१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो छ’

विश्वप्रकाश शर्मा

सत्तापक्षबाट प्रतिपक्ष बनेको नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा राजनीतिक संवाद गरेका छन्। महोत्सवमा कांग्रेस महामन्त्री थापाले विश्वकपमा फ्रान्सका एम्बाप्पेको उदाहरण दिँदै पछिल्लो राजनीतिक घटनाक्रमलाई व्याख्या गरेका छन्।  

‘केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्‍याङ चढेर अलि माथि पुगेको विश्वप्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्‍याङ चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उनले भने, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ। पार्टी कार्यालयमा भएको छलफल होइन। तर म पार्टीको महामन्त्री र निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको हुँ।’ उनले कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने टिप्पणी गरेका थिए।

‘एउटा पूर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ,’ उनले भने, ‘कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको। यो हेर्दा समान्य लाग्छ। यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो। एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ।’ कांग्रेसको केन्द्रीय बैठकमा आफूले पटक–पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाएको दाबी उनले गरे। ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो। पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नुपर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने। उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिनेमा जोड दिएका थिए।

कांग्रेसका अर्का महामन्त्री शर्माले पछिल्लो घटनाक्रमलाई विश्वकपको उदारण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो। वल्र्डकपमा सबैभन्दा गोल एम्बापेले हाल्यो। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो।

संवादका क्रममा दुवै महामन्त्रीले निर्वाचन प्रणाली र संविधानमा पुनः सुधार गर्नुपर्ने कुराहरू विद्यमान रहेको टिप्पणी गरेका थिए। ‘हार जितको कुरा एकछिन आयो, गयो,’ थापाले भने, ‘नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं।’ त्यस्तै अर्का महामन्त्री शर्माले अहिले कांग्रेस ट्रनिङ प्वइन्टमा रहेको दाबी गरे। ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ। यो नेपाली कांग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए।

प्रकाशित: १२ पुस २०७९ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App