७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौंका अधिकांश उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि काठमाडौंका १० निर्वाचन क्षेत्रका १ सय ९८ प्रतिनिधिसभा र १ सय ७१ जना प्रदेशसभाका उम्मेदवारले निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यलय, काठमाडौंमा बुझाएका छन्। निर्वाचन आयोगले कारबाही गर्ने बताएपछि उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाइरहेको जानकारी जिल्ला निर्वाचन कार्यलय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले दिए।  

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र विभिन्न विषयमा निर्वाचन खर्च भएको विवरण बुझाइरहेका छन्,’ जिल्ला निर्वाचन कार्यलय, काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने, ‘कारबाहीमा परिने भएपछि निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवारको संख्या बढेको छ।’ निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई मत परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको थियो। निर्वाचन आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको थियो। उम्मेदवार र राजनीतिक दलले तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्य प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय संचालन र प्रतिनिधि परिचालनलगायतका विषय शीर्षक उल्लेख गरी निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी विवरण देशभरका निर्वाचन कार्यलयमा बुझाइरहेका छन्।  

प्रतिनिधिसभातर्फ काठमाडौंका १० निर्वाचन क्षेत्रमा २ सय ६५ जना उम्मेदवार रहेका थिए । हालसम्म प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट २८ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन्। प्रदेशसभातर्फ २ सय २८ जनाले उम्मेदवारी दिएमध्ये काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा २७ जना, काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा १३ जना, काठमाडौं निर्वाचन क्षेत्र नं. ३ मा १८, काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा ११, काठमाडौं निर्वाचन क्षेत्र नं. ५ तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा २१–२१ जना, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा १७ जना, काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा १२ जना, काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा १७ जना र काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा १४ गरी हालसम्म १७१ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ११ हजार ५४३ जना उम्मेदवार थिए। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मंसिर ६ गतेदेखि काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएकोलाई आधार मानेर उम्मेदवारले निर्वाचन खर्च बुझाइरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यले २५ लाखदेखि ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ भने प्रदेशसभा सदस्यले १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेको थियो। आयोगले तोकेको खर्च सीमाको विभिन्न अनुसूचीमा सम्बन्धित क्षेत्रको मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको संख्यात्मक विवरण उल्लेख थियो।  

प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूचीमा पेस गरेका उम्मेदवारको संख्याका आधारमा प्रतिउम्मेदवार दुई लाख रूपैयाँ र प्रदेशसभाको समानुपातिकतर्फ प्रति उम्मेदवार १ लाख ५० हजार रूपैयाँ राजनीतिक दलले खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने १ लाख १५ हजार १३१ र ढिलो गरी निर्वाचन खर्च बुझाउने ८ हजार ६ सय ५२ गरेर एक लाख २३ हजार ७ सय ८३ जना उम्मेदवार कारबाहीको दायरामा आएका थिए। स्थानीय निर्वाचनमा ३० दिनभित्र खर्च विवरण बुझाउन आयोगले निर्देशन दिएको थियो।

आयोगले काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद २५ लाख रूपैयाँ तथा काठमाडौं २, ४, ५, ९, १०, ललितपुर १, २, ३ र भक्तपुर २ मा निर्वाचन खर्चको हद २७ लाख रूपैयाँ तथा भक्तपुर १ मा निर्वाचन खर्चको हद २९ लाख रूपैयाँ सीमा तोकेको थियो। निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेअनुसार निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समय सीमाभित्र जरिवानासमेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुने उल्लेख गरिएको छ।

प्रकाशित: ५ पुस २०७९ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App