coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डे विजयी

बाजुराबाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५४३७ मतान्तरले पराजित गर्दै विजयी मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। पाण्डेले ३१७८६ मत प्राप्त गर्दा थापाले २६३४९ मत ल्याएका छन्।

बुथ कब्जा र बुथमा भएको विवादमा दुई जना युवा गुमाउनु परेको विषयलाई लिएर केही दिन रोकिएको मतगणना निर्वाचन आयोगले गणनाका लागि निर्देशन दिएपनि ढिलो गरि सुरु भएको थियो। नेकपा एमालेले १६ र नेपाली काँग्रेसले ८ स्थानमा बुथ कब्जा गरेको आरोप सहित पुन मतदानको मागकाे उजुरी दिएका थिए।  

नौ वटै पालिका मध्ये गृह पालिका हिमाली, त्रिवेणी, खप्तड छेडेदह र स्वामिकात्र्तिक आपर गाउँपालिकाबाट फराकिलो अन्तरले पाण्डे सहित गठबन्धनका उम्मेदवारलाई मत आएको छ। यो पटक बाजुरामा हेविभेट प्रतिस्पर्धा थियो।  

पाण्डे नेपाली काँग्रेसका सहमहामन्त्री हुन् भने थापा नेकपा एमाले स्थायी कमिटी सदस्य हुन्। पार्टी राजनीतिमा दुवै जना शिर्ष तहका नेता हुन्। यो चुनावलाई रोचक र कडा प्रतिस्पर्धाका रुपमा हेरिएको थियो। गठबन्धनको बलियो सहकार्य र बुथहरुमा बलियो प्रभाव राखेर काँग्रेसका उम्मेदवार पाण्डे विजयी भएका छन्।

थापाले योसँगै संसदीय चुनावमा तेस्रो हार बेहोरेका छन्। २०५६, २०६४ र २०७९ मा हार बेहोरेका थापाले २०७० को चुनावमा भने जित हात पारेका थिए। थापा पहिलो पटक संसदमा छिर्दा नै मन्त्री हुने अवसर समेत पाएका थिए। पाण्डेलाई पनि बाजुराले मन्त्री भएको हेर्ने पर्खाइ गरेको छ।

नेपाली काँग्रेस र नेकपा एमालेले बाजुराका सबै संसदीय चुनावमा बराबरी जित निकालेका छन्। २०४८, २०५६, २०६४ र २०७९ मा नेपाली काँग्रेसले जितेको छ। भने २०५१, २०७० र २०७४ मा नेकपा एमालेले जितेको छ। स्थानीय तह निर्वाचन २०७४ मा ६ पालिका सहीत समन्वय काँग्रेसको पक्षमा हुँदा नेकपा एमाले वाम गठबन्धनले चुनाव जितेको थियो। भने २०७९ मा ६ पालिका र समन्वय एमालेको पक्षमा हुँदा लोकतान्त्रीक वाम गठबन्धनले चुनाव जितेको छ।  

बहुदल प्राप्तीका लागि विद्यार्थी राजनीतिबाट योगदान पुर्‍याएका पाण्डेले नेविसंघमा लामो समय राजनीति गरेका थिए। बालमिकी क्याम्पसबाट राजनीति गरेका पाण्डेले काँग्रेसको महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए। प्रष्टवक्ता र प्रभावी व्यक्तित्वका कारण काँग्रेसको राजनीतिमा स्थापित पाण्डे पार्टी राजनीतिमा बलियो प्रभाव राख्ने नेताको रुपमा हेरिएको छ।

बाजुरामा प्रतिनिधी सभा तर्फ ५ जनाले उम्मेदवारी दिएका थिए। जस्मा राप्रपाका जंगकुमार गिरीले २०७, जन समाजवादी पार्टी रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन्।  

यता प्रदेश निर्वाचन क्षेत्र (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।  

शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन्। भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत ल्याएका छन्। समाजवादीका केन्द्रीय सदस्य रहेका शाहीले गठबन्धनमा विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका थिए।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) मा नेपाली काँग्रेसका पदम बहादुर शाही विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई २५९८ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्।  

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन्। भने थापाले १७५२१ मत ल्याएका छन्। प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन्।  

बाजुरामा कुल मतदाता ८३५६७ मध्ये प्रतिनिधी सभा तर्फ ६०१५२ मत खसेको थियो। भने प्रदेश(क) मा २०९९४ र प्रदेश (ख) मा ३९१५८ मत खसेको थियो।

प्रकाशित: १८ मंसिर २०७९ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App