७ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बानियाँविरुद्ध करिब १ करोड रूपैयाँ बिगो कायम गर्दै बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। २०७४ साल वैशाख १४ को स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको अध्यक्ष पदमा काम गरेका बानियाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा दर्ता गरेको हो।  

पूर्वअध्यक्ष बानियाँलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(१) बमोजिम कसुर गरेको भन्दै ९१ लाख ८६ हजार ५४३ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता भएको छ। साथै उनको परिवारको नाममा हाल कायम रहेको सम्पत्तिसमेत भ्रष्टाचार गरेको भन्दै जफत, असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ। साथै बानियाँले सार्वजनिक पदको दुरूपयोग गरेको, गैरकानुनी आर्जन गरी स्रोत नखुल्ने सम्पत्ति उनका छोरा पंकज कान्दुको नाममा जग्गाहरू खरिद, घर निर्माण, सवारी खरिद, बैंक खातामा रहेको रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये पुष्टि हुन नसकेको, लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफलत गर्न माग गरिएको छ। उनका छोरा पंकज कान्दुसमेतलाई प्रतिवादी कायम गरी हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत, जरिबाना असुल गर्न मागदाबी लिई आरोपपत्र दर्ता गरिएको अख्तियारले जनाएको छ।  

गाउँपालिकाको अध्यक्ष भएदेखि पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर, हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, आफ्नो छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बिमाबापत आएको रकम, शाखाहित बैंक सञ्चालनलगायतका उनको आम्दानीमाथि अख्तियारले अनुसन्धान गरेको थियो।

प्रकाशित: १० चैत्र २०७९ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App