काठमाडौं– आमरण अनशनमा रहेका डा. गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाले डिन नियुक्तीमा चलखेल गरेको बताएका छन्।
चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रीत अनशनको ११ औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा.केसीले अन्तरिम आदेशको अपब्याख्या गरेर खनिया षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा डा.केसीले पटकपटक मास्क लगाउँने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए ।
पछिल्लोपटक गण्डकी मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा ‘अनुचित कार्य’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइओएमा ७ बरिष्ठलाई कारवाहीका लागि त्रिविलाई सिफारिस गरेको थियो । त्रिविले सोही बहानामा डिन बनाउँने प्रक्रिया प्रभावित पार्ने गरी स्पष्टीकरण सोधेपछि चिकित्सकहरु अदालत गएका थिए ।
अदालतले संविधानमै नभएको प्राब्धानअनुसार कारवाही भएमा उनीहरुको वृतिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकूलपतिले त्यसैलाई डिन नियुक्तीमा बरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए । ‘एउटा कारवाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने, अनि नयाँलाई बनाउँन नमिल्ने,’ उनले भने, ‘कारवाही अनुचित भएको भन्दै कार्यन्वयन तत्काल कार्यन्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउँन सरासर गलत हो,’ ।
उनले शुल्क प्रतिवेदन खारेजी, चिकित्सा शिक्षासम्बन्धी ऐन तत्काल पास गर्नुपर्ने, सुशासनलगायतका प्रमुख मागमा बहस नै नगरी डिन नियुक्तीको विषयलाई मात्रै उछालिएको र बरिष्ठलाई रोकेर पार्टी कार्यकर्ता भर्तीमा लागेको समेत आरोप लगाए । ‘आफै पार्टीको झोला बोकेर आएका उपकूलपतिलाई सातौ अनशनअगाडी हतारमा नियुक्ती दिइएको थियो,’ डा.केसीले भने, ‘त्यतिबेलाको मेडिकल माफियाका गुन तिर्न उपकूलपति लागेका छन्,।’
डा.केसीले आफूले यसअघिका थुपै अनशनमा तत्कालिन उपकूलपति हिरावहादुर महर्जनलगायत पदाधिकारीलाई बर्खास्तगीको माग राखेर अनशन बसेको स्मरण गर्दै त्यतिबेला कारवाही गर्न नसक्दा अहिलेकाहरुको पनि मनोवल बढेको बतए । ‘प्राज्ञिक निकायमा बसेर त्यसको मर्यादा जोगाउँन नसक्नेलाई किन हटाउँन नसक्ने?’ उनले भने ।
उनले त्रिविको पछिल्लो कदमलाई सुधारमा लाग्नेहरुलाई सिध्याएर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएममा) नीजि कलेजका संरक्षक हावी गराउँने योजना अनुसार नै भएको समेत बताए । ‘हामीलेलामो समयदेखि कारवाहीको माग गरेकाहरुलाई क्लिन चिट दिने र सुधारका पक्षमा लाग्नेहरुलाई विभिन्न झुटा मुद्दा लगाइएको छ,’ डा.केसीले भने, ‘त्रिवि त्यही वहानामा माफिया प्रतिनिधिलाई डिन बनाउँने खेलमा छ,’ ।
यसअघि प्रत्येक पटक नयाँ डिन बनाउँने समयमा डा.केसीले बरिष्ठताको माग गर्ने र नीजि कलेजका संचालक र प्रमुख दलले आफू अनुकुलका व्यक्ति ल्याउँन खोज्दा पटकपटक आन्दोलन हुने गरेको छ । यसबीचमा कलेजको प्रत्यक्ष स्वार्थमा आएका र बरिष्ठतामा नपरेका दुई डिनले काम गर्न नपाई हट्नुपरेको थियो । डा.केसीले यसपटक पनि बरिष्ठतालाई लत्याएमा आफूले कुनै हालतमा अनशन नछोड्ने बताएका छन् ।
उनले अहिले बरिष्ठता पन्छाएर नीजि कलेजको इशारामा चल्ने व्यक्तिलाई डिन बनाउँन दिएमा अहिलेसम्म भएका सुधार प्रयास ध्वास्त हुने दावी गरे । ‘आइओएका डिनले अहिलेका विकृति रोक्न धेरै प्रभावकारी भूमीका खेल्न सक्छ,’ उनले भने, ‘त्यही भएर माफियाहरु अदालत वा पार्टीको बहानामा बरिष्ठलाई पन्छाउँन लागेका छन्,’ ।
विधेयक पासलगायत चार सूत्रीय माग राखेर अनशन बसेपनि सिंगो उपकूलपति कार्यलयले डिन नियूक्ती पन्छाउँन शक्ति लगाएको छ । उपकूलपति खनियाँले अनशन सुरु भएसँगै महान्यायधिवक्ता कार्यलय र सरकारसँगसमेत राय माग्ने नाममा प्रक्रिया लम्ब्याइरहेका छन् ।
उपकूलपति कार्यलयले डिन नियूक्तीमा आलटालको कारण काग्रेंस र देउवालाई देखाएपछि केही अगुवाहरुले काग्रेंस सभापति शेरवहादुर देउवालाई विहीबार भेटेका थिए । भेटमा देउवाले डिन नियुक्तीमा आफूबाधक नभएको बताएका थिए । त्यसपछि कुराकानीमा खनियाँले विषय बदलेर अख्तियारको दबाब र डरमा डिनमा बरिष्ठताअनुसार गर्न नसकेको जवाफ दिएको शिक्षामन्त्री निकट स्रोतले बतायो ।
