१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

समानुपातिकबाट ३३% पुर्‍याउनुपर्ने बाध्यता

प्रदेशसभा सदस्यमा १३ महिलाले प्रत्यक्षबाट चुनाव जितेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन्। देशभर ७ वटा प्रदेशका ३३० वटा निर्वाचन क्षेत्रबाट चुनाव जित्ने महिलाको संख्या नगण्य छ। प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा प्रत्यक्षतर्फबाट महिलाले कम सिट जितेपछि समानुपातिकबाट ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यतामा दलहरू पुगेका छन्।

 

  

गण्डकी प्रदेशको स्याङ्जा, वाग्मतीको दोलखा र सुदूरपश्चिमको बाजुराको चुनावी परिणाम आउने क्रममा छ। घोषित निर्वाचन परिणामअनुसार प्रदेशसभातर्फ प्रदेश १ बाट २ जना, मधेसबाट ३, वाग्मतीबाट ५, गण्डकीबाट २ गरी १३ जना महिलाले प्रत्यक्ष चुनाव जितेका छन्। प्रदेशसभा सदस्यका लागि ३ हजार २ सय २४ जना उम्मेदवार थिए। जसमा २ सय ८० महिला, २ हजार ९ सय ४३ पुरुष र १ जना अन्यबाट थिए।  

प्रदेश १  

प्रदेश १ मा प्रदेशसभा सदस्यका ५६ निर्वाचन क्षेत्र छन्। प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ५ सय १० जना उम्मेदवार थिए। जसमध्ये ५२ महिला उम्मेदवार भएकोमा दुईजनाले मात्रै चुनाव जिते। इलाम निर्वाचन क्षेत्र १ (क) बाट नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट खिनु लङ्वा लिम्बू १३ हजार ३७१ मत प्राप्त गरी विजयी भइन्। त्यसैगरी झापा निर्वाचन क्षेत्र १ (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईं १३ हजार ६१२ मत प्राप्त गरी निर्वाचित भइन्।  

मधेस प्रदेश

मधेस प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि १ हजार ७ उम्मेदवारमध्ये ७४ महिला थिए। तीमध्ये महोत्तरी १ (क) बाट एमालेकी शारदादेवी थापाले चुनाव जितिन्। उनले ८ हजार ३०४ मत पाइन्। महोत्तरी ३ (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीले ६ हजार ४१४ मतसहित चुनाव जितिन्। महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेवार सुरिताकुमारी साह ८ हजार ५६८ मत प्राप्त गरी विजयी भन्।  

वाग्मती प्रदेश

वाग्मती प्रदेशबाट प्रदेशसभा सदस्यका लागि ६ सय ६८ जना उम्मेदवार थिए। तीमध्ये ८० महिला उम्मेदवार रहेकोमा पाँचजनाले चुनाव जिते। काठमाडौं १० (ख) बाट नेकपा एसकी रमा आले मगरले ८ हजार ११८ मतसहित चुनाव जितिन्।  

काठमाडौं ६ (क) बाट कांग्रेसकी हरिप्रभा खड्गी ४ हजार ३६१ मत पाएर विजयी भइन्। सिन्धुपाल्चोक १ (क) बाट कांग्रेसकी मसिना खड्काले १४ हजार ६६७ मत प्राप्त गरी जितेकी छिन्। त्यसैगरी नुवाकोट १ (क) बाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङ १६ हजार १६९ मतसहित विजयी भइन्। मकवानपुर २ (क) बाट कुमारी मोक्तान १९ हजार ९०६ मत प्राप्त गरी निर्वाचित भइन्।

गण्डकी प्रदेश  

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यका लागि २ सय ३५ जना उम्मेदवार थिए। जसमध्ये २९ जना महिला उम्मेदवार रहेकोमा २ जना मात्र निर्वाचित भए। स्याङजा १ (क) बाट एमालेकी सीताकुमारी सुन्दास १४ हजार ६९० मत ल्याएर विजयी भइन्। नवलपरासी (वर्दघाट सुुस्तापूर्व) २ (क) बाट पदमा जिसी १९ हजार ३९६ मतसहित निर्वाचित भइन्।  

लुम्बिनीमा प्रदेश

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य निर्वाचनमा ४ सय ९५ उम्मेदवारमध्ये २९ जना महिला थिए। लुम्बिनी प्रदेशसभा सदस्यमा एक महिला मात्र निर्वाचित भइन्। बाँके १ (१) बाट माओवादी केन्द्रकी कृष्णा केसी ९ हजार १०३ मतसहित विजयी भइन्।  

कर्णाली र सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशमा प्रदेशसभाका लागि २ सय ३५ उम्मेदवार थिए। त्यसमध्यये २९ जना महिला थिए। बिडम्वना ! कर्णाली प्रदेशसभामा प्रत्यक्षबाट कुनै पनि महिला निर्वाचित भएनन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षक्ष्तर्फ १ सय ९३ जना उम्मेदवार थिए। जसमध्ये १३ जना महिला उम्मेदवार भएकोमा कसैले पनि चुनाव जितेनन्।  

प्रदेशमा कुन दलले कति जिते ?

प्रदेशतर्फ १३ वटा दलसहित स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। घोषित परिणामअनुसार प्रदेशतर्फ सबैभन्दा बढी नेपाली कांग्रेसले १०७ सिटमा चुनाव जितेको छ। उसले प्रदेश १ मा १७, मधेसमा १२, वाग्मतीमा २४, गण्डकीमा १६, लुम्बिनी १७, कर्णालीमा ९, सुदूरपश्चिम प्रदेशमा ११ क्षेत्रमा चुनाव जितेको छ।  

त्यस्तै प्रदेशतर्फ एमालेले प्रदेश १ मा २५, मधेसमा १५, वाग्मतीमा १२, गण्डकीमा १२, लुम्बिनीमा १८, कर्णालीमा ५, सुदूरपश्चिममा ३ गरी ९० सिटमा चुनाव जितेको छ। माओवादी केन्द्रले प्रदेश १ मा ९, मधेसमा ४, वाग्मतीमा १४, गण्डकीमा ४, लुम्बिनीमा ५, कर्णालीमा ९, सुुदूरपश्चिम प्रदेशमा ८ गरी ५३ क्षेत्रमा चुनाव जितेको छ।

यसैगरी प्रदेशतर्फ नेकपा एसले प्रदेश १ मा ३, मधेसमा ४, वाग्मतीमा ५, गण्डकीमा १, सुदूरपश्चिममा २ गरी १५ क्षेत्रमा चुनाव जितेको छ। राप्रपाले प्रदेश १ मा २, वाग्मतीमा ७, लुम्बिनीमा २ गरी ११ क्षेत्रमा प्रदेश सदस्य चुनाव जितेको छ। जनता समाजवादी पार्टीले मधेसमा ९, लुम्बिनीमा २ गरी १० सिटमा चुनाव जितेको छ। जनमत पार्टीले मधेसमा ६, लुम्बिनीमा १ गरी ७ वटा क्षेत्रमा चुनाव जितेको छ।  

प्रतिनिधिसभा सदस्यमा ९ जना महिला

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा एमालेबाट विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी साह र भगवती चौधरीले जितेका छन्। महिला उम्मेदवार रहेको स्याङजा २ को मतगणना जारी छ। त्यस्तै प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेसबाट सीता गुरुङ, नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र डा.तोसीमा कार्की तथा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ निर्वाचित भएका छन्।

प्रकाशित: १६ मंसिर २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App