२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उषा राई मृत्यु प्रकरण: ३ जना पुर्पक्षको लागि थुनामा, एक जनालाई धरौटीमा छोड्न आदेश

उषा राईलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ४ जना महिलाहरु। फाइल तस्बिर

धरानकी उषा राई मृत्यु प्रकरणमा जिल्ला अदालत सुनसरीले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ भने एक जनालाई १ लाख धरौटीमा छोड्न आदेश दिएको छ।

न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले मृतक उषा राई मृत्यु प्रकरणमा यस्तो आदेश दिएको हो। अदालतले घटनाको मुख्य आरोपी धरान १३ की उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए। उनका अनुसार आरोपित रत्ना सुब्बालाई भने १ लाख रुपैया धरौटी लिएर छोड्न अदालतले आदेश दिएको छ। ‘आदेश बमोजिमको प्रक्रिया भइरहेको छ। तीन जनालाई कोभिड परीक्षण गरेर रिपोर्ट आएपछि झुम्का कारागार पठाइनेछ,’डिएसपी श्रेष्ठले भने।  

गत कार्तिक ३ गते उर्मिला राईको नेतृत्वमा गएका महिलाहरुले उषा राईलाई निर्घात कुटपिट गरेका थिए। आफ्नो श्रीमान्सँग नजिकिएको आशंकामा उनले आफन्त र छरछिमेकसहित उषालाई कुटपिट गरेका थिए। धनकुटाको शहिदभुमी गाउँपालिका घर भएकी एकल महिला उषा धरान १३ सुर्य मार्गमा डेरामा बस्दै आएकी थिइन्। उनको श्रीमान्को करिब २ बर्ष मृत्यु भएको थियो। आफ्ना २ छोरीहरुलाई उनले सिलाई कटाई मेशिन चलाएर पालनपोषण गर्दै आएकी थिइन्।

कुटपिट भएको झण्डै एक महिना पछि उषाको स्वास्थ्य गम्भीर भएको थियो। गम्भीर घाइते भएकी उषाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई डिस्चार्ज पछि उर्मिलासँग उपचार खर्च लिएर मिलापत्र पनि भएको थियो। तर, स्वास्थ्य बिगं्रदै गएपछि वीपी प्रतिष्ठानमा पुनः भर्ना गरिएको थियो भने उपचारकै क्रममा उनको मंसिर दोस्रो सातामा मृत्यु भयो। उनको मृत्युपछि मात्र कुटपिट भएको बेलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सोही भिडियोमा पहिचान भएका महिलाहरुविरुद्ध मृतक उषाका भाई सुन्दर राईले प्रहरीमा जाहेरी दिएका थिए।  

यो घटनामा आरोपित अझै ३ जना भने फरार छन्। फरार रहेकाहरुमा निरकुमारी गुरुङ, सृर्जना राई र मिना राई रहेका छन्। उनीहरुमध्ये जाहेरीमा उल्लेख गरिएकी मिना राई को हुन् भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। ‘एकजना मिना भन्ने को हुन् भनेर पहिचान भएको छैन। अरु २ जनाको पहिचान भइसकेको छ, फरार छन्। हामी खोजी गरिरहेका छौं,’डिएसपी श्रेष्ठले भने।

प्रकाशित: १४ पुस २०७९ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App