१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेसमा प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी

नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन्।  

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका हुन्। दाहाल र नेपालसँग छलफल गरेका देउवाले अहिलेको गठबन्धनलाई निरन्तरता दिने समझदारी गर्दै अन्य दललाई पनि समेटेर मुलुकको आर्थिक विकास र समृद्धिको पक्षमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ। तीन दलका शीर्ष नेताहरूले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल आंशिक रूपमा सफल भएको निष्कर्ष पनि निकालेको निकट सहयोगीहरूको दाबी छ। निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै संघ र प्रदेशको सरकार गठनका साथै अन्य विषयमा पनि छलफल गर्दै समझदारीमै अघि बढ्नेमा नेताहरू एकमत रहेको स्रोतको दाबी छ।  

अहिलेककै गठबन्धनको निरन्तरतासहित सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने र उनी नै कांग्रेस संसदीय दलको नेता चयन हुने प्रबल सम्भावना रहेको आकलन गरिएको छ। तर कांग्रेस नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले मात्र होइन, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचनअघि नै आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन्। नेता पौडेल र सिंहले नयाँ सरकार गठनसहितका विषयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका साथै एमाले अध्यक्ष केपी ओलीसँग भेटेका छन्। तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पौडेलले मुलुकका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताउँदै आएका छन्। सोमबार नेकपा एसका अध्यक्ष नेपालसँगको भेटमा नयाँ सरकारको नेतृत्वमा आफूलाई समर्थन गर्न आग्रह गरेको स्रोतको दाबी छ। उनले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका छन्। त्यस्तै काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिंहले आफूले ‘ग्रास रुटदेखि नम्बर टुसम्म भएर काम गरिसकेको’ भन्दै आफूलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्। पार्टी सभापति देउवाको समेत विश्वास जितेर नेतृत्व लिने पक्षमा रहेका सिंहले आइतबार एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन्। नवलपुर पूर्व १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्वमहामन्त्री शशांक कोइरालाले अबको प्रधानमन्त्री आफू भएको दाबी गरेका छन्। पार्टीका शीर्षलाई अवसर दिन र पछिल्ला पुस्ताका नेतालाई हतार नगर्न उनले आग्रह गर्दै आएका छन्।  

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सार्वजनिक रूपमै प्रधानमन्त्रीको दाबी त गरेका छैनन् तर देउवापछि पार्टी र सरकारको नेतृत्व आफूले गर्ने भनेर निकटहरूलाई बताउँदै आएका छन्। देउवाको उत्तराधिकारीका रूपमा खड्काले आफूलाई प्रस्तुत गर्दै आएका छन्। खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।  

उता पार्टीको १४औं महाधिवेशनमा सभापति देउवाविरुद्ध आमनेसामने भएका नेता शेखर कोइराला पनि पार्टीमा ‘पावर’ सेयरिङको पक्षमा छन्। देउवालाई पार्टी सञ्चालनको जिम्मेवारी दिने र आफूले सरकार सञ्चालन गर्ने रणनीतिका साथ उनी अघि बढ्ने पक्षमा रहेको निकटहरूको दाबी छ।

पार्टीभित्र समझदारी निर्माण हुने अवस्था नभए महाधिवेशनमा जस्तै संसदीय दलको नेतामा पनि संस्थापन इतरको नेतृत्व गर्दै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने शेखरको तयारी देखिन्छ। यद्यपि निर्वाचन परिणाम आफ्नो पक्षमा पारेपछि पनि शेखर अहिले पनि आफ्नै क्षेत्रको कार्यक्रममा सक्रिय छन्।  

शेखरकै समूहबाट महामन्त्रीमा निर्वाचित थापाले पनि आफूलाई प्रधानमन्त्री र संसदीय दलका रूपमा प्रस्तुत गर्दै आएका छन्। अबको १० वर्ष मात्र सक्रिय राजनीतिमा रहने बताउँदै आएका थापाले बाँकी समय देश, जनता र पार्टी हितमा काम गर्ने बताउँदै आएका छन्। थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका थापा र शेखर कोइराला सहमति गरेर अघि बढ्छन् कि संस्थापन इतरका नेताहरू १४औं महाधिवेशनमा जस्तै संसदीय दलका नेताको निर्वाचनमा पनि विभाजित हुन्छन् भनेर अनेक आशंका व्यक्त गर्न थालिएको छ। 

प्रकाशित: १३ मंसिर २०७९ ००:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App