पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन सरकारमा सहभागी जनमत पार्टी विस्तारित मन्त्रिपरिषद्मा कार्यविभाजनलाई लिएर असन्तुष्ट बनेको छ भने मन्त्रालय भागबन्डामा सहमति नजुट्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएन।
‘हिजो (सोमबार) बसेको सत्तागठबन्धन दलको बैठकमा हाम्रा कुरा सुन्नै खोजिएन। उहाँहरूले दिएअनुसारका मन्त्रालय मात्रै हामीले लिनुपर्ने कुरा आयो। त्यसपछि हामी सरकारमा नगएको हो,’ यादवले भने, ‘न्यूनतम साझा कार्यक्रममा हाम्रा कुरा सुन्ने काम भयो। मन्त्रिपरिषद् विस्तार गर्नुअघि पनि हामीसँग छलफल भयो तर हामीले मागेअनुसार मन्त्रालय दिइएन।’ जसपाका लागि भनेर प्रधानमन्त्री दाहालले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका छन्।
त्यस्तै जनतमत पार्टीले पुस ११ गते नै अब्दुल खानलाई सरकारमा पठाएको थियो। उनले सोही दिन मन्त्रीको शपथ लिए पनि जिम्मेवारी पाएका थिएनन्। उनलाई मंगलबार खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो। पूर्वसहमतिविपरीत खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि खानले पदभार सम्हालेका छैनन्। जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। तर, उक्त मन्त्रालयको जिम्मेवारी एमालेका दामोदर भण्डारीलाई दिइएको छ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि नागरिक उन्मुक्ति पार्टी (नाउपा)पनि सरकारमा सहभागी भएन। नाउपाले जेलमा रहेका पार्टी नेता रेशम चौधरीको रिहाइ भए सरकारमा सहभागी हुने सर्त राखेको छ। दाहाललाई विश्वासका मत दिएका तीन स्वतन्त्र सांसद पनि मन्त्रीका आकांक्षी थिए। तर उनीहरूलाई सरकारमा सहभागी गराइएन।
प्रकाशित: ४ माघ २०७९ ०२:३२ बुधबार