९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानले आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार ४७२ रुपैयाँ भएको उल्लेख गरेका छन्। तर, यसमा पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब नगरिएको उनले खुलाएका छन्। उनी चितवन क्षेत्र नम्बर २ बाट उठेर प्रतिनिधि सभा सदस्य पदमा भारी मतान्तरले निर्वाचित भएका थिए।  

उनले औपचारिक रुपमा शपथग्रहणको वा त्यस अगावै आफ्नो चुनावी खर्च पूर्ण वितरण गर्ने बताएका छन्। उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।’  

निर्वाचन आयोगले २५ लाखदेखि ३३ लाख रुपैयाँ सम्म चुनावी खर्च गर्नका लागि उम्मेद्वारलाई अनुमति दिएको थियो। उनीले त्यो भन्दा आधा कम खर्च गरेको बताएका छन्। यद्यपि निर्वाचन कार्यालयमा उनले  खर्च विवरण बुझाइसकेका  छैनन्।  

उनले आफ्नो कार्यकालमा कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन्। उनले आफुले बाचा समयमै पुरा गर्ने बताएका छन्। ‘सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु। तर  ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण  भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य  पठाउने छु’, उनले फेसबुकमा लेखेका छन् ‘पहिले नै बाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन।’ उनले भोज, भतेर, पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन नसकेमा जनतासंग पहिले नै माफि मागेका छन्।  

मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका प्रवक्ता तथा सूचना अधिकारीलाई दिइएको  उल्लेख गरेका छन्। प्रत्येक ४÷४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन घोषणा गरेका छन्। १० बुँदे लेखिएको शुभकामनामा उनले कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको  सेवा सित्तैमा नलिने बताएका छन्।  

‘अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार, मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला’, उनले लेखेका छन्।

प्रकाशित: १० मंसिर २०७९ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App