारका निम्ती आग्रह गरेका थिए। जवाफमा खाँणले गृहसचिवलाई ‘भनिदिने’ आश्वासन दिएका थिए। ‘नक्क्ली शरणार्थी बनाएर अमेरिका पुर्याउने भन्दै ठगी गरेकाहरुबाट रकम फिर्ताका लागि प्रहरीलाई कडा एक्सनका साथ अघि बढाउन अनुरोध गरेको थिएँ,’ भण्डारीले भने ‘उहाँ(खाँण)ले आश भन्दा पनि आफूले गृह सचिवलाई भनिदिन्छु भन्नु भएको थिया, सचिवले भनेपछि प्रहरी एक्सनमा गैहाल्छ भन्ने उहाँको भनाई थियो।’

आफ्नो क्षेत्रका स्थानीयहरु अमेरिकाको लोभमा फसेपछि भण्डारीले गृह गुहारेको भएपनि समस्या समाधानका लागि गृहका तर्फबाट पहल भने थालिएन। लाखौँ रकम डुबाएका दंगालीहरुको समस्या जस्ताको तस्तै रह्यो। ‘मैले गृह मन्त्रालयमा गएर भनसुन गरेँ, त्यसपछि प्रहरीको एक्सन के भयो थाहा भएन,’ उनले भने ‘उहाँ(रकम डुबाएकाहरु) पनि म समक्ष आउनु भएन, शायद समस्या समाधान नभएर त होला अहिले झनै समस्याका कुराहरु बाहिर आए।’  

उनका अनुसार त्यसपछि भने आफूहरुको रकम पाएको भनेर दाङका कोही पनि सम्पर्कमा आएनन्। गृह मन्त्री खाँण रहेकै बेला यो गिरोहमा संलग्न २ जना समातिएका थिए। पक्राउ परेका उनिहरुलाई राजनीतिक दबाबमा छोडिएको थियो। अमेरिका जाने प्रलोभनमा लाखौँ रकम डुबाएकाहरुले रकम फिर्ता पाउने आशा गरेको भएपनि उनिहरुको उन्मुक्तीले पुनः निराश बनाई दिएको थियो।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै धोका दिएकाहरुलाई कारवाहीका लागि आश्वासन दिएका खाँण अहिले आफै सोही मुद्धामा पक्राउ परेका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहको प्रलोभनमा परेर दाङका ६० जना भन्दा बढि ठगिएका छन्। उनीहरुले अमेरिका जान भन्दै बुझाएको लाखौँ रकम फिर्ता भएको छैन। उनीहरु बाट प्रति ब्यक्ति २० देखि माथि ४५ लाख रुपैयाँ सम्म ठगि गरिएको छ।

प्रकाशित: २८ वैशाख २०८० १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App