७ वैशाख २०८१ शुक्रबार
राजनीति

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको टिप्पणी

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन्।

शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन्।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे। मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाई छ। उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकीर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।

घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।

उनले भने, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ। जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन पत्रकारहरु। अब पत्रकारहरु विक्रीमा छन। संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन। र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले। किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि। त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ। विग हाउसहरुले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ। अनेक ढंगबाट गरेको छ। त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ। यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला।’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए।

उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताए। 

प्रकाशित: ३ चैत्र २०७९ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App