२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष काँग्रेसको आग्रह

नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना शुरु गर्न आग्रह गरेका हुन्। त्यस्तै बाजुराको पनि मत गणना गर्न आग्रह गरिएको छ। काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।  

प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य शुरु गर्न आग्रह गरिएको बताए। उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए। निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए। ‘स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ। त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरुको भोट खसेको छ’ उनले भने, ‘अर्कोकुरा त्यसलाई विधिवत रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरुले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन।’

स्याङ्जा २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका काँग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए।

प्रकाशित: १३ मंसिर २०७९ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App