coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी र मूलधारका दलबीच लुकामारी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा मुख्य राजनीतिक दलले सञ्चारमाध्यममा ठूलो रकम खर्चेर विज्ञापन गर्दै आफ्नो दल र उम्मेदवारका लागि मत मागे। घरदैलोमा पनि समूह बनाएर दल र उनीहरूका कार्यकर्ता परिचालित भए। शीर्ष नेता बोलाएर ठूला सहरमा भेला र आमसभा गरे। प्रचार–प्रसारको तामझाम हेर्दा चुनावी परिणाममा ठूला दल मानिएका कांग्रेस, एमाले र माओवादीको मुख्य हिस्सा रहने गरी चर्चा चलाइयो।

तर चुनावपछिको मतगणनाको अहिलेसम्मको अवस्थाले भने ठूला भनिएका दललाई अहिले निकै दबाब आइपरेको छ। निर्वाचनपछिका दुई दिनसम्मको मतगणनाको अवस्थाले मूलधारका दललाई नै माथ खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा सर्वत्र चर्चा छ। पाँच महिनाअघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभर माहोल तताएको छ। कतिसम्म भने चुनावी प्रचारप्रसार पनि उतिसारो नभएको ठाउँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता लिएको छ। त्यसको उदाहरण हो– कास्की।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार उठाएको थियो। कास्की १ मा राजु राई, २ मा माधवप्रसाद कँडेल र ३ मा योगराज पौडेललाई उम्मेदवार बनाएको थियो। तीनमध्ये कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मूलधारका दलभन्दा अगाडि छन्। मतगणनाका क्रममा बेलाबेला मूलधारका दलभन्दा अघिपछि भइरहँदा मतगणनास्थलमा रोमाञ्चकता छाएको छ। मूलधारका दलकै अघिपछि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मत पाएका छन्। अघिपछि पर्दा पनि मतान्तर ज्यादै न्यून हुने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग मतसंख्याको आधार हेर्दा एक किसिमको लुकामारी चलिरहेको छ।

कास्कीबाहेक छिमेकी जिल्ला स्याङजामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारप्रसार केही बढी थियो। अरूतिरको तुलनामा कास्कीमा प्रचारप्रसार कम भए पनि मतदाताले मूलधारका दललाई नपत्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले यो आकारमा मत पाएका पार्टीका गण्डकी प्रदेश सदस्य तथा कास्की २ को निर्वाचन परिचालन समितिका संयोजक विकास भुर्तेलले बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चारमा विज्ञापन गरेको होइन, घरदैलोमा समय दिएको हो, तर सबैतिरको प्रचारप्रसारले साथ दिँदा कास्कीले पनि गति लिन सक्यो’, भूर्तेलले भने, ‘स्याङजामा प्रचारप्रसार गरिएको हो। कास्कीमा घरदैलो मात्र भएको हो। घरदैलोको भरमा पनि यो आकारमा मत आयो।’

उनका अनुसार पार्टीले निर्वाचनका क्रममा सञ्चारमाध्यममा विज्ञापन त गरेन नै; भएका गतिविधिको समाचार पनि सञ्चारमाध्यमले उतिसारो प्रकाशित–प्रसारित गरेका थिएनन्। ‘हामीलाई कसैले पत्याएको थिएन तर मतदाताले पत्याए। त्यही नै ठूलो हो’, उनले भने। भूर्तेलको विश्लेषणमा जनअपेक्षाअनुसार अरू दलले काम गर्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई फाइदा पुगेको हो।

‘जनताले मूलधारका दलको विकल्प चाहेका थिए। मूलधारका दलमा परिवर्तन चाहेका थिएनन् तर ती दलले जनताको परिवर्तनको चाहना बुुझ्ने आँट गरेनन्’, उनले भने, ‘दलको जनमतको कदर नगर्दा यो अवस्था आएको हो।’ मतदाताले उम्मेदवार नै चिन्न नपाएको अवस्थामा पनि यसपटकका लागि विश्वास गरेको उनले बताए। ‘कतिपयलाई त घन्टी चुनाव चिन्हबारे पनि थाहा थिएन’, उनले भने ‘उम्मेदवारको त कुरै छाडौं।’

मतदाता पनि पुरानो ढर्राका चुनावी नारा र घोषणापत्रले दिक्क भएपछि बाध्य भएर विकल्प खोज्दा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीमा मत दिन पुगेको बताउँछन्। ‘खासमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आम मतदाताको अपेक्षा अलि बढी नै भएको हो। मूलधारका दलले जब जनमतको बेवास्ता गरे, मतदातामा निराशा छाउँदा यो अवस्था आएको हो’, पोखराको एउटा निजी विद्यालयमा अध्यापनरत शिक्षक भन्छन्, ‘वर्षाैंदेखिको राजनीतिमा दोहोरिइरहेका मूलधारका दलका नेता र उनीहरूका आश्वासन देखेर मतदाता वाक्क भएका थिए। केही नयाँ होला कि भनेर म आफैं पनि स्वतन्त्र पार्टीलाई मत दिन पुगें।’

