७ वैशाख २०८१ शुक्रबार
राजनीति

ठक्कर पाउँदा पनि नचेतेको कांग्रेस

‘चुनावमा लज्जाजनक हारपछि भएका त्रुटिहरू केलाउन र सच्चिएर अघि बढ्न तयार हुनुहुन्छ होला भन्ने लागेको थियो। तर सभापति सच्चिने बाटोमा देखिनुभएन। चुनाव गराएको श्रेय सभापतिलाई दिनुपर्छ। तर हारको जिममेवार पनि उहाँले लिनुहुन्छ होला भन्ने लागेको थियो, लिनुभएन।’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल (हाल राष्ट्रपति) ले २०७४ सालको आम निर्वाचनमा पार्टी पराजयका सन्दर्भमा २०७५ मंसिर २८ गते केन्द्रीय समितिमा दिएको अभिव्यक्ति हो यो।

सभापति शेरबहादुर देउवाले पौडेललाई तत्कालै जवाफ फर्काए, ‘मलाई गाली गरेर चुनाव जितिँदैन। आफ्नो जिल्ला र गाउँ गएर जनताको मन जितेर चुनाव जितेर आउनू। आफैं चुनाव हार्ने अनि जिम्मेवारी तैंले लिनुपर्छ भन्ने? ऊ यसले (प्रकाशमान सिंहलाई देखाउँदै) भन्न सुहाउँछ।’

कांग्रेसको दोस्रो मर्यादा क्रममा रहेका पौडेल २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठसँग (हाल नेकपा एकीकृत समाजवादी) सँग पराजित भएका थिए। त्यो निर्वाचनमा कांग्रेसका पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला सहितका नेता पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा संघीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको थियो। संघीय सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्ने हैसियतसमेत कांग्रेसले गुमाएको थियो। प्रदेशहरूको हालत पनि उस्तै थियो।

कांग्रेसको दोस्रो मर्यादाक्रममा रहेका पौडेल २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठसँग (हाल नेकपा एकीकृत समाजवादी) सँग पराजित भएका थिए।

निर्वाचन परिणामले कांग्रेस नेताहरूले चेते होलान्। प्रतिनिधिसभाको पहिलो एमाले र तेस्रो माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनपछि फेरि सत्ता र शक्तिमा फर्कनका लागि नेताहरू संगठन सुदृढीकरणका योजना र कार्यक्रमसहित अघि बढ्छन् होला भन्ने चाहना र आशा कांग्रेस कार्यकर्ता र शुभेच्छुहरूले राखेका थिए। तर चुनावको एक वर्षपछिसम्म पनि कांग्रेसको ध्यान हारको जिम्मा कसले लिने भन्नेमै केन्द्रित बन्न पुग्यो।

चुनाव भएको पाँच महिनापछि २०७५ वैशाख १६ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा गर्दै पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गर्‍यो। त्यसअघि कांग्रेसमा ८, १२, १६ र २४ भाइका नाममा थुप्रै तमासा, आरोपप्रत्यारोप चल्यो। तर संगठन सुधारका लागि ठोस प्रस्ताव कसैले पनि ल्याएनन्। युवा पुस्ता रचनात्मक होइन, आलोचनात्मक बन्न पुग्यो। पहिलो र दोस्रो पुस्ताका नेतालाई खुइल्याउन सके पार्टीमा आफ्नो स्थान सुरक्षित हुनेतर्फ युवा पुस्ता सक्रिय बन्यो।

राजनीतिप्रति चासो राख्न थालेका वयस्कमा आलोचनात्मक चेतको बारुद भर्ने काम भयो। संगठित हुने र रचनात्मक बन्ने होइन, अहिलेको शासन व्यवस्था, नेतृत्व र पार्टीहरूले केही दिने र गरेन भन्ने मात्र उनीहरूमा चेत भरिन पुग्यो, र भर्ने काम भयो। त्यसले राजनीति र राजनीतिक नेतृत्वप्रति चरम वितृष्णा जगायो। तत्काल कसैलाई नाफा भएजस्तो देखिए पनि समग्रमा कांग्रेसलाई मात्र होइन, पुराना दलप्रति युवाको आकर्षण घट्न पुग्यो।

चुनाव भएको पाँच महिनापछि २०७५ वैशाख १६ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा गर्दै पराजयको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय ग¥यो।

