६ चैत्र २०८० मंगलबार
राजनीति

युद्धको नाममा जघन्य अपराध गर्नेले छुट पाउँदैन: महामन्त्री थापा

काँग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापा। तस्बिर: नागरिक

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले युद्धको नाममा जघन्य अपराध गर्नेले कुनै पनि नाममा छुट नपाउने बताएका छन्।

१४ औं महाधिवेशनपछि नेपाली काँग्रेस बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा भएपनि नेपाली काँग्रेसले आफ्नो आधारभूत कुरा नबिर्सने ठोकुवा गरे।

‘यो विषयको सन्दर्भमा सरकारले एउटा विधेयक दर्ता गरेको छ, नेपाली काँग्रेस यो विषयमा एकदम प्रष्ट छ, शान्ति प्रक्रिया नेपाली काँग्रेसको नेतृत्वमा सुरु भयो र यो प्रक्रियालाई टुंग्याउनुपर्नेमा एकदम प्रष्ट छ। अब धेरै अलमल गर्नु हुँदैन भन्ने कुरामा प्रष्ट छ,’ उनले भने ‘तर यो भन्दै गर्दा हिजो त्यसलाई युद्ध भन्नुस्, हिंसाको समय भन्नुस्। युद्ध हिंसाको समयमा जसले स्वइच्छाचारी ढंगबाट हत्या गरेको छ, जघन्य अपराध गरेको छ। निर्मम यातना दिएको छ, त्यसले कुनै पनि नाममा छुट पाउँदैन, पाउनु हुँदैन, हामी अहिले सरकारमा छौं। तर, नेपाली काँग्रेसले आफ्नो आधारभूत कुरा बिर्सँदैन।’

संसद्मा रहेको उक्त विधेयकको संशोधनकर्ता आफू पनि रहेको भन्दै महामन्त्री थापाले भने, ‘हत्या गरिएको कतिपय विषयलाई पनि क्षमादान गर्न सकिन्छ भनेर ल्याएको विधेयकमा नेपाली काँग्रेस लगायत थुप्रै सांसदहरुले संशोधन राखेका छौं, त्यो संशोधन नभईकन कि जसले जघन्य अपराध गरेको छ, जसले स्वइच्छाचारी हत्या गरेको छ, त्यो हत्या गर्ने अपराध गर्नेले दण्डबाट मुक्ति पाउने कानुन नेपालको संसद्ले बनाउन पाउँदैन भन्ने कुरा हामी काँग्रेसको तर्फबाट प्रष्ट राखेका छौं।’ 

अर्को प्रसङ्गमा महामन्त्री थापाले मुलुकको आर्थिक अवस्थाप्रति अहिले धेरैले चिन्ता व्यक्त गरिरहेको बताए। ‘अर्थतन्त्रको अवस्था देखेर आम मानिसहरु नराम्रोसँग आत्तिएको अवस्था छ, हाम्रो अवस्था २०७० सालको जस्तो छैन, २०७४ सालको जस्तो पनि छैन, परिस्थिति धेरै फरक भइसकेको छ,’ उनले भने।

नागरिकहरु आत्तिएको बेलामा नयाँ बनेको सरकारले परिणाम दिन सक्नुपर्ने सुझाव दिए। ‘म सँग पाँच वर्ष छ, मसँग बहुमत छ भनेर बस्ने न उसँग समयको सुविधा छ, न नागरिकसँग त्यो धैर्यता छ,’ महामन्त्री थापाले भने ‘दिनरात काम गरेर परिणाम दिन सकेनौँ भने धैर्यताको बाँध टुट्छ।’ उनले अबको पाँच महिनाभित्र केही न केही राम्रो भएको महसुस गराउन सक्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले आगामी २०८४ सालको चुनावमा नेपाली काँग्रेस एक्लै लड्ने जिकिर गरे। ‘निर्वाचन पछाडि सरकार बनाउने वा गठबन्धन बनाउने कुरा स्वाभाविक हो, तर निर्वाचन अगाडी नै जब तालमेल गर्न थाल्छौ, त्यसले प्रजातन्त्रलाई यति विकृत बनाउँछ, त्यसले नागरिकको छनोटलाई सीमित बनाउँछ,’ उनले थपे।

चुनावमा गठबन्धन गर्दा काँग्रेसले ५/६ लाख मत गुमाउनु परेको महामन्त्री थापाले बताए। काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनको उद्घाटन शत्रलाई काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पुर्वमन्त्री गजेन्द्र हमाल लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: १८ चैत्र २०७९ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App