coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एआइजीमा बढुवा सिफारिस

बढुवामा सिफारिस डिआईजीहरु क्रमशः बायाँबाट- वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य

महिनौंसम्म रिक्त रहेका नेपाल प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दीमा पाँच जना नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ अनुसार एआइजीको बढुवा सिफारिस समितिमा गृह सचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक (आइजिपी) सदस्य रहेको तीन सदस्यीय समिति हुन्छ। बढुवा समितिको सिफारिसमा बहालवाला आइजिपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा प्रहरी सेवामा प्रवेश भएका बहालवाला तीन जना डिआइजीहरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहनकुमार आचार्य भने बढुवा सिफारिसमा अटाएनन्। अहिले बढुवा सिफारिस भएका डिआइजीहरू कुँवर, राई, ज्ञवाली र बज्राचार्य २०५१ चैत ५ मा सेवा प्रवेश गरेका हुन् भने थापा २०५२ भदौ १९ मा सेवा प्रवेश गरेका अधिकृत हुन्।

बढुवा सिफारिस भएसँगै पाँचै जना डिआइजीलाई प्रहरी नियमावलीअनुसार कम्तीमा एक सातापछि सरकारले एआइजीमा बढुवा गर्न सक्ने व्यवस्था छ। नियमावलीमा बढुवा समितिले सिफारिस गरेको एक सातासम्म बढुवा सिफारिसबारे चित्त नबुझे उजुरी दिन सक्ने व्यवस्था छ।

अहिले पदपूर्ति गर्न बढुवा सिफारिस गरिएका एआइजी दरबन्दीहरू सात महिनादेखि रिक्त हुँदै आएका थिए। साउन २० गते एआइजी विश्वराज पोखरेल उमेर हदका कारण अवकाशमा जाँदा एउटा दरबन्दी रिक्त भएको थियो। त्यसपछि भदौ ३२ गते मुकुन्दराज आचार्य, कात्तिक १५ गते अरूणकुमार बिसी र कात्तिक २५ गते रवीन्द्रबहादुर धानुकले पनि उमेर हदकै कारण अवकाश पाएका थिए। यसरी चार एआइजी दरबन्दी रिक्त रहेकामा यसै फागुन ५ गते पूजा सिंह पनि अवकाश गएपछि पाँच दरबन्दी रिक्त हुन पुगेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७९ २३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App