२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान प्रवेश परीक्षा ‘नतिजामा धाँधली’

काठमाडौं– पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनअन्तर्गत चिकित्साशास्त्र स्नातक (एमबीबीएस) तहमा भर्नाका लागि विद्यार्थी छनोट प्रक्रियामा धाँधली भएको रहस्य खुलेको छ ।

शैक्षिक सत्र २०७३÷७४ का लागि सातौं समूहको विद्यार्थी भर्ना छनोट नतिजामा ‘चलखेल’ भएको छानबिन समितिले ठहर गरेको हो । विद्यार्थी  छनोट प्रक्रियामा धाँधली भएको आशंकापछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सचिव डा. भोला श्रेष्ठको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो ।

विद्यार्थीको उत्तरपुस्तिकामा कोडिङ गर्दा प्रतिष्ठानका पदाधिकारीबाट लापरबाही भएको र सोही कारण नतिजा प्रकाशनमा गडबडी भएको पाइएको संयोजक डा. श्रेष्ठले बताए । ‘हामीले एक साता लगाएर घटनाबारे छानबिन ग¥यौं,’ उनले नागरिकसँग भने, ‘प्रतिष्ठानले विद्यार्थीको उत्तरपुस्तिकाको कोड र आइडेन्टिफिकेसन (परिचय) नम्बर एउटै रेन्जमा राखेर नतिजा प्रकाशन गरेको पाइएको छ ।’

विद्यार्थीको उत्तरपुस्तिकामा कोड गर्ने व्यक्तिको चरम लापरबाहीका कारण दुई सय ८७ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको उनले बताए । श्रेष्ठले भने, ‘प्रतिवेदनमा दोष्ीालाई कडा कारबाहीको समेत सिफारिस गरेका छौं ।’ छानबिन समितिले आफ्नो प्रतिवेदन स्वास्थ्यमन्त्री गगन थापालाई सोमबार बुझाउने तयारी गरेको छ ।

प्रतिष्ठानले लापरबाही गरेकै हो, विद्यार्थीको भविष्यमाथि खेलबाड भएकै होः  डा. भोला श्रेष्ठ, संयोजक, छानबिन समिति

प्रतिष्ठानअन्तर्गत यो सातौं समूहको भर्ना परिक्षा हो । यसघिका पाँचवटा भर्ना परीक्षामा कोड नराखी विद्यार्थीको परिचय नम्बर नै राखेर पठाउने गरेको र नतिजा पनि त्यसकै आधारमा निकाल्ने गरेको पाइएको श्रेष्ठले बताए । यसले परीक्षाको नतिजामा पनि चलखेल भएको पुष्टि भएको समितिको निष्कर्ष छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन र निर्देशनपछि मात्र प्रतिष्ठानले गत वर्षदेखि विद्यार्थीको प्रवेश परीक्षाको उत्तरपुस्तिकामा कोडिङ गरी अस्ट्रेलियाको क्युन्सल्यान्ड विश्वविद्यालयमा परीक्षणका लागि पठाउने गरेको रहेछ’, श्रेष्ठले भने । ‘छानबिनमा प्रतिष्ठानले विद्यार्थीको उत्तरपुस्तिकालाई कोडिङ र स्क्यानिङ गरी परीक्षणका लागि अस्ट्रेलिया पठाएको पाइयो ।  तर कोडिङ र आइडेन्टिफिकेसनको रेन्ज भने उही राख्यो,’ उनले औंल्याए, ‘अस्ट्रेलियाबाट परीक्षण भएर आएको एउटै नतिजा दुईवटा कसरी भयो ? पहिलो नतिजा कुन नियतले प्रकाशित गरियो ? दोस्रो नतिजा प्रकाशित गर्दा पहिलो लिस्टमा  पास भएको विद्यार्थी किन फालिए र नयाँ कसरी आयो ? यस बीचमा चलखेल भएको देखिन्छ । छुट्टै समिति बनाएर छानबिन गर्नु आवश्यक छ ।’

प्रतिष्ठानले विद्यार्थी छनोट परीक्षाको नतिजा दुईपटक प्रकाशित गरेको थियो । पहिलो पटक उत्तीर्ण भएका विद्यार्थी दोस्रो पटकको नतिजामा अनुत्तीर्ण भएका थिए । श्रेष्ठका अनुसार कोडिङ र डिकोडिङमा त्रुटि भएको हो भने पहिलो लिस्टमा पास भएको विद्यार्थीको नाममात्र तलमाथि हुने हो, नयाँ आउने होइन ।

प्रतिष्ठानले कात्तिक २७ गते प्रवेश परीक्षा सञ्चालन गरेको थियो । मंसिर १४ मा प्रकाशित लिखित परीक्षाको नतिजामा ३ सय ७७ विद्यार्थी सफल भए । उनीहरूका लागि मंसिर १९, २० र २१ गते अन्तर्वार्ताको मिति तोकियो । तर फेरि प्रतिष्ठानले कोडिङ डिकोडिङमा त्रुटि भएको भन्दै १७ गते आफ्नो वेबसाइटमा अर्को नतिजा प्रकाशित ग¥यो । नयाँ नतिजामा उत्तीर्ण संख्या ३ सय ८० पु¥याइयो, जसमा पहिलो लिस्टका २ सय ८७ जनाको नम्बर थिएन । यी विद्यार्थी आन्दोलनमा उत्रेपछि स्वास्थ्यमन्त्री थापाले श्रेष्ठको संयोजकत्वमा छानबिन समीति गठन गरेका थिए । पीडित विद्यार्थी पाटन एमबीबीएस संघर्ष समिति बनाएर १० दिनदेखि प्रतिष्ठानको प्रांगणमा धर्नामा छन् ।

‘हामी रातदिन मेहनत गरी एमबीबीएमा नाम निकाल्न सफल भएका हौं,’ रौतहटका राहुलकुमार रजकले नागरिकसँग भने, ‘गाउँमा परिवारले खुसियाली बाँडेर हल्लाखल्ला नै मचियो तर तीन दिनपछि नै प्रतिष्ठानले कोडिङ र डिकोडिङमा त्रुटि भएको भन्दै अर्को नतिजा प्रकाबन गर्दा मेरो नाम हटाइयो । अहिले गाउँमा म पो झूटो भएँ । हाल म र मेरो परिवार सामाजिक र मानसिक तनावमा छौं ।’

आफूहरू प्रतिष्ठानको लापरबाहीविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको संघर्ष समितिका संयोजक विपीन मेहेताले जनाए । अधिवक्ता शंकरदत्त बडूले प्रष्ठिानको ऐनमा एकपटक नतिजा प्रकाशित भएपछि सच्याएर दोस्रो पटक निकाल्ने व्यवस्था नभएको बताए ।

प्रकाशित: २७ मंसिर २०७३ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App