वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा भएको आक्रमण प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी दोलखा तामाकोशी गाउँपालिका–१ स्थायी निवासी हुन्।
यही माघ २ गते अदालतको दक्षिण गेटबाहिरको सार्वजनिक सडक खण्डमा ज्रेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा अधिवक्ता त्रिपाठीमाथि भिडभित्र रहेका केही व्यक्तिहरूले हुलहुज्जत गर्दै आक्रमण गर्न खोजेका थिए।
तत्काल प्रहरी परिचालित भई अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको थियो।
ललित कुमार केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको जनाएको छ। थप अनुसन्धानका लागि प्रहरीले उक्त घटनाको विवरण संकलन गरिरहेको छ।
प्रकाशित: ४ माघ २०८१ २०:३५ शुक्रबार