१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेरि दाहाल सुटुक्क सुकुटेमा

तस्बिर: श्रीधर न्यौपाने

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि तनावमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘रिफ्रेस’ हुन सुकुटे आइपुगेका छन्।  

परिवारका सदस्यसहित बुधबार अपराह्न सुकुटे आइपुगेका उनले सुनकोसी नदीमा ¥याफ्टिङ गरे। पूर्वसभामुख अग्निप्रसाद सापकोटासँगै आएका अध्यक्ष दाहाललाई भर्खरै सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोध, प्रदेश सभा सदस्यमा निर्वाचित सरल सहयात्री पौडेल लगायतले स्वागत गरेका थिए।  

पूर्वसभामुख सापकोटा, छोरीद्धय रेणु र गंगा तथा नवनिर्वाचित सांसद सुबोध र पौडेलसहित एउटै बोटमा बसेर दाहालले सुनकोसीमा र्‍याफ्टिङ गरे। दाहालसहितको टोली सुकुटेस्थित इक्वेडर विच रिसोर्टमा बास बसेको छ। मुलुकको होस् या पार्टीको आन्तरिक राजनीति पेचिलो बन्दा अध्यक्ष दाहाल सुटुक्क राजधानी छोडिदिन्छन्। यस्तो बेला उनको गन्तव्य राजधानी नजिकको सुकुटे हुने गरेको छ। पार्टीको आन्तरिक दस्तावेज लेख्नु पर्दा पनि उनको रोजाइ शान्त बातावरणको सुकुटे नै बन्ने गरेको छ।  

पाँच दलीय गठबन्ध बनाएर चुनावमा होमिए पनि माओवादीले अपेक्षित जित निकाल्न सकेन। दाहाल भने गोरखा २ बाट भारी मतान्तरले निर्वाचित भएका छन्। मतगणना अन्तिम चरणमा पुग्दा उनी पार्टीको नतिजाबाट सन्तुष्ट छैनन्। खस्कँदो नतिजाले दाहालमा तनाव बढाउनु स्वभाविकै हो। भलै उनले सार्वजनिक रुपमा असन्तुष्टि पोखिसकेका छैनन्।

दाहाल पत्नि सीता लामो समयदेखि बिरामी छिन्। चुनावको मुखमा सीतालाई अस्पताल नै भर्ना गर्नु पर्‍यो। ‘अध्यक्षज्यूलाई राजनीतिक र पारिवारीक तनाव भएको सबैले बुझेकै कुरा हो,’ दाहाललाई नजिकबाट चिनेका एक जिल्ला नेताले भने, ‘तनावको बेलामा उहाँलाई एकान्त मन पर्छ।’

दाहालले पत्नि सीतासँग धेरै पटक सुनकोसीमा र्‍याफ्टिङ गरेका छन्। अन्तिम पटक तीन वर्षअघि भएको सुकुटे महोत्सवमा दुबैले एकसाथ र्‍याफ्टिङ गरेका थिए। तीन वर्षपछि पहिलो पटक दाहालले पूर्वसभामुख सापकोटासँग भने ¥याफ्टिङ गर्न पाए। सापकोटा सभामुख भएपछि दुबैले सँगै र्‍याफ्टिङ गर्न पाएका थिएनन्। सिन्धुपाल्चोक गृहजिल्लाका सापकोटा दाहालका विश्वासपात्र हुन्।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल वर्षको कम्तिमा एक पटक सुकेट आइपुग्छन्। सुकुटे यात्राको क्रममा उनी ¥याफ्टिङ बोट लिएर सुनकोसीको छालमा हेलिन रुचाउँछन्। रिसोर्टभित्र टेबल टेनिस खेल्दै रमाउँछन्। सुकुटे जमघटलाई पारिवारीक माहोलमा परिणत गरेर उनी केही समय तनावबाट उन्मूक्त भइदिन्छन्।  

शान्ति प्रक्रियामा आएपछि प्रारम्भिक समयको एउटा पार्टी स्थायी समिति बैठक नै सुकुेटेमा राखेका थिए दाहालले। त्यतिबेला मोहन बैद्य र बाबुराम भट्टराई माओवादीमै थिए। यही बैठकपछि गुल्जार सुकुटेको परिचय बनेको हो।  

माओवादी अध्यक्ष दाहाल रुचीका साथ पटक–पटक सुकुटे आएकै कारण सिन्धुपाल्चोकको अरनिको राजमार्गमा पर्ने सुकुटे क्षेत्र ठूलो पर्यटकीय गन्तव्य बन्न पुगको छ। उनको पहिलो आगमन (२०६४) यता यहाँ ठूला साना गरी तीन दर्जन हाराहारीमा खुलेका होटल र रिसोर्टले पर्यटकलाई सेवा दिँदै आएका छन्। यहाँका व्यवसायीले दाहाललाई यस क्षेत्रको पर्यटन प्रवद्र्धनको सदुभाव दूत मान्छन्।  

‘म तनावको बेलामा एकान्त रुचाउँछु। रिफ्रेस चाहन्छु। त्यस्तो बेला मेरो रोजाइमा सुकुटे नै पर्छ,’ दाहालले सुकुटे साइनोबारे बारम्बार बताउने गरेका छन्।  

प्रकाशित: १४ मंसिर २०७९ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App