१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रदेश १: सरकार गठनमा जसपा निर्णायक

प्रदेश १ मा सरकार गठनका लागि जसपा निर्णायक शक्तिका रूपमा देखा परेको छ। प्रदेश १ मा जसपाले समानुपातिकमा १ सिट मात्रै पाए पनि सरकार निर्माणका लागि निर्णायक शक्तिका रूपमा देखिएको छ।

प्रदेशमा सत्तारुढ गठबन्धनको ४६ सिट र एमाले गठबन्धनको पनि ४६ सिट रहेको छ। ९३ सदस्यीय प्रदेश सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्दछ। सत्तारुढ गठबन्धन र एमाले गठबन्धन दुवै तर्फ ४६ सांसद पुग्ने अवस्था देखिएका कारण प्रदेश १ मा कसको सरकार बन्ने भन्ने बारे जसपाको निर्णयले तय गर्ने निश्चित छ।

प्रदेश १ मा सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट प्राप्त गरेको छ। समानुपातिकमा १२ सिट पाउने देखिएको छ। यस्तै नेकपा माओवादीले प्रत्यक्षमा ९, समानुपातिकमा ४ र नेकपा एसले प्रत्यक्षमा ३ पाइसकेको छ भने समानुपातिकमा १ सिट पाउने देखिएको छ।

सत्तारुढ गठबन्धनको कुल ४६ सिट हुने देखिएको छ। यस्तै नेकपा एमाले गठबन्धनमा नेकपा एमालेले प्रत्यक्षमा २५, समानुपातिकमा १५ गरी ४० सिट र राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ सिट पाउने देखिएको छ।

एमाले गठबन्धनको पनि ४६ सिट नै पुगेको छ। प्रत्यक्षमा जित्न नसकेको जसपाले समानुपातिकमा १ सिट जितेको छ। तर, समानुपातिकबाट एक सिट जितेको जसपा नै प्रदेश सरकार गठनका लागि निर्णायक बनेको छ।

नेकपा एमाले गठबन्धनमा आबद्ध भएर निर्वाचनमा सहभागी भएको जसपाले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेसँगै प्रदेश १ को सरकार निर्माणको समीकरण बदलिने अवस्था देखिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा पत्रकारहरूसँग एमालेसँगको सहकार्य सकिएको घोषणा गरेपछि आफ्नो नेतृत्वमा सरकार गठन हुनेमा ढुक्क रहेको एमाले सशङ्कित भएको छ। निर्वाचनको परिणामले प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको वेला जसपाले सरकारका लागि विकल्प खुला गरेपछि प्रदेश १ मा सरकार बनाउन दुवै गठबन्धनले जसपालाई फकाउन थालेका छन्। यद्यपि जसपाले कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय भने गरिसकेको छैन।

प्रकाशित: १९ मंसिर २०७९ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App