४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमका बहालवाला मन्त्रीलाई हराउँदै नागरिक उन्मुक्तिका चौधरीको जित

कैलाली क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र (ख) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी विजयी भएका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका छन्। नेपाली काँग्रेसको केन्द्रिय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार हुन्।  

निर्वाचन कार्यालयका अनुसार चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरेका छन्।  

२०७४ को प्रदेश सभा निर्वाचनमा चौधरी रावलसँग पराजित भएका थिए। सो चुनावमा उनी ८ हजार ८४५ मत सहित तेस्रो स्थानमा थिए भने नेकपा माओवादीका नेपबहादुर चौधरी ८ हजार ९०६ मत सहित दोस्रो स्थानमा थिए। रावलले ९ हजार ४३४ मत ल्याएर विजयी भएका थिए।  

तत्कालिन अवस्थामा चौधरी राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए। उनी यस पटक भने निलम्वित साँसद रेशमलाल चौधरीको संरक्षण रहेको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका हुन्।  

त्यस्तै चुनावी प्रतिस्पर्धामा रहेका नेकपा एमालेका द्वारिका न्यौपानेले ५ हजार ३२० मत र राप्रपाका डम्बरबहादुर थापाले १ हजार ३३८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिइन्। चुनावी प्रतिस्पर्धामा रहेका अन्य सात जना उम्मेदवारले हजार मत पुर्याउन सकेनन्। कुल २९ हजार ६१४ मत खसेकोमा १ हजार ४०९ मत बदर भएको छ।

त्यस्तै कैलाली क्षेत्र नं. १ को प्रदेश निर्वाचन क्षेत्र (क) मा समेत नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले यसअघि नै विजयी भैसकेका छन्। उनी प्रतिद्वन्दी भन्दा ४ हजार ७२४ मतले विजयी भएका हुन्। उनले १५ हजार १०१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओवादीका दीर्घ बिनाडीले १० हजार ३७७ मत पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका भीमबहादुर बमले ४ हजार ६० र जसपाका भगतराम चौधरीले २ हजार २७८ मत पाएका छन्। कुल ३४ हजार ४८५ मत मध्ये १ हजार ११४ मत बदर भएको छ।

प्रकाशित: ८ मंसिर २०७९ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App