९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य नहुने ओलीको चेतावनी

नेकपा (एमाले) एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हित विपरित चल्न खोजे सैह्य नहुने चेतावनी दिएका छन्।

अध्यक्ष ओलीले राष्ट्र र जनताको हित विपरित चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरुले सफल हुन नदिने बताए। सुखानीका सहीदहरुको स्मृतिमा आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत बताए।

राष्ट्रको स्वाधिनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्विकार्य नहुने उनको भनाइ थियो। सत्ता समर्थक दलहरुले सत्ता स्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताए। उनले सत्ता स्वार्थको राजनीति गर्दा देश डुब्छ भने, यहाँको भूगोलमाथि अतिक्रमण हुन्छ भने त्यसमा टुलुटुलु हेरेर बस्ने नसकिने बताए।

हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल, स्वाभिमान बहुतै महंगो मूल्यमा हामीले प्राप्त गरेको उल्लेख गर्दै ओलीले त्यसलाई दायाँबायाँ हुन दिन नसकिने बताए। उनले न्याय र समानताको आधारमा सबै राष्ट्रहरुसँग बराबरीको सम्बन्ध आफूहरुले राख्न चाहेको पनि पटकपटक दोहोर्‍याए।  

उनले भने, ‘हामी हाम्रो राष्ट्रियतालाई प्यारो गर्दछौं। हाम्रो राष्ट्रको सार्वभौमसत्तालाई प्यारो गर्दछौं। स्वाधिनता, स्वातन्त्रतालाई प्यारो गर्दछौं। हाम्रो भौगोलिक अखण्डतालाई, हाम्रो भूमिलाई हामी प्यारो गर्छौं। माया गर्छौं। हामी हाम्रो राष्ट्रको स्वाधिनता र स्वाभिमानलाई अत्यन्तै माया गर्छांै। यसमा कसैले पनि अतिक्रमण गर्नु या यसलाईं होच्याउनु उचित हुँदैन। हामी त्यस्तो भयो भने सहदैनौं। स्विकारदैनौं। फेरी म दोहोर्‍याउनु चाहन्छु–नेपाल राष्ट्रको हित, नेपाली जनताको हितभन्दा विपरित सरकार कुनै पनि कारणले, कुनै पनि हिसावले चल्न चाहन्छ, खोज्छ भने त्यसको हामी विरोध गर्छौंं। र, त्यस्ता कुराहरुलाई सफल हुन दिँदैनौं। यहाँ नेकपा एमाले भन्ने पार्टी छ। यसले राष्ट्रहित विरुद्धका कदमहरुलाई सफल हुन दिँदैन। यसो भन्दा कसैलाई चित्त दुख्छ भने दुखोस्। हामी कसैको चित्त होइन् राष्ट्रिय हितको रक्षा गर्छौं। हाम्रो राष्ट्रिय हितसँग अरुको अहित जोडिएको छैन। अरुको अहितसँग हामी आफ्नो राष्ट्रिय हित खोजिरहेका छैनौं। अरुको अहितबाट हामी राष्ट्रिय हित खोजिरहेका छैनौं। सबैले राष्ट्रिय हितको कुरा गर्दा, चर्चा गर्दा राष्ट्रिय हितसम्बन्धि दृष्टिकोण प्रस्तुत गर्दा जोसुकैले पनि न्याय हेर्नु पर्दछ। कसैले मलाई नराम्रो भन्दा बिझाउँछ भने अरुलाई पनि बिझाउँछ भन्ने ठान्नु पर्दछ। मेरो खेत अर्काले मिच्दा मलाई पीर पर्छ भने मैले अर्काको खेत मिच्दाखेरी पनि पीर पर्छ भन्ने कुरा बुझ्नु पर्छ। यसो भन्नु पनि अन्याय हुन्छ र? त्यसकारण हामी न्यायको पक्षमा बोलिरहेका छौं। फेरी म दोहोर्‍याउन चाहन्छु–अहिलेको राजनीति नेकपा (एमाले) बाहेकको राजनीति लगभग, त्यसमा पनि आफूलाई अलि ठूलो भन्ने अहिले सरकारमा हुने पार्टीहरु या सत्ता समर्थक पार्टीहरु तिनीहरु जम्माजम्मी सत्ताको राजनीति गरिरहेका छन। स्वार्थको राजनीति गरिरहेका छन।’

प्रकाशित: २१ फाल्गुन २०७९ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App