coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘आठ दलीय सहमति धमिल्याउन खोज्दै एमाले’

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई ‘ढोक्सा थापेको’ भन्ने टिप्पणी गरेका थिए। ओलीकै रणनीतिमा पुस १० गतेको सातदलीय सहमतिमा दाहाल प्रधानमन्त्री बनेका थिए। कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गर्न पुगेका थिए।  

त्यसको १६ दिन नबित्दै प्रतिपक्षमा पुगेको कांग्रेसले नाटकीय रूपमा दाहाललाई विश्वासको मत दिएपछि ओली सशंकित बनेका थिए। त्यही शंका रोस्टममा उभिएर पोख्दैगर्दा उनले ‘कांग्रेसले ढोक्सा थापेको हो भने, त्यसमा केही नपर्ने’ बताएका थिए।  

ओलीको त्यो शंका राष्ट्रपति निर्वाचनसँग केन्द्रित थियो। जुन त्यहीँदिनदेखि नै थप मजबुत हुँदै गयो। पुस १० मा एमालेलाई राष्ट्रपति दिन तयार भएका प्रधानमन्त्री दाहाल र उनको पार्टी नेकपा माओवादी केन्द्र राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’को रटान गर्न थाल्यो। त्यसपछि प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य नेताहरूसँग छलफल बाक्लिदै गएको थियो।  

यहीक्रममा शुक्रबार साँझ प्रधानमन्त्री दाहालकै सक्रियतामा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने आठ दलीय निर्णय भएको छ। त्यसपछि शनिबार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सोही सहमतिका आधारमा उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री दाहाल स्वयंले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउन एमाले अध्यक्ष ओलीलाई प्रस्ताव गरेको शनिबार सार्वजनिक कार्यक्रममै बताएका छन्। तर, उक्त प्रस्ताव ओली सहमत भएनन्। एमालेले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङलाई उम्मेदवार खडा गरेको छ।  

यसरी दुई महिनामै राजनीतिक सहमतिको कोर्ष परिवर्तन भएसँगै एमाले कर्नरमा पुगेको छ। कर्नरमा पुगे पनि उसले ‘रणनीतिक हार’ भने स्वीकारेको छैन। उल्टै कांग्रेसले पुस २६ मा एमाले–माओवादी केन्द्रबीचको सहमति धमिल्याएजस्तै अहिले आठदलको सहमति धमिल्याउने रणनीति अख्तियार गरेको छ।  

यसैको सुरूवात स्वरूप राष्ट्रपतिको निर्वाचनअघि सरकार नछाड्ने निर्णय लिएको एक पदाधिकारीले दाबी गरे। बनेको आठदलीय गठबन्धनको धरातल पनि प्रष्ट नभइसकेको र सबैका स्वार्थ सम्बोधन हुनेगरी सहमति नभइसकेकाले तत्काल एमालेले मार्गप्रशस्त नगरेको ती नेताले बताए।  

‘अहिले राष्ट्रपतिका लागि मात्र सहमति भएको देखिन्छ। त्यहाँ अनेक अवसरवाद र स्वार्थकेन्द्रीत दलहरूको जमात छ। सबैको मागबारे अझै सम्बोधन हुनेगरी सहमति बाहिर आएको छैन,’ ती पदाधिकारीले भने, ‘यस्तो परिस्थितिमा हामीले अहिल्यै सरकार छाड्दा उहाँहरूको गठबन्धनलाई मार्ग प्रशस्त गरेजस्तो हुन्छ। त्यो कच्चा खेल एमालेले खेल्दैन।’ राजनीतिमा अन्तिम घडीसम्म पनि सम्भावना हुने भएकाले राष्ट्रपतिको निर्वाचनसम्म पर्खिने रणनीति लिइएको उनले बताए।  

