१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारणको ढोका खोलेको बताएका छन्। आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

 उनल विमानस्थलमा व्यवसायिक उडान शुरु भएपनि विमानस्थलसँग जोडिएका अन्य पूर्वाधारहरु बनाउन बाँकी रहेको बताए। उनले धेरै दुःख गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सफल भएकाले व्यवसायिक उडान सञ्चालनमा आउँदा खुशी भएको पनि बताए।  

उनले भने, ‘२०६४ सालमा पर्यटनमन्त्री हुँदा पोखरा अन्तर्राष्ट्रिय र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीतिगत निर्णय गरेको थिएँ। नागरिक उड्डन क्षेत्रको सबैभन्दा ठूलो नीतिगत निर्णय नै त्यतिबेला भएको थियो। त्यसमा भैरहवामा गौतमबुद्ध,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। निजगढ विमानस्थल बन्ने प्रक्रियामा रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि जग्गा अधिकरण गर्ने काम म मन्त्री भएको बेला गरेको हो। जग्गाको विषयमा विवाद मिलाउन खगराज अधिकारीको नेतृत्वमा समिति बनाएर विमानस्थलको लागि २ करोड ९० लाख अतिरिक्त बजेटको व्यवस्था गरेर जग्गा विवाद मिलाएर विमानस्थल निर्माणका लागि सरकार तथा विदेशी लगानी गर्न तयार भएको हो। धेरै दुःख गरेर विमानस्थल शुरु गरेको हुनाले विमानस्थल बन्दा धेरै खुशी छौं। विमानस्थल सञ्चालनमा आए पनि विमानस्थलसँग जोडिएका अन्य पूर्वाधारहरु बनाउन बाँकी रहेको छ। पोखरा विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधाहरु निर्माणमा जोड दिनुपर्छ। पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिवी निवारण गर्ने विषय छ। त्यसको लागि ढोका खुलेको छ। पाँच वर्ष अगाडि गण्डकी प्रदेश बन्दा गण्डकी प्रदेश सरकारको मुख्य आधार पर्यटनलाई मानेका छौँ। पोखरा नजिकका मनाङ, मुस्ताङ, ढोरपाटन लगायतका स्थानहरुमा विमानस्थलहरु नियमित रुपमा चलाउनुपर्ने छ। पोखरा घुम्न आउने पर्यटकहरुलाई धौलागिरी, मनास्लु र अन्नपूर्ण क्षेत्रमा समेत जानसक्ने अवस्था बनायो भने पर्यटनको माध्यमबाट पोखराको मात्रै नभएर समग्र गण्डकी क्षेत्रको विकास हुनसक्छ।’

उपमहासचिव गुरुङले अब बाँकी रहेको अन्य विमानस्थलहरु पनि सञ्चालन गरेर अन्य पूर्वाधार बनाएर भारतीय, चिनियाँ र युरोपका पर्यटकहरु धेरै ल्याउनसके पर्यटकको माध्यमबाट गण्डकीको समृद्धि सम्भव रहेको बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलबाट यति,बुद्ध, सूर्य,श्रीएयरलाइन्स,हिमालयन,समिट र गुण लगायतका एयरलाइन्सले आईतवारदेखि नै उडान गरेका छन्। यो विमानस्थल २४ सै घण्टा सञ्चालन गर्नसकिने हिसावले निर्माण भएको हो। विमानस्थल सञ्चालनमा आएपछि पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। चर्चा भएको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयार भएकाले पोखरेली जनताको महत्वाकांक्षी योजना पूरा भएको छ।

प्रकाशित: १८ पुस २०७९ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App