coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाका कामलाई छिटो टुङ्ग्याउनु पर्छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए।

महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे।

शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उनको भनाई थियो।

महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटक पटक दोहोर्‍याए।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि उनले बताए।

महामन्त्री थापाले भने, ‘शान्ति प्रक्रियाको खासगरी संक्रमणकालीन न्यायसँग जोडिएको केही विषयहरू छन्। जुन विषयहरुको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ। पहिलो कुरा, हामी सुविचारित ढंगबाट सचेततापूर्वक जसले शान्ति प्रक्रिया प्रारम्भ गर्‍यौँ। यो विषय हामी सबैको विषय हो। खासगरी नेपाली काँग्रेसका लागि त हामी सुरुवात आफैले गरेको हो भन्छौँ। हो पनि। त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारी पनि हाम्रो हो। र, शान्ति प्रक्रियामा सहभागी भएको नेपालको अन्य राजनीतिक दलहरु, चाहे हिँजे हामीसँगै रहेको नेकपा एमाले दल वा अर्को पक्ष भएको माओवादी हामी सबैको सामूहिक जिम्मेवारी हो। हामी सबैले दलीय संर्कीणता वा तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नु पर्दछ। हामीसँग अव समयको सुविधा छैन। हामीले यसलाई यो वो त्यो बहानामा लम्ब्यायौ भने अझ यो जटिल बन्दै जान्छ। र, अझै हाम्रा निम्ति भविष्यमा अप्ठ्यारो पनि सृजना हुन्छ। र, यो अन्यायपूर्ण पनि हुन्छ। त्यसैले यसलाई हामीले अहिले टुंग्याउनुपर्ने हुन्छ। हामीले समयको महत्त्वलाई पनि बुझ्नुपर्नें छ। संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउँदै गर्दाखेरी यदि हामीले द्वन्द्वबाट पीडित भएकाहरुको भावनालाई सम्मान गर्न सकेनौ सम्बोधन गर्न सकेनौँ। टुंग्याउनुपर्छ भन्ने नाममा जब्बरजस्ती उनीहरुले भारी बोक्नै पर्छ भन्नेतिर लाग्यौं। उसले त्यो कुरालाई मानेनन् स्वीकार गरेनन् भने पनि हामी अप्ठयारोमै पर्छौँ। हामीले यसमा पनि ध्यान दिनुपर्नेछ। र, यो विषय शान्ति प्रक्रियाको विषयचाँही हाम्रो विषय हो। सार्वभौम नेपालको हाम्रो सीमा भित्रको विषय हो। हामीले चाहे पनि नचाहे पनि यो विषय केवल हाम्रा विषयहरू मात्रै होइनन्। यो कतिपय अन्तर्राष्ट्रिय कानुनसँग जोडिएका विषयहरू छन्। त्यस कारण हामीले टुंग्याउँदै गर्दाखेरी हामीलाई ठिक लागेर मात्रै हुँदैनन्। संसारमा हामी जुन मान्यताहरुमाथि विश्वास गछौं, त्यसको कसीमा यो ठिक देखिन्छ कि देखिँदैन भन्ने कुरा तर्फ पनि हामीले ध्यान दिनुपर्नेछ। हामीले मिलेर एक ठाउँमा काम गर्नुपर्नेछ। यो पक्ष, त्यो पक्ष नभनीकन काम गर्नु पर्नेछ। म नेकपा एमालेलाई पनि आग्रह गर्छु–यो बेलामा हामी यो, त्यो नभनीकन काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर यो विषयलाई हामीले टुंग्याउनु पर्नेछ। र, हामीले केन्द्रमा चाहिँ द्वन्द्वबाट पीडित भएकाहरु, जसले आफ्नो परिवारजन गुमाएका छन्। उनीहरुको भावनालाई सम्मान गर्ने गरिकन सम्बोधन गर्ने गरीकन उनीहरुले पनि यसलाई मान्ने गरिकन यसलाई टुंगाउनु पर्नेछ। र, हामीले टुंग्याएको कुरा अन्तर्राष्ट्रिय समुदायको अगाडि हामी सबैले यो यो मान्यताको आधारमा टुंग्याएका छौँ भनेर भन्नु पर्छ । संक्रमणकालीन न्यायको विषय टुंग्याउँदै गर्दाखेरी मात्रै हामीले गिरिजाप्रसाद कोइरालाई गिरिजाप्रसाद कोइरालालाई सम्मान गरेको हुन्छौं।’

महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दावी समेत गरे। उनले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उनीमाथि त्यसको जस नदिएर अन्याय गरेको उनको बुझाई थियो। महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराए।

महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरूकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको उल्लेख गरे।

प्रकाशित: ७ चैत्र २०७९ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App