उपकूलपति अनशनको केही दिनभित्रै काग्रेंस निटक चिकित्सक डा.करवीरनाथ योगीलाई डिनमा स्वीकार्न डा.केसीलाई प्रस्ताव पठाएका थिए । पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काग्रेंस सभापति शेरवहादुर देउवा, स्वास्थ्यमन्त्री गगन थापालगायतले पटकपटक आग्रह गरेपनि खनियाले विभिन्न बहानामा डिन नियुक्तीलाई लम्ब्याउँदै आएका छन् । पछिल्लोपटक खनियालाई शिक्षामन्त्री डिआर पौडेलले साथ दिइरहेका छन् । स्रोतका अनुसार पौडेलले झापास्थित बिएण्डसी कलेजलाई सम्बन्धन दिलाउँने शर्तमा नीजि कलेजको इशारामा चल्ने डिन ल्याउँन सघाइरहेको शिक्षामन्त्रालय स्रोतको भनाई छ ।
सोही अनुसार तत्काल डिन नियूक्तीको दबाब आएपछि महान्यायाधीवक्ता कार्यलयसँग राय मागिदिन शिक्षामन्त्रालयमा पुगेको त्रिविको अनुरोधपत्रसमेत मन्त्रीले अड्काएर राखिदिएका छन् ।
डा.केसीले आफूले डिन नियुक्तीबाहेकका मागसमेत संवोधन विना अनशन नछोड्ने अडानसमेत दोहो¥याएका छन् । उनले चिकित्सा शिक्षा ऐन, काठमाडौ विश्वविद्यालयबाट भएको सम्बन्धन प्रक्रियाबारे छानविनसमिति बनाउँने, नीजि कलेजका संचालकहरुले बनाएको पछिल्लो शुल्कसम्बन्धी प्रतिवेदन कार्यन्यवयन गर्न नहुने मागसमेत पूरा गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य गम्भीर
एघार दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ । स्वास्थ्य खस्किएर शरिरको संचालन प्रक्रियामै खतराका संकेतहरु बढ्न थालोपछि तत्काल मुटु र फोक्सो बन्द भएमा संचालनका लागि आवश्यक पर्ने मेशिन डिसी सक र क्रितिम श्वासप्रश्वास यन्त्र भेन्टिलेटर अनशन नजिकैको कोठामा लगेर राखिएको छ ।
डा.केसीको उपचारमा २४ घण्टा रेजिडेन्ट चिकित्सक तयार राखिएर तत्काल समस्या देखिएमा आवश्यक पर्ने आकस्मिक औषधिसमेत तयार राखिएको छ । सुगरको मात्रा महत्वपूर्ण अंग संचालका लागि आवश्यक पर्ने भन्दा निकै तल गइसकेको, मुटुको चाल अस्थिर हुनुका साथै श्वासप्रश्वासमासमेत समस्या भएपछि चिकित्सकहरुले जोखिमपूर्ण अवस्था भएको बताएका छन् । उनीहरुले यस्तो अवस्थामा जुनसुकै समयमा मुटु चल्न छोड्ने र त्यस्तो अवस्थामा मतिष्क प्रणालीमासमेत अक्सिजन सप्लाई बन्द भएर जुनसुकै अप्रिया अवस्था आउँन सक्ने चेतावनी दिएका छन् । ‘उहाँलाई कुनै पनि खतरा नआओस् भन्ने अपेक्षा गर्ने हो भने, अब प्रत्येक क्षणको महत्व बुझेर अनशन टुंग्याउँन लाग्नुपर्छ,’ उपचारमा संलग्न डा.दिव्यसिंह शाहले भनिन् ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनिसक्दा पनि सरकार र संसद संवेदशील नभएको भन्दै रेजिडेन्ट चिकित्सकहरुले तीनदिनदेखि आकस्मिकबाहेका सेवा बहिष्कार गर्दै आएका छन् ।
अनशन फिर्ता लिन स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा.केसीका चिकित्सा शिक्षा सुधारसम्बन्धी अधिकांश माग पूरा गर्ने प्रक्रियामा रहेको भन्दै अनशन फिर्ता लिन डा.केसीसँग आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै मन्त्री थापाले डा.केसीले उठाएका सम्पूर्ण माग जायज भएको भन्दै मन्त्रीको रुपमा आफ्नो प्रमुख ध्याय नै माग पूरा गराउँनु भएको बताए । ‘म मन्त्री नहुँदा पनि उहाँको साथमा थिएँ र अहिले पनि छु,’ थापाले भने, ‘अहिले पनि माग पुरा गराउँन लागि परेको छु,’ ।
थापाले मन्त्रीपरिषद्को सदस्यको रुपमा स्वास्थ्यबाहेका मन्त्रालय र प्रधानमन्त्रीसँग समन्वय गरेर माग पूरा गराउँन लागिपर्दै आएका छन् ।
उनले मनमोहन विधयेक फिर्ता लिने निर्णय भइसकेको र चिकित्सा शिक्षा ऐनसमेत संसदमा पेश भएको बताए । ‘म तपाईका माग पूरा गर्छु, अनशन फिर्ता लिनुस्,’ उनले भने ।
उनले चिकित्सा शिक्षासँगै आफूले सिंगो स्वास्थ्य सेवाको सुधारमा लागेको भन्दै नीतिगतदेखि औषधि आपुर्ति, अस्पताल सुधार, मन्त्रालयभित्रैको व्यवस्थापन र संचालनमा रहेका थुपै समस्या समाधानमा लागेको समेत बताए ।
प्रकाशित: २१ आश्विन २०७३ ०१:०१ शुक्रबार