coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री?

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभामा कुनै पनि दलको एक्लै सरकार बनाउने बहुमत नपुगे पनि सत्ता गठबन्धनको बहुमत छ। सुदूरपश्चिम प्रदेश सरकार कुन दलको नेतृत्वमा बन्ला र सरकारको मुख्यमन्त्री को बन्ला भन्ने विषय अहिले चासोको विषय बनेको छ। प्रदेश सरकारको नयाँ मुख्यमन्त्री को बन्ने भनेर चिया पसलदेखि सबैतिर चर्चा परिचर्चा चलिरहेको छ भने मुख्यमन्त्रीको दौडमा रहेका नेताहरू लबिङमा व्यस्त छन्। सत्तागठबन्धमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन गठबन्धनका शीर्ष नेतासँग लबिङ गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रको शसक्त दाबी रहेको छ। माओवादी केन्द्रको भागमा परेमा मुख्यमन्त्रीमा डडेल्धुराबाट प्रदेशसभा सदस्य निर्वाचित भएका खगराज भट्ट निर्विल्प देखिएका छन्।

प्रधानमन्त्री शेर बहादुर देउवासँग ३ पटक डडेल्धुरामा निर्वाचन हारेका नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा सुदरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टलाई मुख्यमन्त्री बनाउने समझदारीमा नै प्रदेशसभामा चुनाव लड्न लगाएको बुझिएको छ। निर्वाचनका बेला चुनावी आमसभामा पनि प्रधानमन्त्री देउवाले मुख्यमन्त्री बनाउने भनेर भट्टका लागि मत मागेका थिए।  

३ पटक प्रधानमन्त्री देउवासँग चुनाव हारेका भट्टले अहिले गठबन्धनका तर्फबाट देउवाकै सहयोगमा चुनाव जितेका छन्। सत्तागठबन्धन दलहरूका शीर्ष नेताबीचमा प्याकेजमै सहमति गरिने र प्रदेशको पनि सहमतिमा भागबण्डा गरिने भट्ट बताउँछन्। चुनावी आमसभामा प्रधानमन्त्रीले नै मुख्यमन्त्री बनाउने भनेकाले मुख्यमन्त्री आफू नै हुनेमा ढुक्क रहेको उनी बताउँछन्।

५३ सदस्यीय प्रदेशसभामा सबैभन्दा बढी १९ प्रदेशसभा सदस्य रहेको नेपाली काग्रेसले पनि आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने दाबी गरिरहेको छ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री मेघराज खड्काले केन्द्रमा शीर्ष नेताबीच छलफल गरेर कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भनेर भागबण्डा लगाइने बताए। यसअघिका ५ वर्ष सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको मुख्यमन्त्री भएकाले यसपटक प्रदेशसभामा सबैभन्दा ठूलो दल पनि भएकाले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्नुपर्छ भनेर पार्टीको प्रदेश समितीमा रहेका र प्रदेशसभामा सदस्यमा निर्वाचित नेताहरूको धारणा रहेको उनी बताउँछन्।  

काग्रेसको भागमा सुदूरपश्चिम प्रदेश परेमा मुख्यमन्त्रीका आकांक्षी धेरैजना रहेको उनको भनाइ छ। अछामबाट निर्वाचित खड्का पनि मुख्यमन्त्रीका लागी प्रवल दाबेदार हुन्। काग्रेसभित्र उनीलगायत ५ जना मुख्यमन्त्रीको दौडमा रहेका छन्। मुख्यमन्त्रीको दौडमा रहेका सबैजना लबिङमा लागेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र २ को २ बाट निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुर निर्वाचन १ को २ बाट निर्वाचित दिवान सिंह बिष्ट र कैलाली निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित कमल शाह मुख्यमन्त्रीका दाबेदार रहेका छन्।  

यसैगरी कैलाली निर्वाचन क्षेत्र ५ को २ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका प्रधानमन्त्री देउवाको भतिजा प्रकाश देउवालाई पनि मुख्यमन्त्रीका शसक्त दाबेदारको रूपमा हेरिएको छ। यसैगरी एकीकृत समाजवादीका यहाँका नेताहरूले पनि भागबण्डामा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने लबिङ गरिरहेका छन। ४ जना प्रदेशसभा सदस्य भएको नेकपा एकीकृत समाजवादीको भागमा परेमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित दीर्घ सोडारी मुख्यमन्त्रीको प्रवल दाबेदार हुन्।  

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११ र नेकपा एसका ४ गरी सत्तागठबन्धका ३४ सदस्य रहेका छन् नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र राप्रपा १ सदस्य रहेका छन्।

प्रकाशित: १ पुस २०७९ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App