७ वैशाख २०८१ शुक्रबार
राजनीति

मतदाताको चाहना ‘अब गगन प्रधानमन्त्री’

गुह्येश्वरीमा बिहीबार घरदैलो कार्यक्रममा काठमाडौं-४ बाट निर्वाचित गगन थापा। तस्बिर: उपेन्द्र/नागरिक

काठमाडौं कुमारीगालका ७४ वर्षीय रामकृष्ण भट्टले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई मतदान गरेको यो तेस्रो पटक हो। आफूले हालेको मतले लगातर कांग्रेसले जिते पनि देशले निरन्तर हारिरहेकोमा उनी चिन्तित छन्। अब देशले नहार्नेमा उनी आशावादी छन्।

‘अब एकपटक देशले जित्नुपर्‍यो,’ उनले भने, ‘अहिलेलाई गगनबाटै हामीलाई त्यो आशा छ।’ निर्वाचन जितेपछि बिहीबार मतदाताको घरदैलोमा पुगेका थापालाई यही आशाका साथ भट्टले आशीर्वादको टीका र माला लगाइदिए। ‘अब एकपटक देशलाई नेतृत्व दिनुपर्‍यो,’ थापाको कानैमा उनले भने, ‘उप (उपप्रधानमन्त्री) ले पनि हुन्न, प्रधानमन्त्री नै बन्नुपर्‍यो।’

भट्ट मात्र होइन, धेरैजसो मतदाताले भावी प्रधानमन्त्रीका रूपमा थापालाई हेर्न चाहेका छन्। ‘यो सांसदको मात्र हैन, भावी प्रधानमन्त्रीको घरदैलो हो,’ गुह्येश्वरीकी विमला चौलागाईंले भनिन्, ‘यही आशाले पनि हामीलाई खुसी बनाएको छ।’ थापाको पक्षमा लगातार दुईपटक मतदान गरेकी उनले जनताको कुरा ध्यान दिएर सुन्ने भएकाले उनी मन परेको बताइन्। ‘उहाँले हाम्रा समस्या ध्यान दिएर सुन्नुहुन्छ,’ उनले थपिन्, ‘यति हुँदा पनि खुसी मिल्दो रहेछ।’

काठमाडौं ४ का मतदाताले मात्र होइन, अरूले पनि थापालाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका छन्। थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायत युवाको विजयले आशाको सञ्चार गरेको मतदाता बताउँछन्।

‘युवाको नेतृत्वमा नयाँ सरकार बने निराशामा बाँचेका जनतालाई थोरै भए पनि खुसी मिल्नेछ,’ वीरगन्ज-३२ का विजय पन्जियारले भने, ‘यस्तो खुसी मिल्नेमा हामी आशावादी छौं।’ निर्वाचनमा युवाको विजयले आशाको सञ्चार गरेको उनले बताए।

पन्जियारले थापाको जितबाट अब केही हुन्छ भन्नेमा धेरै आशावादी रहेको बताए। मतदातासँगको भेटघाटका क्रममा थापाले गुह्येश्वरी मन्दिर पुगेर दर्शन गरे। त्यहाँ पुजारीहरूले गरेको स्वस्ती वाचन र भेटघाटले पनि शुभसंकेत गरेको देखिन्थ्यो। मन्दिर परिसरमा रहेका पर्यटकले समेत थापालाई नियाल्दै उनका बारेमा सोधीखोजी गरेको दृश्य निकै रमाइलो देखिन्थ्यो। ‘उहाँ अहिले सांसद, सम्भवतः भोलिको प्रधानमन्त्री,’ क्यानेडियन पर्यटकलाई सम्झाउँदै गरेका पथप्रदर्शक सुशीलकुमार क्षेत्रीले भने, ‘अहिले धेरैले अब गगन थापा नै प्रधानमन्त्री बनेको हेर्न चाहेका छन्।’

विजयी र्‍यालीमा मतदाताको भावना बुझ्दै हिँडेका थापाले आफू प्रधानमन्त्री बन्नेबारे प्रस्ट केही बोलेनन्। तर ‘अब प्रधानमन्त्री बन्नुपर्‍यो’ भन्ने मतदाताका कुरा सुन्दा उनी मुस्कुराउँथे। नागरिककर्मीको प्रश्नमा थापाले भने, ‘मतदाताको भावना बुझिरहेको छु, अब अगाडि बढ्ने हो।’

प्रकाशित: ९ मंसिर २०७९ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App