१६ चैत्र २०८० शुक्रबार
राजनीति

सुनसरी-४ बाट फेरि सञ्चार मन्त्री कार्की विजयी

सञ्चार, सूचना र प्रविधि मन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्।  

एमाले–जसपाको गठबन्धनबाट एमालेका जगदीस कुसियतलाई हराएर कार्की दोस्रोपटक प्रत्यक्ष चुनाव लडेर निर्वाचित भएका हुन्। कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियतले ३० हजार ३७१ मत ल्याए। कार्की यसअघि यहि क्षेत्रबाट ४ बाटै निर्वाचित भएका थिए।  

यसपटक क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसमा १२ जना स्वतन्त्र र १३ जना राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा थिए। मतगणनाको शुरुवातका दुई दिन (मंसिर ५ र ६ गते) कार्कीले अग्रता लिए। त्यसपछिका तीन दिन लगातार एमालेका कुसियतले अग्रतालाई स्थिर राखे। त्यसपछि मंसिर १० गते मत गणनामा नेपाली काँग्रेसले धाँधलीको आशंका गरेपछि  मतगणना स्थगित हुन पुग्यो। मतगणना रोकिँदासम्म कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेका थिए भने कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका थिए।  

सर्वदलीय बैठक राख्दा पनि निर्णय जुटन नसकेपछि कार्कीले निर्वाचन आयोगमा उजुरी दिए। निर्वाचन आयोगले सोमबार साँझ मतगणना जारी राख्न निर्णय गरेपछि भने मंगलबार बिहान सर्वदलीय बैठक बसेर दिउँसो चार बजेदेखि गणना सुरु भएको हो। मंगलबारदेखि गणना पुनः सुचारु हुँदा सुरुवातमा कार्कीले अग्रता लिएपनि बीच–बीचमा कुसियतले पनि अग्रता लिने गर्थे। जसले गर्दा कसले जित्छ रु भनेर अडकलबाजी लगाउन गाह्रो परेका बेला अन्तिम समयमा आएर कार्कीको जित सम्भव भएको हो।  

काँग्रेस नेतृत्वको सरकार बनेका बेला पटकैपिच्छे मन्त्री बनेका र प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा कार्की चिनिन्छन्।  

२०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसका कार्की भोजपुरबाट झिनो मतान्तरले हारेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसे। २०७४ सालको निर्वाचनमा भने छ हजार ५९७ मत अन्तरले एमालेका रमेश श्रेष्ठलाई हराएर कार्की विजयी भएका थिए। कार्कीले ३२ हजार ३४७ मत ल्याउँदा श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए।  

कार्कीसँग पराजित एमालेका कुसियत सुनसरी जिल्ला इन्चार्ज हुन्। उनले दिंवगत नेता गिरीजाप्रसाद कोइरालासँग चुनावी प्रतिस्पर्धा गर्दा २०५१ मा झिनो मतले हारेका थिए। उनी २०५३ सालको उपनिर्वाचनमा विजयी भएका थिए। कुसियत २०७४ सालमा क्षेत्र नम्बर ४ ‘क’ बाट विजयी भएर एमाले नेतृत्वको प्रदेश नं। १ सरकार हुँदा वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री समेत भएका थिए।

सुनसरी ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा यस क्षेत्रमा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ५ मा परेका बेला जितेका थिए। ०५३ सालको उप निर्वाचनमा भने एमालेका कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन्।  

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। २०७४ सालको निर्वाचनमा भने छ हजार ५९७ मत अन्तरले एमालेका रमेश श्रेष्ठलाई हराएर काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए।  

प्रदेशतर्फ ४ ‘क’ मा नेपाली काँग्रेसकै षडानन्द मण्डल विजयी भएका छन्। मण्डल एमाले–जसपाबाट गठबन्धन गरेर उम्मेदवार बनेका जसपाका पर्शुराम बस्नेतलाई हराएर विजयी भएका हुन्।  

४ (क) मा  १३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। २०७४ सालमा क्षेत्र नं. ४ ‘क’ बाट एमालेका जगदीस कुसियतले १६ हजार ६९० मत ल्याएर विजयी भएका थिए।  

क्षेत्र नं. ४ (ख) बाट हाजी डाक्टर इसरायल मन्सुरी विजयी भइ सकेका छन्। उनले १४ हजार ३५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्दन्दी एमालेका अब्बास अन्सारीले १२ हजार २१२ मत प्राप्त गरे। २०७४ सालमा क्षेत्र नं. ४ (ख) बाट नेपाली काँग्रेसका ताहिर मियाँले ११ हजार ८२५ मत ल्याएर विजयी भएका थिए।  

सुनसरीका ६ प्रतिनिधि सभा र ८ प्रदेशसभामध्ये काँग्रेसले एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा जितेको हो। दुईवटा प्रतिनिधि सभा एमालेले जितिसकेको छ। एउटा प्रतिनिधि सभामा एमाले–जसपाको तालमेलमा जसपाका उम्मेदवार विजयी भएका छन्। यस्तै, छवटा प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भइसकेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App