संगठन होइन, गुट बनाउने र भत्काउने होड कांग्रेसमा चल्यो। एमाले र माओवादी मिलेर गठन भएको तत्कालीन नेकपासँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउने होइन, त्यो पार्टी कहिले विभाजन होला भन्ने प्रतिपक्षमा कांग्रेस नेताहरू पुगे। नेतृत्वमा पुग्ने र पार्टी कब्जा गर्ने रणनीतिमा नेताहरू लागे। महाधिवेशन लक्षित गर्दै कांग्रेसले थप साढे चार लाख क्रियाशील सदस्यता बढाएर नौ लाख पुर्‍यायो। त्यसलाई कांग्रेसप्रतिको आकर्षण बढेको रूपमा अथ्र्याउन युवा नेता नै लागे।

त्यति मात्र होइन, पहिलो पटक मतदाता बन्दै गरेका तन्नेरीसहित १५ लाख मतदाता पार्टीमा थप्ने उनीहरूले बताएका थिए। त्यही आशा र आकर्षणमा कांग्रेसको १४औं महाधिवेशनमा पार्टी रूपान्तरणको मुद्दा अघि सारेका युवा पुस्ताका नेता अनुमोदित भए। मूल नेतृत्वबाहेक सबै जसो पदाधिकारी ६० वर्षमुनिका आए। अब कांग्रेस बदलिन्छ भन्ने आशा कार्यकर्तामा पलायो। तर कांग्रेस बदलिएन, नेता बदलिए। दाइहरूको दैलो फेरियो। गुटका आकार र प्रकार बदलिए। अनि गठबन्धन पनि बदलियो तर प्रवृत्ति बदलिएन। पाँचदलीय गठबन्धनको टेकोमा कांग्रेसको संघ र प्रदेशसभा संख्या पनि बदलियो।

राप्रपा र मधेसवादी दलसँग मिलेर चुनाव लड्दा २३ सिट जितेको कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका पाँच दलसँग मिल्दा ५९ क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्‍यो। थपिएका साढे चार लाख क्रियाशील सदस्यले दाइलाई भोट हाले तर कांग्रेसलाई मत हालेनन्। १५ लाख भोट बढाउने भनेको कांग्रेसले २०७४ सालको निर्वाचनमा पाएको मत पनि जोगाउन सकेन। ‘म लाऊँ, मै खाऊँ, सुखसयल वा मोज म गरूँ’ भन्ने प्रवृत्तिले सत्ता राजनीतिमा कांग्रेस पाँच वर्षअघिकै अवस्थामा पुग्यो।

त्यति मात्र होइन, पहिलो पटक मतदाता बन्दै गरेका तन्नेरीसहित १५ लाख मतदाता पार्टीमा थप्ने उनीहरूले बताएका थिए।

नेता र नेतृत्व संकटमा जन्मने हो। कांग्रेसले सत्ता गुमाउँदै गर्दा आशा गरिएका नेताहरू हस्तक्षेपकारी भूमिकामा देखिएनन्। बरु उनीहरू मेसी र एम्बापेको उदाहरण दिँदै काखी बझाउन लागिपरे। पाँच वर्षपछि मेसी वल्र्डकप खेल्न मैदानमा नआउने उदाहरण पेस गर्दै कांग्रेस नेताहरूले त्यसपछि आफूहरूको विकल्प नभएको दाबी पेस गरे।

कांग्रेस नेता तथा कार्यकर्ताले बुढो मेसीको बिदाइपछि टिमको नेतृत्व लिन युवा नेतालाई पठाएका थिएनन्। कार्यकर्ताले मेसीलेभन्दा राम्रो खेलुन्, सिकुन र सिकाउन भन्ने चाहना राखेका थिए। मेसीले कप उचाल्ने हो हामी किन खेल्नु भनेर अर्जेन्टिनाका खेलाडीले मैदान छाडेनन्, बरु सबैले आआफ्नो ठाउँबाट प्रयास गरे र विश्वविजेता बने।

कांग्रेस युवा नेताहरूबाट पनि कांग्रेसजनले त्यही अपेक्षा गरेका थिए। सत्ता र पार्टी राजनीतिमा संकट पर्दा युवा नेताहरूले ‘वाकओभर’ दिएर मैदान छाडुन्। र्‍याल काड्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारमा कुदेजस्तै ८० काटेका तिनै नेता फेरि परिस्थिति सम्हाल्न लागिपरे। फेरि सत्ता राजनीतिको केन्द्रमा कांग्रेस फर्केको छ तर जनतामा पार्टीप्रतिको विश्वास टुटेको छ। युवा नेताहरूप्रति पनि तन्नेरी पुस्ताको विश्वास गुम्न पुगेको छ। यसको पछिल्लो उदाहरण यही वैशाख १० गते भएको उपनिर्वाचन हो।

