बेलायतको राजधानी लन्डनमा २६ वर्षीय भारतीय मूलका युवक गुरभेज सिंहको छुरा प्रहार गरी हत्या गरिएको छ। हत्या गरेको आशंकामा प्रहरीले घटनास्थलबाट २० देखि ३० वर्ष उमेरका सात जना पुरुषलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पुगे पनि गम्भीर घाइते भएका उनलाई बचाउन सकेन्। आक्रमणमा अर्का एक व्यक्ति पनि घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको र अहिले अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सात जनामध्ये ६ जनालाई अनुसन्धानपछि रिहा गरिएको छ भने एक जनालाई जमानतमा छोडिएको छ। जमानतमा छुटेका व्यक्तिसँग प्रहरीले थप सोधपुछ गर्ने बताएको छ।
लन्डन प्रहरीले मृतक सिंहको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराएको र आक्रमणको मुख्य उद्देश्य पत्ता लगाउन थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३ ११:५७ आइतबार





