१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा ठुला दललाई जनमत जोगाउन चुनौती

बायाँबाट बारा २ का उम्मेदवारहरू: उपेन्द्र यादव, शिवचन्द्र कुशवाहा, पुरूषाेत्तम पाैडेल र रमेश खरेल। तस्वीर: नागरिक

यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति, चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज र बारा २ बाट विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति भएका कारण ती क्षेत्रमा उपचुनाव हुन लागेको हो।

उपनिर्वाचनलाई राजनीतिक दलहरूले आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन् भने राजनीतिक वृत्तमा यसलाई दलहरूको परीक्षणका रूपमा पनि हेरिएको छ। उपनिर्वाचनमा नयाँ अनुहार र मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित पनि उम्मेदवार छन्।

यही वैशाख १० गते तीन जिल्लाका तीन क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन्।

तीनवटै क्षेत्रमा प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। उपचुनावमा केही फरक माहोल देखिएको छ। तीनवटै क्षेत्रमा दलका देशैभरिका नेता, कार्यकर्ता आआफ्नो पक्षका उम्मेदवारलाई जिताउन परिचालित छन्। उनीहरूले आआफ्नै दलका उम्मेदवारले निर्वाचन जित्ने ठोकुवासमेत गरिरहेका छन्। सत्ता गठबन्धन दलले चुनावी तालमेल गरेका छन्।

तनहुँमा कांग्रेसलाई बिरासत जोगाउन चुनौती

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। तनहुँ १ मा पार्टी केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको कांग्रेस निर्वाचन परिणाम आफ्नो पक्षमा पारेर लामो बिरासत जोगाउन जोडतोडले लागेको छ।

२०४६ सालपछि मुलुकमा भएका निर्वाचनमा २०७४ बाहेक सबैमा तनहुँ १ मा कांग्रेस विजयी भएको छ। सत्ता गठबन्धन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलको समर्थन पाएका भट्टराईका लागि केही समयअघिसम्म कांग्रेस राजनीतिमा रहेका स्वर्णिम वाग्ले र सर्वेन्द्र खनाल चुनौती बनेका छन्।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

कांग्रेसबाट राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष भएका वाग्ले अवसर नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा पसेर उम्मेदवार बनेका हुन्। वाग्ले तनहुँबाहिरका हुन्। खनाल एमालेका उम्मेदवार हुन्। पूर्वप्रहरी महानिरीक्षक खनाल मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार थिए।

तनहुँ १ राष्ट्रपति पौडेलको क्षेत्र भएकाले पनि चर्चामा छ। तनहुँ १ मा वाग्लेको प्रवेशले चुनावी परिणाम उलटफेर हुने त होइन भन्ने भय कांग्रेस नेताहरूमा छ। त्यो भयलाई चिरेर जित सुनिश्चित गर्न कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरेको कारबाही फुकुवा गरेको छ। कारबाही फुकुुवा भएपछि जोशी भट्टराईविरुद्ध सक्रिय हुनबाट रोकिएका छन्।

तनहुँ १ राष्ट्रपति पौडेलको क्षेत्र भएकाले पनि चर्चामा छ। तनहुँ १ मा वाग्लेको प्रवेशले चुनावी परिणाम उलटफेर हुने त होइन भन्ने भय कांग्रेस नेताहरूमा छ।

मंसिर ४ गतेको चुनावमा जोशीको पक्षमा लागेका नेताहरू अहिले पौडेल र जोशीबीचको विवादलाई आधार बनाएर पार्टीका उम्मेदवारलाई हराउन नहुने भन्दै भट्टराईको पक्षमा खुल्न थालेका छन्। कांगे्रस नेताहरू ग्रामीण र सहरी क्षेत्रका महिला मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएको भन्दै आफ्नो मत जोगाउन सक्रिय छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले कांग्रेस र एमालेको मत तानेर जित निकाल्न सक्रिय छन्। एमाले उम्मेदवार खनाल यसअघि पार्टीले पाएको मत रक्षा गर्न सके परिणाम पक्षमा आउने बुझाइमा छन्।

यसअघि काठमाडौंमा चुनाव लडेर हारेका खनाललाई पार्टीले तनहुँको उपचुनावमा पनि उम्मेदवार बनाएको विषयलाई त्यहाँका मतदाताले सकारात्मक रूपमा नलिएको जानकार बताउँछन्। यसको लाभ वाग्लेलाई पुग्नसक्ने भय कांग्रेस र सत्ता गठबन्धनका नेताहरूमा देखिन्छ। त्यही भएर बुधबार सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ पुगेर त्यहाँको विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धतासहित भट्टराईको पक्षमा मत मागेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले कांग्रेस र एमालेको मत तानेर जित निकाल्न सक्रिय छन्।

मंसिर ४ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा तनहुँ १ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका पौडेलले जितेका थिए। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस थिए। अहिले पनि यी दलको समर्थन कांग्रेस उम्मेदवारलाई छ।

मंसिरमा पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए। कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले २ हजार ४ सय ८४ मत पाएका थिए। राप्रपा अहिले पनि चुनावी प्रतिस्पर्धामा छ। तनहुँ १ मा अन्य दल पनि चुनावी प्रतिस्पर्धामा छन्।

चितवन २ मा रविलाई रोक्ने प्रयासमा ठुला दल

मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए। उम्मेदवारी दर्ता गरेकै बेला उनको नागरिकतासम्बन्धी विवाद आएको थियो। तर निर्वाचन आयोगले समयमा निर्णय नदिँदा उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थियो।

