६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई बरमनको सुझाव- ‘तलमाथि नगर्नुस्, बोलीमा अडिनुस्'

हीराबहादुर घर्तीमगर

रोल्पा- थबाङ–४, जुरबाङका ८५ वर्षीय बरमन बुढामगरले जीवनभर वामपन्थी राजनीति गरे। थबाङमा कम्युनिस्टको जग बसाए। मुखिया, प्रधानपञ्च हुँदै सांसदसम्म भए। अहिले पनि राजनीतिमा गहिरो चासो राख्छन्।

सशस्त्र विद्रोहकालमा थबाङलाई जनयुद्धको राजधानी, कम्युनिस्ट गाउँ, अजम्बरी गाउँजस्ता नाम दिने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पुराना कम्युनिस्ट नेता बुढामगरको राम्रै घुलमिल भएको थियो। दाहाल अहिले प्रधानमन्त्री छन्। कम्युनिष्टको जग बसाउने बुढामगर थबाङमै थन्किएका छन्। उनका दृष्टिमा दाहाल चतुर खेलाडी हुन्। 'प्रचण्ड बाहुन न परे, चलाख छन् तर थबाङका लागि केही गरेनन्,' उनले भने।

उनले प्रधानमन्त्री दाहाललाई एकचोटि थबाङ आउन सल्लाह दिए। 'तपाईंले विगतमा थबाङलाई के–के दिन्छु भन्नुभयो, त्यो थाहा पाउन एकचोटि हेलिकप्टरबाट होइन, हिँडेरै थबाङ आउनुहोला,' उनले भने, ‘मैले विगतमा के–के बोलेँ, के कति विकास गरेको रहेछु भनेर थाहा पाउनु हुन्छ।'

बरमनले प्रधानमन्त्री दाहाल थबाङ नआए सिंहदरबारमै गएर आफ्ना कुरा राख्ने पनि बताए। 'विगतमा थबाङलाई जनयुद्धको राजधानी भन्नुभयो, बिर्सिनु त भएको छैन होला,' उनले भने, ‘एकचोटि यहाँका जनताको भावना बु‰नुस्। थबाङ आउनुभएन भने म तपाईंलाई काठमाडौं आएरै भेट्छु।'

उनले थबाङलाई गाउँपालिकाको केन्द्र बनाउनुपर्नेमा जोड दिए। रुकुमतिरका गाविसलाई समेटेर थबाङलाई गाउँपालिकाको केन्द्र बनाउनुपर्ने उनले बताए।

प्रधानमन्त्री दाहालको बोलीको ठेगान नभएको उनको बुझाइ छ। 'प्रचण्डका कुरा कहिले तल, कहिले माथि त कहिले दायाँ, कहिले बायाँ हुन्छ,' उनले भने, ‘अब त्यसो नगर्नुस्।'

दस वर्षे सशस्त्र विद्रोहकालमा थबाङलाई सुन्दर, सभ्य र आधुनिक सुविधासम्पन्न बनाउने सपना माओवादीले देखाए। थबाङका जनतालाई आकर्षित गर्न माओवादीले थबाङ–५ ठूलो गाउँमा ठूलो साइनबोर्ड नै राख्यो। बोर्डमा 'सहिद दीर्घ स्मृति ऐतिहासिक थबाङ गाउँ, सशक्त, सुन्दर र सभ्य बनाऔं' नारा लेखियो।

माओवादीले विद्रोहकालमा तयार गर्न लगाई प्रचारमा ल्याएको थबाङको परिकल्पनामा कालोपत्रे सडक, सिमेन्टका पक्की घर, सुविधासम्पन्न अस्पताल, पार्किङ स्थल, थबाङलाई रिङरोड, माओवादी पार्टीको सुविधा सम्पन्न कार्यालयको चित्रित गरिएको थियो। तर, ती सबै परिकल्पनामै सीमित छन्।

प्रकाशित: २५ श्रावण २०७३ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App