८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बारा–२ उपनिर्वाचन: मनोनयन दर्ता अगाडि नै मत माग्दै उम्मेदवार

मतदातासँग मत माग्दै जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत र स्वतन्त्र उम्मेदवारका अकाँक्षी ज्ञवाली

बैशाख १० गते हुने बारा –२ को उपनिर्वाचनमा भाग लिने उम्मेदवार र पार्टीका नेताहरुले मनोनयन दर्ता अगाडि नै क्षेत्रका मतदाताहरुसँग मत माग्ने कार्य शुरु गरेका छन्।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगले चैत २० गते मनोनयन दर्ताको समय निर्धारण गरेको छ।

उपनिर्वाचनमा विजयी बन्न र आफना उम्मेदवारलाई विजयी बनाउने उदेश्यले उम्मेदवारका अकाँक्षीहरुले नेता, कार्यकर्तालाई लिएर गाउँ गाउँमा पुगेर भोट माग्न शुरु गरेका हुन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा चुनाव लडने जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आईतबार क्षेत्र नम्बर २ को नगरदाहा, बरियारपुर, कवहीगोठ पुगेर मतदाताहरुसँग मत मागेका छन्।

नकरदाहामा अध्यक्ष यादवले महायज्ञको समेत उदघाटन गरेको बताइएको छ। जसपाका मधेश प्रदेश प्रमुख रामबाबु यादवले अध्यक्ष ज्यूले निर्वाचनमा भारी मतले बिजयी बन्नको लागि आईतबारबाट नै चुनावी अभियान शुरु गरेको बताएका छन्।

सत्ता गठबन्धनको ठूलो दल नेपाली काँग्रेसले समर्थन जनाउने निर्णय गरे लगतै बारा आएका जसपा अध्यक्ष यादवले क्षेत्रका बरियारपुर, कवाहीगोठ, गन्जभवानीपुरमा जसपाका नेता कार्यकर्ताको साथ साथै गठबन्धनका नेता कार्यकर्तालाई भेटेर निर्वाचनमा बिजयी गराउन सहयोग मागेका छन्।

त्यसै गरि स्वतन्त्र उम्मेदवारी दिने चर्चा रहेको अधिवक्ता अरुणकुमार ज्ञवालीले पनि मतदाता गाउँ गाउँमा पुगेर मतदातासँग मत माग्ने कार्यमा खटेका छन्।

गत मंसिर ४ गते भएको प्रतिनिधी सभा निर्वाचनमा  रामसहाय प्रसाद यादव संगै स्वतन्त्र रुपले चुनाव लडेका अधिवक्ता अरुण ज्ञवालीले सात हजार ६ सय जति मत ल्याएका थिए।

बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवारी घोषणा गरेका शिवचन्द्र कुशवाहलाई बिजयी बनाउनको लागि पार्टीका अध्यक्ष सिके राउतले घरदैलो अभियान थालेका छन्। शनिबार मात्रै जनमत पार्टीले बरियारपुरमा चुनावी लक्षित क्षेत्रीय सभा आयोजना गरेको थियो।

आइतबार कुशवाहासँगै खेत खेतमा काम गरि रहेका मतदाता माझ पुगेर सिके राउतले मत माँगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रमेश खरेलको चुनावी अभियान आईतबारसम्म देखिएको छैन्।

त्यसै गरि बारा –२ बाट उपेन्द्र यादवलाई पराजित गर्नको लागि सोही क्षेत्रबाट साझा उम्मेदवार लडाउनको लागि आम जनता पार्टीका अध्यक्ष शनिबार देखि नै क्षेत्र नम्बर २ को विभिन्न स्थानहरुमा कार्यक्रम गर्दै आएका छन्।

मनोनयपत्र दर्ता कलैया खोलिएको मूख्य निर्वाचनको कार्यालयमा हुने आउँदो वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी दर्ता सदरमुकाम कलैयामा रहेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।

जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मूख्य निर्वाचनको कार्यालयमा नै उम्मेदवारको मनोनय पत्र गर्दा गरिने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचनका लागि यही २० गते सोमबार मनोनयन दर्ताको मिति तोकिएको छ। बारा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ को कलैयामा शनिबार स्थापना गरिएको छ।

कम खर्चलाई ख्याल गर्दै निर्वाचन हुने क्षेत्रबाहिर कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए। उनका अनुसार अन्य जिल्लामा समेत उपनिर्वाचनको कार्यालय सदरमुकाममै स्थापना गरिएकोले यहाँ पनि सोहीअनुसार कार्यालय स्थापना गरिएको हो।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार उपनिर्वाचन हुने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५ हजार मतदातामा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन्। मतदानस्थल ८२ र कतदान केन्द्र १ सय ३६ छन्। यस क्षेत्रमा करैयामाई, सुर्वण , देवताल गरेर तीन गाउँपालिकाहरु छन भने  पचारौता र महागढीमाई गरी २ नगरपालिका छन् ।

प्रकाशित: १९ चैत्र २०७९ ११:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App