१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘नेपालमा विदेशीले पार्टी खोलिसके’

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको बताएका छन्। नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोलिसकेको उनले बताए।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै नेता केसीले नयाँ खोलिएका केही दल विदेशबाट परिचालित भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति संकेत गर्दै उनले नेपालमा विदेशीहरूको प्रत्यक्ष संलग्नता रहेको बताए।

यद्यपि विदेशी चलखेल नेपालमा पहिल्यैदेखि रहेकाले नेपाललाई आत्मनिर्भर बन्न नदिने नीति उनीहरूको रहेको बताए। ‘नेपालमा भारत र चीनको हस्तक्षेप पहिल्यै थियो, केसीले भने, ‘अहिलेबाट अमेरिका पनि थपिएको छ।’चीनलाई कमजोर गराउन अमेरिकाले नेपाललाई प्रयोग गरिरहेको उनको भनाइ छ। एमसिसीलगायतका परियोजना त्यसैको एउटा स्वरूप रहेको उनले बताए।

नयाँ दल विदेशबाट सञ्चालित रहेकाले उनीहरूले पनि नेपाललाई निकास दिन नसक्ने बताए। नेपालका गरिब नागरिकलाई विदेश पठाउने र यहाँ विदेशी एजेन्डा लागु गर्ने काम भइरहेको नेता केसीको तर्क छ। पुराना दल र नेताहरू पनि निजी स्वार्थमा चुर्लुम्म डुबेकाले देशको स्थिति भयावह भइसकेको उनले बताए। ‘नयाँहरू विदेशी इशारामा काम गर्ने पुराना भ्रष्टाचारमा लिप्त छन्’, उनले भने, ‘अब नेपालको स्थिति के हुने हो? सम्झँदा पनि डर लाग्छ।’

नेपाली नागरिकले सरकार भएको अनुभूति गर्न नपाएको भन्दै उनले खेतबारी बाँझै राखेर, गाउँ रित्तै गराएर कुन समृद्धिको कल्पना गरेका छौं भन्ने प्रश्न उब्जिएको बताए। गाउँमा बूढाबूढी मात्र रहेकाले युवायुवती सबै विदेश जाने होडबाजीमा रहेको बताए। नेपालमा भएका उद्योग, कलकारखाना ध्वस्त बनाएर युवायुवतीलाई विदेशमा श्रम बेच्न पठाएर नेपालमा समृद्धि नआउने उनको भनाइ छ।

नयाँ पुस्ता विदेशी मोहमा परेको भन्दै नेता केसीले नेपालमा बस्न अहिलेको पुस्ता अनिच्छुक देखिएको बताए। विगतमा बनेका कम्युनिस्ट वा कांग्रेसको सरकारले युवा पुस्तालाई बिदेसिन बाध्य पारेको उनले आरोप लगाए। ‘कसैले आशा जगाउन नसकेपछि अहिलेको पुस्ता सबै विदेशतिरै जान थाले’,उनले भने, ‘मेरै छोरालाई मेलै रोक्न सिकनँ, अरूलाई झन् कसरी भनौं?’

संघीयताले देशलाई झन् गाँजेको भन्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले तत्काल संघीयताको विकल्पमा जानुपर्ने बताए। विदेशीले ल्याइदिएको संघीयता नेपालका लागि ‘भालुको कम्पारो’भएको बताए। महँगो प्रणालीले गर्दा नै नेपालको अर्थव्यवस्था खस्केको उनले बताए।

प्रकाशित: ९ वैशाख २०८० ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App