यसबीचमा एमालेले कांग्रेसले पुस २६ गते विश्वासको मत दिएर अविश्वास पैदा गरेजस्तै आठ दलभित्र अविश्वास पैदा गर्ने रणनीति लिएको छ। सोही अवस्था सिर्जना गर्न राष्ट्रपतिमा उम्मेदवार दिएसँगै एमालेले अभ्यासको थालनी गरेको छ।  

जसको पहिलो रणनीति एमाले अध्यक्ष ओलीले आफ्नो बाचाल स्वाभावबाटै सु्रू गरेका छन्। राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग बोल्दै ओलीले आठदलीय गठबन्धन नबनेको र एमाले सबैको सम्पर्कमै रहेको भनेर अभिव्यक्ति दिए।  

‘आठ दलीय गठबन्धन पनि छैन, गठबन्धनको निर्णय पनि छैन,’ उनले भने, ‘हिजो बेलुका(शुक्रबार) प्रधानमन्त्री कार्यालयमा केही दलका साथिहरूलाई बोलाइएको थियो, हामी पनि गएका हौं। हामी सबै सम्पर्कमै छौं।’ कांग्रेसलाई समर्थन गर्ने कुरा दाहालले कसरी भने त्यो भने उनैलाई थाहा भएको बताउँदै अवस्था कहीँ पनि नबिग्रिएको दाबी गरे। ‘कहीँपनि बिग्रेको छैन। २५ गत उहाँ (माओवादी केन्द्र)ले सम्झौता(पुस १० को) अनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई यकिन नै छ,’ उनले थपे।  

यसैबीच एमालेले राष्ट्रपतिमा नेम्वाङलाई मतदान गर्न कांग्रेसबाहेकका दललाई लिखित रूपमै पत्राचार गरेको छ। एमालेबाट विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीलाई समेत एमालेले पत्राचार गरेको छ। यसअघिसम्म ओली र एमालेले उसलाई दलसमेत स्वीकार गरिरहेका थिएनन्। एमालेको यो रणनीतिलाई पनि आठ दलीय गठबन्धनभित्रको भ्रम सिर्जना गर्ने रणनीति रहेको देखिन्छ। उता एमाले सचिव योगेश भट्टराईले यो एमालेको चुनावी रणनीतिभन्दा बाहेक केही नभएको बताए। उनले भने, ‘हामीले कसैभित्रको सहमति धमिल्याउनुपर्ने छैन। एमालेले आफ्नो उम्मेदवार उठाएको छ। जिताउन अन्य दलको सहयोग मागेको मात्रै हो।’ कांग्रेसले आफ्नै उम्मेदवार खडा गरेकाले प्रतिस्पर्धी दललाई पत्राचार नगरिएको दाबी गरे।  

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एमालेको प्रयास सफल नहुने दाबी गरे। उनले भने, ‘उहाँ (एमाले)हरूले अझै २५ गतेसम्म पानीलाई धमिलो बनाउन सकिन्छ कि भन्ने आशय होला। तर, त्यो कुनै सम्भावना छैन।’ आठवटै दलले मुलुकको आवश्यकता, स्थायित्व, संविधान र व्यवस्थाको रक्षाका लागि आवश्यक ठानेर यो सहमति गरेको उनले दाबी गरे।  

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले परिवर्तन र राष्ट्रिय मर्यादाको रक्षाका लागि यो सहमति बनेको प्रतिक्रिया दिएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘आठदलको बैठकमा पनि राष्ट्रियतालाई सम्बद्र्धन कसरी गर्ने ? हाम्रो राष्ट्रिय मर्यादाको रक्षा कसरी गर्ने ? राष्ट्रिय स्वाभिमानलाई बचाउने कसरी ? लोकतन्त्रको रक्षा कसरी गर्ने ? गणतन्त्र र संविधानको कसरी रक्षा गर्ने ? भन्ने विषयमा जोड दिएका छौं।’

प्रकाशित: १४ फाल्गुन २०७९ ००:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App