१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रोटोकल मिचेर आइसियुमा स्वास्थ्य राज्यमन्त्री

संघीय संसद् भवन नयाँ बानेश्वरअघि मंगलबार दिउँसो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पतालमा लगियो। अस्पताल लगेलगत्तै बर्न वार्डको आइसियुमा राखेर उनको उपचार थालियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था गम्भीर थियो। आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगिन्। तर उनले बिरामीलाई भेट्दा अस्पतालको प्रोटोकल भने ख्याल गरिनन्।  

दलबलसहित अस्पताल पुगेकी कार्कीले आइसियुमा आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेक्रममा सहयोगीमार्फत भिडियो खिच्नसमेत लगाइन्। त्यो भिडियो यतिबेला भाइरल बनेको छ। भिडियोमा राज्यमन्त्री कार्कीको हातमा पन्जा देखिन्न। यसबाहेक उनीसँगै क्यामेराधारी केही व्यक्ति पनि आइसियुमा प्रवेश गरेको भिडियोमा देखिन्छ। भिडियोमा राज्यमन्त्री कार्कीले आचार्यलाई आफ्नो परिचय दिँदै कुराकानी सुरूवात गरेकी छन्। उनले आचार्यको आत्मलापमा आफ्नो नामसमेत उल्लेख भएको बताइन्। यसैक्रममा उनले भनेकी छन्, ‘किन यस्तो गर्नुभएको ? हामी थियौं नि, राज्य थियो नि। हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन।’  

राज्यमन्त्री कार्कीले यसरी आइसियुमा प्रवेश गरेर उपचारका क्रममा पालना गर्नुपर्ने प्रोटोकलको गम्भीर उल्लंघन गरेको एक प्लास्टिक सर्जनले बताए। ‘यो गम्भीर लापरबाही हो। बर्न वार्ड निकै संवेदनशील मानिन्छ। त्यसमा पनि आइसियु। जलेका बिरामीको उपचार निकै संवेदनशील हुन्छ,’ ती सर्जनले भने, ‘बर्न वार्डलाई हावाबाट हुन सक्ने संक्रमणबाट पनि जोगाएर राख्नुपर्ने हुन्छ। तर त्यहाँ त राज्यमन्त्रीज्यू दलबल लिएर जानुभएछ।’

राज्यमन्त्री कार्की प्रोटोकल पालना नगरी वर्न वार्डको आइसियु छिरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक टीकाटिप्पणी भइरहेको छ। सामाजिक अभियन्ता उज्वलविक्रम थापाले ट्विटमार्फत राज्यमन्त्री कार्कीको उक्त कदम लज्जास्पद भएको टिप्पणी गरेका छन्। ‘उहाँ आफैं डाक्टर, जलन कक्षभित्र क्यामेरा लिएर चित्रण गर्न पाइँदैन भन्ने ज्ञान त हुनुपर्ने हो। काम गर्नुस्, कति देखाउनुपर्ने हो ?’ उनले लेखेका छन्, ‘यो लज्जास्पद र गैरकानुनी हो। कीर्तिपुर अस्पतालको त्रुटि हो। पदले नियम मिच्ने परम्परा यथावत्।’  

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि राज्यमन्त्री कार्कीको यो काम ठिक नभएको बताएका छन्। ट्विटमा उनले लेखेका छन्, ‘राज्यमन्त्री तोसिमा कार्की राम्रो सम्भावना भएकी व्यक्ति हुन्। राजनीतिमा उनको प्रवेश स्वागतयोग्य छ। बिरामी भेट्न जानु राम्रो हो। तर ८० प्रतिशत जलेर जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीलाई भेट्न भिडियो खिच्ने टोली लिएर आइसियुमा जाने स्वयं चिकित्सक पनि रहेकी कार्कीको काम ठिक लागेन।’ राज्यमन्त्री कार्कीले आइसियुमा गम्भीर अवस्थाका आचार्यसँग गरेको कुराकानीको भिडियोको सामाजिक सञ्जालमा आलोचना भएको छ।  

प्रधानमन्त्रीकै गाडीअघि आत्मदाह प्रयास

आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालको गाडीअगाडि पारेर आफ्नै शरीरमा पेट्रोल खनाएर आगो लगाएको सिसिटिभी क्यामेरामा देखिएको छ। त्यतिबेला प्रधानमन्त्री दाहाल राष्ट्रियसभाको बैठकलाई सम्बोधन गरेर बाहिरिएका थिए। निस्किदाँ उनी सवार सेतो गाडीअघि पुगेर आचार्यले आफ्नो शरीरमा आगो लगाएको देखिन्छ। आगो लगाएपछि उनी प्रधानमन्त्री दाहाल सवार गाडीअगाडि ढलेका थिए। आचार्यले आत्मदाहको प्रयास गरिरहँदा प्रधानमन्त्री दाहाल सवार गाडी भने रोकिएन्। त्यसपछि सुरक्षामा खटिएका प्रहरी आएर आचार्यलाई बचाउने प्रयास गर्दै अस्पताल पु¥याएका थिए। आचार्यको उपचारकै क्रममा बुधबार बिहान निधन भएको छ।

सरकारले आचार्यले आत्मदाह गर्नुअघि उठाएका विषयको छानबिन गर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनले उठाएका विषय छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको जानकारी गृहमन्त्री रवि लामिछानेले दिए। उनले भने, ‘उहाँ (आचार्य) ले उठाएका विषयमा गृह मन्त्रालयले छानबिन गर्छ। सत्य, तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ।’

प्रकाशित: १२ माघ २०७९ ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App