७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनताका सुझाव लिएर पार्टी पुन निर्माण गर्नेछौँ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बिचमा जान निर्देशन दिएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले केन्द्रीय समितिको बैठक अघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे। उनले भने, ‘माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन। हामी आफ्ना आफ्ना कुरा मात्र लिएर आउने भइयो। दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला। जनताका सुझावका आधारमा पार्टी पुनः निर्माण गर्नेछौँ।’

प्रधानमन्त्री दाहालले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने बताए। उनले केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको जानकारी दिए। 

‘पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर वामपन्थी धुव्रिकरणको बाटो अवलम्बन गर्नुपर्ने हुन्छ।’ प्रधानमन्त्रीले भने’, केही समूहसँग तत्काल पार्टी एकतासमेतको सम्भावना देखिएको छ। यसरी पार्टीलाई पुनःगठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ।’

जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरेकाले जनतालाई सरकारका काम बुझाउन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारीका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताए।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा भइसकेकाले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षलाई हेर्दा संविधान, गणतन्त्र र शान्ति सम्झौताका लागि काम गरेका पार्टी एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए।

प्रकाशित: ८ फाल्गुन २०७९ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App