पुराना राजनीतिक दलका कमजोरीमाथि टेलिभिजन कार्यक्रममार्फत प्रश्न उठाउँदै चर्चा बटुलेका लामिछानेले चुनाव मात्र जितेनन्, उनी उपप्रधान तथा गृहमन्त्री पनि बने। तर नागरिकता विवादमा तानिएका लामिछानेको सर्वोच्चको फैसलाबाट सांसद पद खारेज भयो, मन्त्री पनि गुम्यो।

मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए।

लामिछानेले संविधान र कानुनी प्रावधानलाई ख्याल नगर्दा चितवन २ मा उपनिर्वाचन हुन लागेको होे। लामिछाने फेरि उम्मेदवार बनेका छन्। उनीसँगै कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन्। यीबाहेक अन्य दल र स्वतन्त्रबाट पनि उम्मेदवार छन् चितवन २ मा।

यसअघिको निर्वाचनमा लामिछानेविरुद्ध चितवन २ का मतदाताले खासै प्रश्न गरेनन्। तर उनकै कारण उपनिर्वाचन हुने अवस्था आएपछि स्थानीय मतदाताले यसमा प्रश्न उठाएका छन्। कांग्रेसले अघिल्लो निर्वाचनमा चितवन २ मा व्यवसायी उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। उनको उम्मेदवारीप्रति कांग्रेस नेता तथा कार्यकर्तासमेत असन्तुष्ट थिए।

अहिले स्थानीय नेता श्रेष्ठलाई मैदान उतारेको कांग्रेस परिणाम पनि उल्ट्याउन चाहन्छ। स्थानीय नारा दिँदै चुनावी प्रचारमा होमिएको कांग्रेस अहिले पार्टीका पुराना नेताहरूलाई पनि समेटेर अघि बढेको छ। एमाले उम्मेदवार न्यौपानेले पार्टीका अजेन्डा र लामिछानेको विगतको कमजोरी उठाउँदै मत मागिरहेका छन्। एमाले र कांग्रेसका उम्मेदवारले परिणाम आआफ्नो पक्षमा आउने दाबी गरे पनि चुनावी माहोल लामिछानेकै पक्षमै रहेको बताइन्छ।

यसअघिको निर्वाचनमा लामिछानेविरुद्ध चितवन २ का मतदाताले खासै प्रश्न गरेनन्। तर उनकै कारण उपनिर्वाचन हुने अवस्था आएपछि स्थानीय मतदाताले यसमा प्रश्न उठाएका छन्।

मंसिरमा भएको चुनावमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्र्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८९ मत र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १४ हजार ६ सय ५२ मत प्राप्त गरेका थिए। २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका पोखरेल निर्वाचित भएका थिए।

बारा २ मा यादवलाई जनमतको चुनौती

मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति भएपछि बारा २ मा उपनिर्वाचन हुन लागेको हो। अघिल्लो निर्वाचनको मत परिणामलाई आधार बनाउने हो भने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनेमा दुविधा छैन। तर पाँच महिनामा बारा २ को अवस्था फेरिएको छ। यादव मंसिरमा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।

अहिले बारा २ मा उम्मेदवार भएका यादवका लागि जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहा चुनौतीका रूपमा देखिएका छन्। राउत पनि बारा २ मै बसेर आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेका छन्। कुशवाहा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा गएका हुन्।

मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव निर्वाचित भएका थिए।

मंसिरमा भएको संसदीय निर्वाचनमा यिनै कुशवाहा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए। त्यसबेला कुशवाहा जसपाका रामसहायप्रसाद यादवसँग पराजित भए। अहिले पनि जसपा अध्यक्ष उपेन्द्र यादव कुशवाहालाई रोकेर प्रतिनिधिसभामा छिर्ने अन्तिम कसरतमा छन्। उनलाई सहयोग गर्न बिहीबार सत्तारुढ दलका शीर्ष नेता बारा भेला हुने भएका छन्।

मंसिरमा भएको निर्वाचनमा सप्तरी २ बाट उम्मेदवार भएका यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तले हारेका थिए। उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार भएका यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतको समर्थन छ। मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ र बारा २ मा एमालेले जसपा उम्मेदवारलाई समर्थन गरेको थियो। उपनिर्वाचनमा एमालेले पार्टीनेता पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।

मंसिरमा भएको निर्वाचनमा सप्तरी २ बाट उम्मेदवार भएका यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तले हारेका थिए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश खरेल चुनावी मैदानमा छन्। गत निर्वाचनमा खरेल काठमाडौं १ मा प्रकाशमान सिंहसँग पराजित भएका थिए। आफैं अध्यक्ष भएको सुशासन पार्टीलाई जीवित राख्दै खरेल उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन्। त्यसैगरी बारा २ मा हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादव, नागरिक उन्मुक्ति पार्टीबाट कमरुल्लाह अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनेलाल यादव तेली उम्मेदवार छन्। त्यहाँ १५ जना स्वतन्त्र उम्मेदवार छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश खरेल चुनावी मैदानमा छन्। गत निर्वाचनमा खरेल काठमाडौं १ मा प्रकाशमान सिंहसँग पराजित भएका थिए।

मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ बाट जसपाका रामसहायप्रसाद यादव १३ हजार ८ सय २२ मतसहित विजयी बनेका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा (हाल जनमत पार्टीका उम्मेदवार) ले १३ हजार ४ सय ६८ मत पाएका थिए।

 त्यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए। अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७ सय ५० मत ल्याएका थिए। त्यसबेला जनमत पार्टीका राजेश साहले २ हजार ७ सय २५ मत पाएका थिए ।

प्रकाशित: ७ वैशाख २०८० ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App