७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण

सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम चौतारामा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई प्रमाणपत्र वितरण गरेको हो। कानुनी व्यवस्थाअनुसार समानुपातिकतर्फको समेत मतगणना सकिएपछि निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिएको अधिकृतको कार्यालयले जनाएको छ।  

प्रमाणपत्र वितरण कार्यक्रममा कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु माधव सापकोटा, मोहनबहादुर बस्नेत तथा प्रदेशसभा सदस्यहरु मसिना खड्का, सरलसहयात्री पौडेल, युवराज दुलाल (शरद्) र कृष्णकुमार तामाङ (समिर) सहभागी थिए। क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदी र २ बाट निर्वाचित सांसदहरुलाई मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले प्रमाणपत्र वितरण गरेका थिए।  

मंसिर ४ गते सम्पन्न आमनिर्वाचन प्रत्यक्षतर्फको मतगणना शुक्रबार सकिए पनि समानतुपातिक तर्फको मतगणना भने शनिबार अबेर मात्र सम्पन्न भएको थियो।  

माओवादीका सापकोटा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनले एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले पराजित गरेका थिए। सापकोटाले ३० हजार ३ सय ७४  र उनका निकटतम् प्रतिस्पर्धी नेपालले २७ हजार २० मत पाए।

१ को (क) प्रदेश सदस्य निर्वाचित कांग्रेसकी खड्काले एमालेका युद्धविक्रम तामाङलाई पराजित गरिन्। खड्काले १४ हजार ६ सय ५२ मत पाउँदा तामाङले १३ हजार ४ सय ९० मत मात्रै ल्याए। (ख) प्रदेशबाट निर्वाचित माओवादीका पौडेलले एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई पराजित गरे। पौडेलले १७ हजार २ सय ५६ मत ल्याए। उनका निकतटम प्रतिस्पर्धी श्रेष्ठले १३ हजार १३ मत मात्र पाए।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेसका बस्नेतले एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बस्नेतले ३९ हजार ३ सय ६७ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी तामाङले २७ हजार ४ सय ९३ मत मात्र पाए। बस्नेतले तामाङलाई ११ हजार ८ सय ७४ मतान्तरले पराजित गरे।  

२ को (क) बाट प्रदेशसभा सदस्य चुनिएका माओवादीका दुलालले एमाले उम्मेदवार अमानसिं तामाङलाई पराजित गरे। लगातार दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित दुलालले २० हजार २ सय ६ मत ल्याए। तामाङले १२ हजार १ सय ३९ मत मात्र पाए। दुलालले निकटतम प्रतिस्पर्धीको भन्दा ८ हजार ८ सय ३३ मत बढी ल्याए। (ख) प्रदेशबाछ सदस्य निर्वाचित कांग्रेसका तामाङले एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले हराएका थिए। २९ वर्षीय तामाङले १७ हजार ७ सय ५८ मत ल्याए। पण्डितले १६ हजार २ सय ५३ मत मात्र पाएका थिए।  

प्रकाशित: ११ मंसिर २०७९ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App