८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय सहमतिको झल्को

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरू, विभिन्न दलका शीर्ष नेतालगायत सांसद।

प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेताहरूबीच घोचपेच हुन्छ कि भन्ने धेरैको अनुमान थियो। तर सोमबारको बैठकमा ठुलासाना कुनै पनि दलका नेताहरूले नयाँ सरकारको विपक्षमा आवाज उठाएनन्। बरु उनीहरूले जनताका समस्या समाधान गर्न सरकारलाई चुनौती र अवसर दुवै रहेको बताउँदै सजग रहन आग्रह गरे।

सोमबार दिउँसो सवा १ बजे सुरु भएको बैठक पौने ४ बजेतिर सकिएको थियो। तर संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आ–आफ्नो धारणा राख्दा नयाँ सरकारविरुद्ध कुनै अभिव्यक्ति दिएनन्। यसबाट मंगलबार प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा सबै दल देखिन सक्ने आकलन गरिएको छ।

संसद् बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सत्तापक्षको सिटमा बसेका थिए भने कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  प्रतिपक्षको सिटमा बसेका थिए। तर संसद्मा दलीय धारणा राख्ने क्रममा कुनै पनि दलबाट विरोध नभएपछि राष्ट्रिय सहमतिको सरकार रहेजस्तो भान भएको थियो।

संसद्मा विपक्षी दलका नेताले सरकारको विषयमा कुनै घोचपेच गरेनन्। तर सत्तापक्ष एमालेका अध्यक्ष केपी ओलीले भने सरकार आफैं विश्वासको मत प्राप्त गर्न सक्षम भएको बताउँदै कसैको मतको आवश्यकता नभए जसरी प्रस्तुत भएका थिए। सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति र सभामुख फुत्काउन खोजेको चर्चा चल्न थालेपछि उनले विश्वासको मतका लागि नयाँ गठबन्धन सक्षम रहेको र यो सरकारलाई निरन्तरता दिनुपर्ने तर्क गरेका हुन्। संसद् बैठकलाई सम्बोधन गर्दै उनले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताए।

‘सांसद र नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने?’ उनले भने, ‘गोटी चालाचाल होइन, काम गरौं। म सबै दललाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं। बन्न नपाउँदै बिगार्ने खेलतिर लाग्यौं भने समय बर्बाद हुन्छ।’ उनले अहिले धेरै चुनौती रहेको भन्ने स्मरण गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे। देशले नयाँ परिवर्तन खोजेको संकेत चुनावअघि नै गरेको पनि उनले बताए। यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताएका थिए। पार्टीहरू थुप्रै भए पनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको भन्दै उनले नयाँ पार्टीलाई आफ्नो गठबन्धनमा टिकाउन फकाईफुल्याई पनि गरेको देखिन्थ्यो। देउवा नेतृत्वको सरकारले काम गर्न नसेकेको संकेत गर्दै उनले भने ‘देशले नयाँ परिवर्तन खोजेको संकेत चुनावअघि नै गरेको थियो, यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको छ।’ कांग्रेस सभापति देउवा बोलेपछि ओलीले भनाइ राखेका थिए।

प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई दिएका थिए। उनले नयाँ गठबन्धन बनेको प्रति कुनै गुनासो गरेनन्। उनले भने, ‘म नवनियुक्त प्रधानमन्त्रीलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्छु।’ उनले प्रधानमन्त्रीलाई मात्र नभई मन्त्रिपरिषद्मा रहेका सबै मन्त्रीलाई पनि बधाईसहित सफलताको शुभकामना दिएका थिए। उनको भनाइमा यो सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने र सरकारलाई विश्वासको मत दिने संकेत देखिएको थियो।

विपक्षी दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई दिए। प्रधानमन्त्री दाहालले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता व्यक्त गर्नु सकारात्मक रहेको उल्लेख गर्दै उनले दाहाललाई जनताले परिवर्तनको अनुभूति गर्न पाउने गरी काम गर्न सुझाए। ‘परिवर्तनको महसुस हुनेगरी काम अघि बढोस्, बोली र व्यवहारमा सामञ्जस्य आओस्,’ उनले भने। उनले सरकारको समर्थन गर्ने कि विरोधमा जाने भनेर केही खुलाएनन् तर सरकार फेरिइरहेको हेर्न नचाहेको बताए।

उनले भने, ‘हामी पनि चाहँदैनौं कि छिनछिनमा सरकार परिवर्तन होस्।’ यसबाट उनले पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेको विश्लेषण गर्न सकिन्छ।  विपक्षी दलका रूपमा रहेका लोसपाका शरतसिंह भण्डारीले वर्तमान सरकारलाई अवसर र चुनौती दुवै रहेको बताए। उनले भने, ‘चुनौती यस मानेमा छ, विश्वास कायम कतिसम्म हुन्छ भन्ने हो। अवसर कसरी छ भने विश्वास दिए पनि सरकारले आफूले भनेको काम कसरी गर्न सक्छ?’ उनको भनाइले लोसपाले पनि सरकारलाई विश्वासको मत दिन सक्ने सम्भावना देखिएको छ। नाउपाबाट संसद्मा सम्बोधन गरेकी रन्जिता श्रेष्ठले फौजदारी अभियोगमा जेलमा रहेका रेशम चौधरीको रिहाइको माग गरिन्। उनले पनि सरकारको कुनै विरोध गरिनन्।

संसद्मा बोल्दै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको मत बटुल्ने गरी संसद्मा आफ्नो भनाइ राखेका थिए। उनले भने, ‘हामी राजनीतिक पृष्ठभूमिबाट आएका छौं, मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं।’ उनले आफू निरन्तर जनताको निगरानीमा रहेको बताउँदै सरकारमा रहेर राम्रो काम गरेर देखाउनेतर्फ आफ्नो अभिव्यक्तिलाई केन्द्रित गरेका थिए। उनले प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरूले प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको भन्दै खुसी व्यक्त गरे। उनले हजारौं सहिद, बेपत्ता, जेलनेल सहेका, घाइते भएका, अपांगताको सिकार भएका नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट अहिलेको संसद् समावेशी बन्न सकेको पनि बताए।

उनको भनाइबाट आफू सबै जात वर्ग र क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति प्रधानमन्त्री बनेकाले विश्वासको मत दिन योग्य रहेको भनी आफूलाई प्रस्तुत गरेका थिए। ‘विविधतामा एकता नै हाम्रो शक्ति हो। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगोलिक विशेषता भएको यो देशमा विविधताको सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा गर्‍यौ भने विभाजनतिर जान्छौं,’ उनले भने। उनले आफू राष्ट्रियताको पक्षधर रहेको पुष्टि गर्न खोजेका थिए।

प्रकाशित: २६ पुस २०७९ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App