१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । 

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् । 

‘एक बजेसम्म यहाँबाट फर्केर जाने र आज नै मन्त्रिमण्डल विस्तार गर्ने र शपथ ग्रहण गराउने मेरो लक्ष्य छ,’उनले भने ‘आज भएन भने भोलि बिहान होला काम त सकिएको छ ।’ 

एक दुई वटा मन्त्रालय थोरै मिलाउन बाँकी रहेको उनले स्पष्ट पारे । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अझै पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । 

अहिले नेपाल सरकारका पाँच जना मात्र मन्त्री रहेका छन् । अरू मन्त्रालय प्रचण्ड आफै समालेका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको शिलान्यासको उद्घाटन र चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रचण्ड चितवन आएका हुन् ।

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डले राजनीति स्थायित्व र विकासलाई नयाँ गति दिने सङ्कल्पका साथ यस पटक आफू प्रधानमन्त्री भएको उल्लेख गरे । । ‘राजनीति स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ,’ उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै हो । मेरो तर्फबाट सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रको समृद्धिको दिशातिर लैजान पुरै तागतको साथ लैजान मैले सङ्कल्प गरेको छु ।’ 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले केही समयमा भैरहवा र पोखरा विमानस्थल नियमित रूपमा अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गर्ने बताएका छन् । ‘भैरहवा र पोखरा विमानस्थलमा हामीले उद्घाटन गरिसकेका छौँ । त्यहाँ केही समस्याहरू छन् अझै पनि । सायद अब छिट्टै छिमेकीहरूको भ्रमणमा जाने क्रममा नेपालको एयर सम्बन्धी विषय र लुम्बिनीमा सहज हवाई सेवा सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठाउने तयारी गरी नै सकेको छु,’ उनले भने, ‘उत्तरी छिमेकी देशसँग पनि नयाँ बनेका विमानस्थललाई सञ्चालनमा ल्याउने र हवाई सेवालाई विस्तार र गुणस्तर बनाउने विषयमा कुरा गर्ने तयारी गरेको छु ।’ 

भरतपुर विमान स्थल विस्तार गर्ने विषयमा नेपाली सेनासँग सहमति भएको दाबी गरेका छन् । भरतपुरको नेपाली सेनाका कालीबहादुर गणलाई दियालो बङ्गला र घोडा प्रजनन केन्द्रलाई गणेश मन्दिर अगाडि सार्ने सहमति भएको उनले बताए । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जमिन दिएन भने पुग्दैन । त्यसका लागि १९ बिघा जग्गा आवश्यक पर्ने बताइएको छ । पर्यटन मन्त्री सुदन किराँतीले नेपालको वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय रूपमा प्रश्न नउठ्ने गरी सेवा गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै उनले वायुसेवा निगमलाई संसारमा उत्कृष्ट बनाउने लक्ष्य रहेको सुनाए ।

प्रकाशित: १६ चैत्र २०७९ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App