२४ माघ २०७९ मंगलबार
राजनीति

गजेन्द्रनारायण स्मृति दिवस: संघीयता आन्दोलनका प्रणेता

गजेन्द्रनारायण सिंह।

गजेन्द्रनारायण सिंह नेपाली राजनीतिमा गजेन्द्र ‘बाबु’को नामले चिनिने अग्ला नेता हुन्। मधेसको देहातबाट प्रतिनिधित्व गर्ने गजेन्द्रनाराण सिंह नेपाली राजनीतिको चहिता बन्नुमा उनको निष्ठापूर्ण राजनीतिलाई कारण मान्छन्, विश्लेषकहरू। नेपाली राजनीतिले सिंहलाई संघीयता, समभाव, समानता आन्दोलनका प्रणेता भनेर पनि चिन्छन्।

गजेन्द्रनारायण सिंह संसारबाट बिदा भएको आज २१ वर्ष पुगेको छ। उनी ०५८ माघ १० गते भौतिक रूपमा संसार छाडेका थिए। मधेस राजनीतिलाई मूलधारमा ल्याउने राजनेताको रूपमा समेत गनिन्छन्, सिंह। नेपाली राजनीतिमा आदरपूर्वक नामका पछाडि बाबु जोडेर उच्चारण गरिने सीमित नाममा गजेन्द्रबाबुको पनि नाम अटाएको छ। यसका धेरै राजनीतिक र व्यावहारिक पक्ष छन्।  

नेपाल सद्भावना पार्टीमा अभिवादन मन्त्र ‘जय मातृभूमि’ उनैले सुरुवात गरेका थिए। यसले पनि उनको मातृभूमिप्रतिको स्नेह प्रष्ट्याउँछ। आफू जन्मिएको माटोप्रति उनको अमिट लगाव रहेको उनको राजनीतिक सहयात्री बखान गर्छन्। जुन माटोमा हुर्किएर राजनीतिक यात्रा आरम्भ गरे त्यो माटोलाई सधैं दिलोदिमागमा ताजा राख्न उनी अभिवादन मन्त्र बनाएका थिए। मातृभूमिप्रतिको प्रेमलाई उनले आफ्नो पार्टीपंक्तिमा मात्र सीमित राखेनन्, यसलाई नेपाली राजनीतिमा समेत स्थापित गराए। उनी मधेसका आर्थिक, सामाजिक, राजनीतिक मुद्दालाई निरन्तर उठाइराख्ने एक अथक सिपाही थिए। यसो गर्दा उनी आफूइतर दलका नेतालाई घृणा, आलोचना गरेर समय बिताउन रुची राख्दैन्थे। उनी आफूइतरका विचार राजनीतिलाई पनि उत्तिकै सम्मान गर्ने अग्ला नेता थिए।  

राजनेता एवं चिन्तक स्वर्गीय प्रदीप गिरीले आफ्नो एउटा आलेखमा उल्लेख गरेका छन्, ‘आफ्ना समयमा गजेन्द्रनारायण सिंहले आफ्ना कार्यकर्तालाई सिकाएका थिए। यो देश निश्चय हाम्रो हो, तर राज्य भने होइन।’ यो कथन उनको राजनीतिक लक्ष्य र व्यतिmत्वलाई दर्शाउँछ। दूरदृष्टि, शालीन स्वाभाव, प्रष्ट विचार, मातृभूमि मोहलगायतका ओजले होला गजेन्द्र बाबु पञ्चायती व्यवस्थाको प्रतिकूल अवस्थामा पनि मधेस आन्दोलनलाई स्थापित गर्न मात्र सफल भएनन सबै नेताका मनमा बस्न सफल बनेका थिए। आफ्नो गन्तव्यमा कसरी पुग्न सकिन्छ भन्ने राजनीतिको उनलाई राम्रो हेक्का थियो। उनी आफ्नो गन्तव्यमा पुग्न मुलुकमा विभाजनको राजनीतिलाई कहिल्यै दिमागमा ल्याएनन्। न त्यस खालाका अभिव्यक्ति कहिल्यै उनीबाट सार्वजनिक भए।