कांग्रेस नेता तथा कार्यकर्ताले बुढो मेसीको बिदाइपछि टिमको नेतृत्व लिन युवा नेतालाई पठाएका थिएनन्। कार्यकर्ताले मेसीलेभन्दा राम्रो खेलुन्, सिकुन र सिकाउन भन्ने चाहना राखेका थिए।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू उपनिर्वाचनका लागि तनहुँ र चितवनमा खटिए। उनीहरूलाई अरू युवा नेताले पनि साथ दिए। गत मंसिर ४ मा भएको निर्वाचनमा ८० पारिका कांग्रेस नेता रामचन्द्र पौडेललाई अनुमोदित गरेको तनहुँ १ ले वैशाख १० मा ६० वारिको गोविन्द भट्टराईलाई पत्याएन। शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, केपी ओलीको मात्र होइन, कांग्रेसभित्र र मुलुकले नै आशा गरेको गगन/विश्वप्रकाश पुस्ताको कुरामा पाका र तन्नेरी दुवै पुस्ताले भरोसा गरेन। उनीहरूलाई विश्वास गरेर भोट दिने होइन, कुरा सुन्न पनि तयार भएनन्।

चितवनमा कांग्रेस र एमालेले अघिल्लो पटकभन्दा युवा र स्थानीयलाई चुनावी प्रतिस्पर्धामा उतारे। एमाले सचिव योगेश भट्टराई, गोकुल बास्कोटाहरू चुनावी प्रचारमा उत्रिए। मतदाता आकर्षित भएनन्। भोट बढ्नुको साटो झन घट्यो। यसले पुस्ता र उमेरको कुरा होइन, मध्यमवर्गीय नेपालीको एमाले, कांग्रेस, माओवादीप्रतिको भरोसा टुटेको संकेत हो यो। नेता र व्यक्ति विशेष होइन, दलहरूप्रति नै आक्रोश बढेको छ।

नीति, सिद्धान्त, कार्यक्रम, योजना र व्यक्ति होइन, केही भएन भन्ने असन्तुष्टि मतमार्फत प्रकट भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा सिके राउतको जनमत र रञ्जिता श्रेष्ठ नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी त्यसकै उपज हुन्। उपनिर्वाचनले पुराना दलप्रति मंसिर ४ मा व्यक्त आक्रोश संगठित हुने संकेत गर्दैछ।

जराहरू कमजोर हुँदा भीमकाय रुख पनि सामान्य हावाले पक्लक्क उप्केजस्तै प्रतिनिधि र प्रदेशसभाका ठूला भनिएका दलहरूको अवस्था पाँच वर्षपछि त्यस्तै नहोला भन्न सकिँदैन। त्यतिबेला कुन उमेर समूह भन्ने कुराको अर्थ र औचित्य बाँकी हुँदैन। साठीपारिका मात्र होइन, साठीवारिका, जसलाई युवा भनिन्छ, उनीहरू पनि एकैपटक, एकैसाथ असान्दर्भिक नहोलान् भन्न सकिँँदैन।

चितवनमा कांग्रेस र एमालेले अघिल्लो पटक भन्दा युवा र स्थानीयलाई चुनावी प्रतिस्पर्धामा उतारे। एमाले सचिव योगेश भट्टराई, गोकुल बास्कोटाहरू चुनावी प्रचारमा उत्रिए।

आक्रोशको आगो सल्काउन जति सहज थियो र छ, अब त्यसलाई नियन्त्रणमा लिन युवा पुस्तालाई नै हम्मे पर्ने देखिएको छ। तपाईहरूले भरेको आलोचना र आक्रोशको ज्वाला निराशामा परिणत हुँदैछ। अनि त्यो आक्रोश तपाईंहरूका विरुद्ध पोखिने संकेत चितवन र तनहुँले गरेको छ। चाकरहरूको भिड र हुलमा रमाउने व्यक्ति होइन, देश र दुनियाँको हितका लागि रचनात्मक प्रयासको खोजी मुलुकमा भइरहेको छ। अर्को निर्वाचनको तयारीमा जुट्ने बेलामा मंसिरको चुनाव समीक्षासमेत आवश्यक नठान्ने कांग्रेस र तिनका नेता समयक्रमसँगै असान्दर्भिक नहोलान् भन्न सकिँदैन।

प्रकाशित: १४ वैशाख २०८० ००:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App