२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

फेरिँदै संसद् र सत्ताका ‘खेलाडी’

मंसिर ४ मा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनले पुराना राजनीतिक दललाई खुम्च्याउँदै र डेढ दशकअघि उदाएका राजनीतिक दललाई विस्थापित गर्दै सत्ता र संसदीय राजनीतिमा नयाँ दल र ‘खेलाडी’ प्रवेश गराउने देखिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का साथै नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) नयाँ गठन हुने संसद् र सत्ता राजनीतिमा निर्णायक हुने देखिएको छ।

निर्वाचनले २०६४ सालमा भएको मधेस आन्दोलनको जगमा उदाएका दललाई करिबकरिब विस्थापित गरिदिएको छ। शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पछिल्लो डेढ दशकमा सत्ता र संसदीय राजनीतिमा सधैं महत्त्वपूर्ण भूमिकामा रहन पुगेको थियो। तर निर्वाचन परिणामले माओवादीलाई उक्त भूमिकाबाट पछाडि पारिदिएको छ। तीन दर्जनभन्दा कम सिटमा खुम्चने अवस्थामा रहेको माओवादीलाई मात्र साथ लिँदा कांग्रेस वा एमालेले अब सरकार बनाउने वा भत्काउने अवस्था नआउने भएको छ।

कांग्रेसले प्रतिनिधिसभामा ८० देखि ९० सिट पाउने देखिन्छ। यसै हाराहारीमा एमालेको उपस्थिति हुने देखिन्छ। कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने अवस्थामा बाहेक यी दुई दलले आआफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र दल वा राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलको साथ लिनैपर्ने देखिएको छ। प्रत्यक्षतर्फ १० निर्वाचन क्षेत्रमा जितेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिकतर्फ जारी मतगणनालाई हेर्दा राष्ट्रिय दलको मान्यता पाउने देखिँदैन।

निर्वाचनको सँघारमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात सिट जित्दै समानुपातिकमा पनि तेस्रो स्थानमा देखिएको छ। पछिल्लो मतपरिणामले नयाँ सरकार गठनका लागि पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र मात्र होइन, पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी निर्णायक हुन सक्नेछन्। लामिछाने नेतृत्वको पार्टीलाई निर्वाचनले संसदीय राजनीतिमा नयाँ दलका रूपमा स्थापित गरिदिएको छ।

पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचय बनाएको राप्रपा पनि संसद् र सत्तामा निर्णायक बन्ने देखिएको छ। प्रत्यक्षतर्फ ६ सिट जित सुनिश्चित गरेको राप्रपाले समानुपातिकमा पनि त्यही संख्यामा सिट पाउने देखिएको छ। २०६४ सालको मधेस आन्दोलनपछि  उपेन्द्र यादव (हाल जनता समाजवादी पार्टीका अध्यक्ष) र महन्थ ठाकुर (हाल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष) अपवादबाहेक सत्ता राजनीतिमा निर्णायक बन्दै आएका थिए।

मधेसका मुद्दालाई अघि सार्दै सत्तारोहण गर्दै आएका यी दुई नेताले नेतृत्व गरेका दलले अहिलेसम्म प्रत्यक्षतर्फ मुस्किलले आधा दर्जन क्षेत्रको परिणाम पनि आआफ्नो पक्षमा पार्न सकेका छैनन्। यादव र ठाकुरले नेतृत्व गरेका पार्टी पनि राष्ट्रिय दल हुने सम्भावना कमजोर बन्दै गएको छ। शुक्रबार साँझसम्मको परिणामअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षतर्फ ४ र जनता समाजवादी पार्टीले ३ क्षेत्रको मतपरिणाम आफ्नो पक्षमा पारेका छन्।

सप्तरी २ बाट पराजित उपेन्द्र यादव आगामी पाँच वर्षका लागि सत्ता र संसदीय राजनीतिबाटै बाहिरिएका छन्। सक्रिय राजनीतिको उत्तर्राद्धमा रहेका ठाकुर भने महोत्तरी ३ बाट निर्वाचित भएका छन्। डेढ दशकअघि कांग्रेस परित्याग गरेका ठाकुरले क्षेत्रीय दल स्थापना गरेका हुन्। निर्वाचन परिणामले ठाकुर र यादव नेतृत्व पार्टीको विकल्पमा सिके राउत नेतृत्वको जनमत पार्टीप्रति मधेस प्रदेशमा आकर्षण देखाएको छ। सप्तरी २ बाट राउतले मात्र निर्वाचन परिणाम आफ्नो पक्षमा पारे पनि नयाँ दलका रूपमा संसदीय राजनीतिमा जनमत पार्टीको उदय भएको छ।

पश्चिम तराईमा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा गठित नागरिक उन्मुक्ति पार्टीलाई जनताले अनुमोदन गरेका छन्। बर्दिया र कैलालीमा पकड रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा नयाँ दलका रूपमा उदाएको छ। सरकार गठनका लागि आवश्यक पर्ने १ सय ३८ सिट पु¥याउन प्रमुख राजनीतिक दलले नयाँ तथा साना दललाई मात्र होइन, स्वतन्त्र सांसदलाई पनि साथ र विश्वासमा लिनुपर्ने अवस्था मतपरिणामले देखाएको छ।

जो पछि परे

सम्पन्न निर्वाचन परिणामले २०४६ को राजनीतिक परिवर्तनपछि संसदीय राजनीतिको महत्त्वपूर्ण भूमिकामा रहेका केही नेतालाई पनि विस्थापित गरिदिएको छ। सक्रिय राजनीतिको उत्तराद्र्धमा रहेका प्रमुख दलका प्रभावशाली नेताहरू निर्वाचनमा पराजित भएसँगै संसदीय र सत्ता राजनीतिको यात्रा अप्ठेरोमा पुगेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवका साथै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पराजित भएका छन्।

त्यस्तै, २०४८ पछिका सबै निर्वाचन जित्दै आएका कांग्रेस पूर्वउपसभापति विजयकुमार गच्छदार, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता विरोध खतिवडा, जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठी पनि पराजित भएका छन्। कांग्रेस सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी र भीष्मराज आङ्दम्बे पनि पराजित भएका छन्।

सत्ता र संसदीय राजनीतिमा यी तिनै जना निकै सक्रिय थिए। त्यस्तै नेकपा एसका नेता झलनाथ खनाल पनि पराजित हुने देखिएको छ। एमालेभित्रको पार्टी राजनीतिमा निकै हावी हुँदै आएका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि पराजित भएका छन्। ईश्वर, शंकर र प्रदीप पराजित भएसँगै एमालेभित्र सत्ता राजनीतिमा विष्णु रिमालसहितका नेताहरू हावी हुनसक्ने देखिएको छ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव लेखराज भट्ट, माओवादी महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाल, नेकपा एसका सचिव जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, उपमहासचिव जगन्नाथ खतिवडा पनि पराजित भएका छन्। संसद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन, धवलशमशेर राणा, धु्रवबहादुर प्रधान, विक्रम पाण्डेसहितका नेताको आगमन भएको छ। लोसपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सर्वेन्द्रनाथ शुक्लाको संसदीय राजनीतिमा पुनरागमन भएको छ।

प्रकाशित: १० मंसिर २०७९ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App