कतिपय मधेस मामिलाका विश्लेषकले उनलाई समभाव राजनीतिका प्रणेताको रूपमा विश्लेषण गर्छन्। उनी कहिल्यै आफ्नो परिवारको हित गर्नमा आफ्नो राजनीतिलाई विवादित बनाएनन्। उनी जहिले पनि मातृभूमिप्रति आफ्नो राजनीतिक दृष्टिकोणलाई केन्द्रित बनाइराखे। उनी घृणा, द्वेषको राजनीतिभन्दा प्रेम, सद्भावको राजनीतिलाई केन्द्रमा राखेको मधेस मामिलामा विद्यावारिधि गरेका डा. विजय प्रसाद मिश्र बताउँछन्।

मधेसमा पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि राजनीति गर्ने गज्जुबाबु पहाड र हिमालका पछाडि पारिएका समुदायको उत्थानका लागि राजनीति गर्ने गोरेबहादुर खपाँगीसँगसमेत सहकार्य गरेका थिए। ‘२०५० सालताका विराटनगरमा संयक्त पार्टी कार्यालय सञ्चालन गरी पछाडि पारिएका मधेसी र आदिवासी जनजाती समुदायको उत्थानका लागि संयुक्त आन्दोलन अघि बढाएका थिए,’ विश्लेषक अहिराज बताउँछन्। संघीयता र समभाव राजनीतिका अगुवा गज्जुबाबुको बाटोमा अहिले धेरै मधेसी नेता हिँड्दैछन्। जनता समाजवादी पार्टी पनि उही अजेन्डा अघि सारेर राजनीतिलाई गति दिईरहेका छन जुन गजेन्द्रनारायण सिंहले सुरुवात गरेका थिए।  

गजेन्द्रनारायण सिंहको नाममा करिब आधा दर्जन संस्थाहरू छन्। जसको नेतृत्व मधेस केन्द्रित दलका नेता तथा उनका परिवारले गरिरहेका छन्। यी संस्थाहरूमा विभिन्न दातृ संस्थाबाट आउने करौडौं रकम गजेन्द्रनारायण सिंहको दर्शनलाई मधेसी समाजमा फैलाउन खर्चिएको पाइँदैन।  

गजेन्द्रनारायाणको अर्को पनि असुल थियो, दलको जन्म र परवरिस(राजनीतिक अभ्यास ) नेपालको सरहदभित्रै हुनुपर्छ। सद्भावनाको जन्मदेखि राजनीति सबै नेपालको सरहदभित्रै भएको हो। उनी जमिन बेचेर राजनीति गर्ने मौलिक नेता थिए। उनले कहिल्यै घृणाको राजनीति गरेनन् न राजनीतिलाई व्यापार बनाए।  

गजेन्द्रवादी नेता विकास तिवारी ०५५/५६ साल ताकाको सन्दर्भ सम्झँदै भने, ‘नागरिकता ऐनको विरोधमा गजेन्द्रबाबु कुनै हिंसात्मक विरोध गर्नुभएन। सत्याग्रह आन्दोलनबाटै उहाँले त्योबेलाको साशकलाई झुकाउन सफल हुनुभएको थियो,’ तिवारीले भने, ‘उहाँ भूत, वर्तमान र भविष्यको विश्लेषण गरेर मात्र राजनीतिक कद्म अघि बढाउनुहुन्थ्यो।’ लामो समय गजेन्द्रनारायण सिंहसँग बसेका तिवारी सम्झन्छन्, ‘उहाँको शक्ति भनेकै सत्याग्रह थियो। सत्याग्रह मार्फत आफ्नो विरोध दर्ज गराउने र त्यसमा अन्तसम्म अडिग रह्ने उहाँको शक्ति थियो। गजेन्द्रबाबुको कुनै पनि आन्दोलनबाट मधेस तथा नेपाली समाजका आमजनलाई कहिल्यै पीडा खेप्नु परेन। घृणा त उहाँको शब्दकोषमै थिएन तिवारी भन्छन्, पहाडी साशसकसँग अधिकार पाउन पनि पनि उनी शालिनता र सत्याग्रहकै सहारा लिन्थे।’ जसले पहाडी शासकलाई घृणा गरेनन् उनले पहाडि समुदायलाई कसरी घृणा गर्न सोच्न सक्थ्यो। मधेसी जनता उनको मुटु र मधेस उनको शरीर थियो र उनको भौतिक उपस्थिति रहँदासम्म कायम थियो।

