गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरुको बहुमतले पाण्डेलाई विश्वासको मत दिएका हुन्।
गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिने प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मुख्यमन्त्री पाण्डेलाई ६० सदस्यीय प्रदेश सभाको बहुमत अर्थात ३५ सदस्यले विश्वासको मत दिए। उनलाई आफ्नो पार्टी नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक जनाले विश्वासको मत दिए।
प्रस्तावको विपक्षमा नेकपा एमालेका २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ प्रदेश सभा सदस्यले मत जाहेर गरे।
बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिईसक्नुपर्ने भएपनि उनले एक हप्तामै विश्वासको मत लिएका हुन्। अन्तर पार्टी र पार्टी भित्र विवाद भएपछि मन्त्री परिषदलाई पूर्णता दिनुअघि नै पाण्डे विश्वासको मत लिन हतारिएका हुन्।
शुरुमा पाण्डे मन्त्री परिषदको पूर्णता र मन्त्रीहरुको कार्य विभाजन गरेर मात्र विश्वासको मत लिने पक्षमा थिए। तर जति प्रयास गरेपनि पार्टी भित्रबाट बन्ने मन्त्रीको टुंगो लगाउन र नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँटमा सहमति नजुटेपछि उनी मन्त्री परिषदको पूर्णता र मन्त्रीहरुको कार्य विभाजन अघि नै विश्वासको मत लिने निश्कर्षमा पुगेका थिए।
प्रकाशित: २१ वैशाख २०८० १७:१२ बिहीबार