भालुले मौरीका घारहरूमा क्षति पुर्याउन थालेपछि जुम्लाका मौरीपालक किसानहरू मारमा परेका छन्। भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ। जुम्लाको चन्दननाथ नगरपालिका-२ खोलिकोट गाउँका रामकृष्ण बुढ्थापाले दुई वर्षमा १३ घार भालुले खाइदिएकाे बताए।
अब अहिले उनीसँग एक मात्र घार छ। त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको गुनासो छ। ‘भालु धपाउन अनेक जुत्ति निकालेँ। रातभर मान्छेहरू जाग्राम बस्ने, थाल ठट्याउने, दमाह बजाउने, घण्टा बजाउनेदेखि टीनहरू ठट्याउने समेत गरियो’, मौरीपालक किसान बुढ्थापाले भने, ‘केही गरेर पनि भालुदेखि घार बचाउन सकिएन। न भालु धपाउन सकियो नत घारको सुरक्षा गर्न सकियो। बरु भालुले खाइरहेको घारहरू हरेक दिन हेरेर मन खिन्न बनाइरहनुपर्याे।’
उनी बर्सेनि लाखौंको मह बेचिरहेका थिए। जंगलछेउ मौरीपालन भएकाले पनि चरन क्षेत्रको अभाव थिएन।
बुढ्थापाले भने, ‘जंगलको छेउमा चरन क्षेत्र थियो। भालुदेखि बचाउन गाह्रो भयो। गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्न थाल्यो। हामी मौरीपालन किसानलाई काही गए पनि शान्ति छैन।’
उनको मौरीपालन हेर्न आन्तरिक तथा बाहृय मौरीपालक किसानहरू आइरहन्थे। भालुले मौरीको लार्भा र मह खाइरहेको छ। दुधिलो र मिठो हुने भएकाले मौरी घार खोजीखोजी खाने गरेको किसानहरू बताउँछन्।
मौरीपालन सहकारी संस्था जुम्लाका सचिव नारायण चौलागाईंले भदौ, असोज र कात्तिक मौरीपालनमा भालु आतंक नै हुने गरेको बताए। उनले भने, ‘भालु मौरी घारमा लाग्यो भने सिध्याएर मात्र अन्यत्र जान्छ। नत्र वरिपरि नै बसिरहन्छ।’
भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरी घारहरू सखाप पारिरहेको छ।
कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरी घारमा भालु पल्किने गरेको छ। अहिले भालु मौरीको प्रमुख दुश्मन हो,सचिव चौलागाईंले भने, ‘भालु धपाउने अनेक उपाय फेल भएपछि भालुले मौरी खाइरहेको टुलुटुलु हेर्नुको विकल्प छैन।’
अहिले मान्छेहरू गोठाला बस्ने भएकाले घर नजिकैका घारहरू सुरक्षित छन्। जब मान्छेहरू घरतिर झर्छन्। भालु गाउँनजिकै आएर मौरी खान थाल्छ, उनले भने, ‘अज्ञात रोगले मौरीहरू त मार्याे नै। भालुले समेत छाडेन। उल्टै अहिले मानिसहरू समेत भालुदेखि डराउनुपर्ने अवस्था आइपुगेको छ।’
मौरीपालन गरिरहेको स्थानमा घण्टा झुण्ड्याउने, थाल ठट्याउने हल्लीखल्ली गर्ने र सोलार बत्ती बाल्ने गरिएको छ। तैपनि भालुको आतंक कम भइरहेको छैन। पछिल्लो समयमा किसानहरू पटका पट्काएर पनि भालु धपाउन कोसिस गरिरहेका छन्। तैपनि तर्सिदैन। हाकाहाँकी मौरीको घार खाइहाल्छ। हरेक वर्ष कुल घार संख्याको १५ प्रतिशत घार भालुले खाइदिने गरेको मौरीपालन सहकारीको तथ्यांकमा छ। ‘जब मान्छेहरू निदाउँछन्। उतिबेला घार खान भालु आइदिन्छ’, सचिव चौलागाइँले भने।
किसानहरूले भालु धपाउने उपाय दिन सरकारसँग माग गरेका छन्। भालु र रोगले मौरी मासिन थालेपछि किसानहरूले मौरीको दररेट तोक्न कृषि विकास कार्यालयमा पुगे। किनकि सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बिमा गर्ने व्यवस्था गरेको छ। अन्य जिल्लामा मौरी बिमाको सेवा किसानहरूले लिइरहेका छन्।
मौरीपालन किसान समेत रहेका चौलागाईंले भने, ‘पहिलोपटक मौरीको बिमा गर्न भन्दै शिखर इन्सुरेन्समा गयौँ। कम्पनीले मौरीको दररेट खोज्यो। हामीसँग दररेट नभएकाले खाली हात फर्कियौं। ’गत असार महिना मौरीको मूल्यसहितको दररेट तोकिदिन कृषि विकास कार्यालयलाई निवेदन दिइएको भए पनि वास्ता नगरेको किसानहरूको गुनासो छ। दररेट भएको भए बिमा गथ्यौँ। भालु र रोगले मासिँदा बिमाले क्षति क्लेम गर्थ्यो होला। तर, दररेट नै नतोक्दा मौरी पालेर जीवन निर्वाह गर्छु भन्नेहरू पनि निरुत्साहित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
प्रकाशित: ४ आश्विन २०८१ १२:०१ शुक्रबार