समकालीन पुस्ताको अस्तित्वलाई स्वीकार गर्ने, आशलाग्दो पुस्तालाई सहयात्रीको रूपमा बुझ्ने र अग्रज पुस्तालाई सम्मान दिने राजनीतिक संस्कारका धनी थिए, गजेन्द्रबाबु। बाचुन्जेल मधेसका मुद्दालाई केन्द्रमा ल्याउने प्रयत्न छाडेनन्। तर, यसलाका लागि कुनै मधेसी सपुतको बलिदानीको आधार उनले तयार पारेनन्। शान्तिपूर्ण तरिकाले उनी मुद्दालाई टिकाइरहे।  

सद्भावनामार्फत मधेसको राजनीति सुरुवात गरेका गजेन्द्रनारायाण सिंहको समयकालमा मधेस राजनीति आदर्शको रूपमा लिइन्थ्यो। त्यो बेला अधिकार प्राप्तिको संघर्षको उद्देश्य सत्ता पाउनु थिएन। समकालीनबीच अत्यन्तै आत्मीय सम्बन्ध गजेन्द्रबाबुको पहिलो प्राथमिकता रहने गरेको उनको निकटतमहरू बताउँछन्।  

गज्जुबाबुको राजनीतिक उद्देश्यलाई सरसर्ति निकाल्दा समावेशी राज्य प्रणालीभित्र सामाजिक सद्भाव र समभावसहित मधेसीहरूलाई सम्मानित नागरिकको रूपमा दर्ज गराउने नै रहेको तिवारी बताउँछन्। गज्जुबाबुले बसालिदिएको बलियो अधारशीलाकै बदौलत मधेस विद्रोहमार्फत विभेदको राजनीति मूलधारमा आएको विश्लेषकहरू बताउँछन्। दशकौंको संघर्षबाट तयार त्यो आधारशिलामा टेकेर मूलधारको राजनीतिमा अवतरित भए पनि इतिहासको निष्ठावान गज्जुबाबुलाई सामूहिक अभिनन्दन गर्न मधेसका राजनीतिक शक्तिहरू चुकेको मधेस मामिका विश्लेषकको टिप्पणी छ। जनतालाई जगाउने आन्दोलनका निष्ठावान अगुवालाई बिर्सिनु बिडम्बना हो। सिंह मधेसी राजनीतिका उज्ज्वल इतिहास हुन्।

सप्तरी जिल्लाको कोइलाडी गाविसमा पिता केपी सिंह तथा माता राधादेवी सिंहको दोस्रो सन्तानको रूपमा १९२५ मा गजेन्द्रनारायण सिंहको जन्म भएको थियो। गाउँकै विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरी उच्च शिक्षाका लागि बनारस पुगेका थिए। सोही क्रममा उनको राजनीतिमा आकर्षण बढ्यो। र, उनी पढाईलाई बिराम दिँदै राजनीतिमा सक्रिय भए।

भारतमा महात्मा गान्धीको स्वतन्त्रता आन्दोलन चल्दै थियो। उक्त आन्दोलनबाट प्रेरित भएका सिंह राजनीतिमा होमिन पुगेको उनका राजनीतिक सहयात्रीहरू बताउँछन्। राणा शासनको विरुद्ध सन् १९४७ मा नेपाल राष्ट्रिय कांग्रेसमा सक्रिय भएका सिंह सन् १९४९ को सत्याग्रह आन्दोलनमा समेत सक्रिय सहभागिता दर्ज गराएका थिए। सोही क्रममा उनी जेल परेका थिए। सन् १९५० देखि ६० सम्म नेपाली कांग्रेसको जिल्ला अध्यक्ष रहेका सिंह १९६० देखि ७७ सम्म कांग्रेसको केन्द्रीय सदस्य रहे। २०३९ सालमा नेपाली कांग्रेस परित्याग गरी २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरी २०४७ सालमा नेपाल सदभावना पार्टी बनाएका थिए। सिंह २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएका थिए। सद्भावनाले २०४८ को निर्वाचनमा ७ सिट जितेर राष्ट्रिय पार्टी बनेको थियो। सद्भावनाको संसदमा प्रवेशसँगै धोतीकुर्ता, हिन्दी भाषा समेत संसद् र सदनमा प्रवेश पाएको थियो। सिंहको निधन २०५८ माघ १० गते भएका थियो।

प्रकाशित: ११ माघ २०७९ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App