coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्। बुधबार ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहमा उनले पृथ्वी जयन्तीको दिन सरकारले दिएको सार्वजनिक बिदाले नेपाली भावनाको सम्मान गरेको तर्क गरे।

‘तत्कालीन समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गरेको एकीकरणका कारण नेपाल र नेपालीको अस्तित्व सम्भव भएको हो,’ उनले भने, ‘राष्ट्रनिर्माता शाहले बाइसे र चौबिसे राज्यमा छरिएका भू-भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर नेपाल र नेपालीका रूपमा हामीलाई विश्व मानचित्रमा परिचित गराएका थिए। सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिएर नेपाली भावनाको सम्मान गरेको छ। यसप्रति हामी आभारी छौं।’

राप्रपाले आयोजना गरेको समारोहमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित विदेशी कुटनैतिक नियोगका पदाधिकारी, पेशाकर्मी तथा व्यवसायी र सर्वसाधारण तथा कार्यकर्ताहरू उपस्थित भएका थिए।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले विभिन्न सांस्कृतिक झाँकीदेखि रक्तदानसम्मको कार्यक्रम गरेको थियो। राप्रपाले अर्पण व्याङ्केट मार्फत सर्वसाधारणदेखि नेतासम्मलाई दुई किसिमको चियापानको व्यवस्था गरेको थियो। यसअघि राप्रपा अध्यक्ष लिङ्देनसहितका पदाधिकारी तथा कार्यकर्ताहरू सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेर माल्यार्पण गरेका थिए।

‘सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिएर हामीले राख्दै आएको मागलाई सम्बोधन गरेको छ,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेका चियापान समारोहमा उपराष्ट्रपतिदेखि सर्वसाधारणको उपस्थिति रहेको थियो। हामीले देशभर रहेका विभिन्न जिल्लास्तरीय समितिलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्साह रूपमा मनाउन परिपत्र गरेका थियौं।’

प्रकाशित: २८ पुस २०७९ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App