८ वैशाख २०८१ शनिबार
राजनीति

भट्टराईको सर्तमा नाम फेर्दै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ। माओवादी पार्टी छाडेको सात वर्षपछि पार्टीमा फर्कन लागेका बाबुराम भट्टराईले सर्त राखेर फर्कने भनेपछि नाम परिवर्तन गर्न लागिएको हो। ‘माओवादी केन्द्रले नाम परिवर्तन गर्न र अध्यक्ष पुष्पकमल दाहालपछिको दोस्रो वरीयता दिन सहमत भइसकेको छ, यसलाई दुई पार्टीको एकीकरणको प्रक्रियामा राखेर टुङयाइनेछ,’ माओवादी केन्द्रका एक नेताले भने। ती नेताका अनुसार अध्यक्ष दाहालले पार्टीको नामको अगाडि नेकपा राख्नुपर्ने अडान लिएपछि पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भएको छ। ‘एकतापछि पार्टीको नाम नेकपा समाजवादी हुनेछ,’ स्रोतले भन्यो।

माओवादी केन्द्रले वामपन्थीलाई एक ठाउँमा ल्याउनेगरी कार्यदल बनाएको छ। उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको कार्यदल बनेको हो। सो कार्यदलले भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीसँग कुराकानी गरेर अघि बढ्नेछ।

कार्यदलमार्फत सबै विषय टुंङयाएपछि दुई पार्टीबीच एकता हुनेछ। एकतापछि दाहाल र भट्टराई दुवै एउटै पार्टीमा रहनेछन्। भट्टराई सात वर्षअघि माओवादीबाट राजीनामा दिएर नयाँ शक्ति पार्टी बनाई अलग्गिएका थिए। माओवादीसँग छुट्टिँदा भट्टराईले माओवादी लडाकु व्यवस्थापनमा अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेतृत्व तहका नेताले अर्बौं रूपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए। माओवादी छाडेको ७ वर्षपछि ती सबै आरोप बिर्संदै भट्टराई माओवादीमै फर्कने भएका हुन्।

 माओवादी केन्द्रको शनिबार बसेको सचिवालय बैठकले ‘फास्ट ट्र्याक’ विधिबाट दुई पार्टी एकता गर्ने र प्रचण्डपछिको दोस्रो वरीयतामा रहेर भट्टराईलाई पार्टी काममा लगाउने गरी प्रक्रिया अघि बढाइसकेको छ। एकताका लागि दुवै पार्टीले पार्टीगत रूपमा कार्यदल बनाएर अघि बढ्ने भएका छन्। ‘दुवै कार्यदलले गर्ने आन्तरिक तयारीलगत्तै एकता गर्ने र पार्टीको नाम परिवर्तन गर्ने समझदारी भएको छ,’ स्रोतले भन्यो। नेपाल समाजवादी पार्टीले वार्ता टोलीका लागि आइतबारदेखि राजनीतिक समितिको बैठक गरिरहेको छ। सो पार्टीले कार्यदल बनाउने भनेको भए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन।

संविधानसभाबाट संविधान निर्माण भएलगत्तै डा. बाबुराम भट्टराई २०७२ असोज ९ गते माओवादी मुख्यालय पेरिसडाँडालाई ‘भूकम्पमा भत्किएको रातो घर’ को संज्ञा दिँदै माओवादी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका थिए। त्यतिबेला माओवादीमा रहेका केही प्रभावशाली नेताहरू लिएर निस्केका भए पनि पछि उनलाई साथ दिएका नेताहरू माओवादीमै फर्केका थिए।

७ वर्षको अवधिमा भट्टराईले उपेन्द्र यादवसँगसमेत एकता गरेका थिए। उनी लोसपामा रहेका अहिलेका नेताहरूसँग पनि एकता गरेर अगाडि बढेका थिए। तर त्यो सफल नभएपछि गत साउनमा फेरि उनले नेपाल समाजवादी पार्टी बनाएका थिए। निर्वाचनको बेला उनले माओवादी अध्यक्ष दाहाललाई गोरखामा आफ्नो क्षेत्रमा पठाएर आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उठाएका थिए। निर्वाचनदेखि नै माओवादी केन्द्रसँग नजिक रहेका भट्टराईले एकताका लागि हात बढाएका हुन्।

भट्टराई माओवादीबाट बाहिरिएपछि दाहालले पनि नेकपा एमालेसँग पार्टी एकता गरेका थिए। तर त्यो एकता पनि नटिकेपछि दाहाल र भट्टराई पुनः एउटै पार्टीमा सहकार्य गर्ने अवस्थामा पुगेका छन्। अहिले दुई नेताले पटकपटक गरेको वार्ता र संवादपछि एकताको वातावरण बनेको हो। उनीहरूबीच एकताको तयारी भने गत मंसिरको निर्वाचनअघि नै भएको थियो। शनिबार दाहाल र भट्टराईबीच बालुवाटारमा भएको छलफलपछि दुवै पार्टी एकतामा जाने सैद्धान्तिक सहमतिमा पुगेको स्रोतले जनाएको छ। सुरुमै एकताका लागि माओवादी नाम परिवर्तन गर्नुपर्ने भट्टराईको माग थियो। त्यसमा दाहालले सहमति जनाएपछि प्रक्रिया अघि बढेको स्रोतले जनाएको हो।

माओवादी केन्द्रले बनाएको कार्यदलले एमालेबाट विभाजित नेकपा एस र एमालेबाट टाढा रहेको वामदेव गौतमसँग पनि बहस तथा छलफल चलाउने भएको छ। ‘छरिएर रहेका कम्युनिस्टहरूलाई एक बनाउने हाम्रो अभियान हो, यो अभियानमा सबैसँग कुराकानी हुन्छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले भने। उनका अनुसार एमालेसँग पनि कुराकानी हुनेछ। ‘एमालेसँगसमेत छलफल हुनेछ, अहिले सरकार पनि सँगै मिलेर बनाएका छौं,’ महासचिव गुरुङले भने।

माओवादी केन्द्रले एकताका लागि कार्यदल बनाउनुअघि नै नेकपा एस र जसपाले पनि यस्तै कार्यदल बनाइसकेका छन्। नेकपा एसले महासचिव वेदुराम भुसालको संयोजकत्वमा र जसपाले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएको हो। तर ती दुवै कार्यदल कोसँग संवाद गर्ने भनेर अलमलमा छन्।

प्रकाशित: २६ पुस २०७९ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App