राजनीतिमा स्थायी शत्रु हुँदैनन् र असम्भव पनि केही हुँदैन भन्ने कुराको पछिल्लो उदाहरण हो, आइतबार लोकतान्त्रिक वाम गठबन्धनमा आएको उलटफेर र वाम गठबन्धनमा नयाँ सत्ता समीकरण निर्माण। आइतबार दिउँसोसम्म लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा रहेको सत्ता समीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि दिएको समय घर्किनै लाग्दा एकाएक वाम गठबन्धनसहितको सत्ता समीकरणमा परिवर्तन भयो। प्रतिगमनकारी भनिएका एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक अग्रगमनकारी साबित हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहणको भर्याङ बन्न पुगे।
संयोग कस्तो भने ठ्याक्कै दुई वर्षअघि अर्थात् २०७७ पुस १० मा ओलीको प्रतिगमनविरुद्ध माधव नेपालसँगै सडकमा ‘हामी यहाँ छौं’ भन्ने दाहाल त्यसको दुई वर्षपछि २०७९ पुस १० गते नै ओलीको बालकोट बार्दलीमा पुगेर ‘हामी यहाँ छौं’ भन्दै ओलीसँगै अभिवादन गरिरहेका देखिए।
राजनीतिमा कसको जित कसको हार भयो भनेर भविष्यमा समीक्षा हुँदै गर्ला तर अहिलेका लागि सत्तामा नगई नहुने दाहालको चाहना पूरा भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट तेस्रो दलको भूमिकामा खुम्चिएर कमजोर बनेका दाहाल सत्ताको मोलमोलाइमा भने सबैभन्दा शक्तिशाली देखिए। दुई तहको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन बनाएर निर्वाचन लडेका दाहालले अन्तिम चरणसम्म पनि गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्ने प्रयास गरिरहे।
गठबन्धनका तर्फबाट सबैभन्दा ठुलो दलका रूपमा स्थापित नेपाली कांग्रेसले पहिलो चरणमै दाहाललाई प्रधानमन्त्री दिन आनाकानी गरेपछि अन्तिम चरणमा दोस्रो ठुलो दल एमालेसहितका दललाई लिएर उनी प्रधानमन्त्री बन्न सफल भए। स्थापित भनिएका कांग्रेस र एमालेभन्दा सत्ता राजनीतिको अनुभव कम भएका र राजनीतिक शक्तिका हिसाबले समेत कमजोर अवस्थामा रहेका दाहालले सत्ता प्राप्तिमा भने ‘प्रचण्ड’ छलाङ मारेका छन्। संसदीय खेलमा अनुभवी भनिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत उनले यसपालि सत्ताको खेलमा ‘चक्मा’ खुवाएका छन्।
दाहालको स्वभावलाई लिएर कतिपयले उनलाई अस्थिर पात्रका रूपमा चित्रण गर्छन्। उनी आफ्नो अनुकूलताका लागि आफंैले गरेका प्रतिबद्धतालाई तोड्न पनि तयार भइहाल्छन्। तर उनको हकमा एउटा अनौठो संयोग देखिन्छ। उनी आफूले लिएका प्रायः लक्ष्य हासिल गर्न सफल भएका छन्। सशस्त्र द्वन्द्वको नेतृत्व गर्दै मुलुकलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतामा लैजानेदेखि वाम गठबन्धन हुँदै नेकपाको निर्माण, आफ्ना लागि प्रतिकूल हुँदा पनि नेकपाकालीन दुई अध्यक्षमध्ये एक ओलीलाई कारबाही र फरक ध्रुवको कांग्रेससँग मिलेर उनलाई सत्ताच्युत गरी बालकोट बार्दलीमा पुर्याउनेसम्मका घटनाक्रममा पनि उनी सफल भएका थिए।
सत्ताको नेतृत्व गर्दै गर्दा दाहालले सत्ताको नेतृत्व गर्न संसद्को संख्या मात्रै धेरै भएर हुँदैन, दृढ चाहना र लक्ष्य पनि हुनुपर्छ भन्ने अर्काे एउटा मान्यता पनि स्थापित गरेका छन्। लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट निर्वाचन लड्दै गर्दा दाहालले अंक गणितको खेलका लागि संसद्को संख्या बढाउने प्रयासमा खासै समय खर्च गरेनन्। संसद्को संख्या बढाउन उनले जनतासँग जोडिएर काम गर्नुपथ्र्याे। शान्तिप्रक्रियामा आएदेखि नै जनतासँग टाढिएको आरोप दाहालमाथि लाग्ने गरेको छ। संसद्मा उनको उपस्थितिले पनि त्यो आरोपलाई पुष्टि गर्दै गइरहेको थियो। तर दाहालकै भाषामा ‘मौका पाए प्रधानमन्त्रीका रूपमा मुलुकको नेतृत्व गर्न तयार छु’ भन्ने उनको दृढ चाहना र अपेक्षासामु उनले प्राप्त गरेको संसदीय अंक गणित कमजोर हुन पुग्यो। जसले गर्दा उनी सत्ताका बलिया खेलाडीलाई समेत ‘चक्मा’ खुवाउन सफल भए।
को हुन् दाहाल?
२०११ मंसिर २६ गते कास्कीमा जन्मिएर चितवनमा हुर्केबढेका दाहालले आफ्नो भूमिगत राजनीति रोल्पा-रुकुम आसपास रहेर अघि बढाए। उनी तीन दशकभन्दा बढी समयदेखि पार्टीको मुख्य भूमिकामा रहँदै आएका छन्। २०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका दाहाल २०४१ सालमा नेकपा (मशाल) को पाचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्युरो सदस्य चयन भएका थिए।
२०४६ सालमा नेकपा (मशाल) को महामन्त्री बनेका उनी २०४८ सालमा नेकपा एकता केन्द्रका महामन्त्री भएका थिए। २०५१ सालमा एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखेपछि उनले २०५२ सालमा पार्टीको नेतृत्व गर्दै सशस्त्र युद्ध सुरु गरेका थिए। लामो समय भूमिगत राजनीतिमा सक्रिय दाहाल २०६३ असारमा बालुवाटारबाट सार्वजनिक हुनुभन्दा पहिले अस्तित्वमै छन् वा छैनन् भन्नेसम्मको आशंका हुने गथ्र्याे। ‘प्रचण्ड’का रूपमा उनको प्रभाव स्थापित थियो। तर व्यक्ति प्रचण्डको अस्तित्व आशंकाको विषय थियो।
राजनीतिमार्फत सर्वहारा जनताको नायकत्व र हक स्थापित गराउने प्रतिबद्धता गर्दै १० वर्ष लामो सशस्त्र द्वन्द्वको नेतृत्व गरेका उनीमाथि शान्तिप्रक्रियामा प्रवेश गरेपछि भने परिवार र आफ्नो सानो समूहको मात्र हित प्रवर्द्धन गरेको आरोप लाग्ने गर्छ। २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमार्फत सबैभन्दा ठुलो दलको नेतृत्व गर्दै एमालेको समर्थनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका दाहाल दोस्रोपटक २०७३ सालमा कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बनेका थिए। यसपटक तेस्रोपटक सत्ताको नेतृत्व गर्दै गरेका दाहाललाई एमालेसहित विभिन्न दलको समर्थन रहेको छ।
प्रकाशित: ११ पुस २०७९ ००:१४ सोमबार