ती शिक्षकका विचारमा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले उतिसारो प्रचारप्रसार गरेको थिएन तर सामाजिक सञ्जालमा भने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको चर्चा चुलिएको थियो। त्यसमा पनि घन्टी चुनाव चिन्हले धेरैको मत तानेको उनले बताए। ‘मसँग राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि उम्मेदवार मत माग्न आएका थिएनन्, तर सामाजिक सञ्जालभर प्रचारप्रसार घन्टीको थियो। त्यही भएर मेरो मन पनि बदलिएको हो’, ती शिक्षकले भने, ‘स्थानीय तहको चुुनावदेखि नै मतदाताले मूलधारको राजनीतिमा परिवर्तन र युवा पुुस्ताको खोजी गरिरहेको थियो। त्यही भएर केही परिवर्तन देखिएको हो। यो अरू दलका लागि पनि सिकाइ हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै आफूले मत पाउँदा दंग छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कास्की २ का उम्मेदवार माधवप्रसाद कँडेल भन्छन्, ‘अरू दलको प्रतिस्पर्धामा आउनेमा विश्वस्त थिएँ, त्यहीअनुसार मत पाएका छौं। नयाँ पार्टी हो। कार्यकर्ता यति होला भन्ने आकलन थिएन तर सबैको सहयोगले यो अवस्था आएको हो।’ उनले अरू दलमा व्यापक बेथिति देख्दा मतदाताले परिवर्तन खोजेको र त्यो परिवर्तन आवश्यक पनि रहेको उनले बताए।

राजनीतिक विश्लेषक कपिलमणि दाहालका विचारमा चुनावमा कहिलेकाहीं अप्रत्यासित परिणाम आउने गर्छ। नेपालको सन्दर्भमा हरेकपटकको निर्वाचनमा एउटा फरक शक्ति विकल्पमा देखिने गरेको छ। २०४७ मा जनमोर्चाको यस्तै अवस्था थियो। २०६४ मा माओवादीप्रति बढी मत खस्नुको कारण पनि विकल्प खोज्दा रहेको उनले बताए। ‘अहिले पनि मतदाताले विकल्प खोजेका हुन्। भइरहेको अभ्यासमा सन्तोष नभएपछि परिवर्तनका लागि मत दिएका हुन्’, दाहाल भन्छन्, ‘नयाँ दलमा भोट हाल्ने विकल्प छ भन्ने लाग्यो भने यस्तो खालको परिणाम आउँछ।’ दाहालको बुुझाइमा अघिल्लोपटकको चुनावमा माओवादी र एमाले मिल्दा चुनावी परिणामपछि राम्रो होला भन्ने सोचेका मतदाताले त्योअनुसार पाएनन्। अहिले कांग्रेस र माओवादी मिल्दा पनि विश्वास नलागेकाले विकल्प खोजिएको हुन सक्छ।

‘यो एउटा लहर पनि हो। यतिसम्म भेटियो कि भोट खसाल्न जान थालेका वृद्ध बुबाआमाको मतदाता परिचयपत्र हातमा लिएर छोराछोरीले घन्टीमा भोट हाल्न दबाब दिए’, उनले भने, ‘वृद्ध बुबाआमा अरू दललाई भोट खसाउने मुडमा थिए तर छोराछोरीले घन्टीमा भोट हाल्न दबाब दिए। घन्टीमा भोट खसाउने भए मात्र परिचयपत्र दिने नत्र नदिने भनेर अडान कसे। त्यसपछि बाबुआमा बाध्य भए।’ सामाजिक सञ्जालमा व्यापक हुँदा पनि त्यसको प्रभाव परेको उनी बताउँछन्।

‘विदेशमा रहेका युवाले घरमा फोन गरेर अभिभावकलाई घन्टीमा भोट हाल्न लगाए,’ उनले भने, ‘छोराछोरीको दबाब अभिभावकले अस्वीकार गर्न सकेनन्।’ समानुपातिक प्रणाली पनि भएका कारण यसपटक भोट स्वतन्त्र पार्टीतर्फ मत गएको पनि उनको अनुमान छ। ‘प्रत्यक्षमा आफ्नो दललाई र समानुपातिकमा स्वतन्त्रलाई दिने भन्ने सबैतिर हल्ला फैलियो’, उनले भने।

यो चुनावी परिणामले मूलधारका दललाई सचेत बनाएको उनी बताउँछन्। ‘दलहरू सचेत हुनुपर्छ भन्ने हो। यो समूहको राजनीनिक अनुभव छैन तर मतदाताले पत्याएका छन्। पुराना दलप्रतिको विकर्षणले पनि यो अवस्था आएको हो’, उनले भने, ‘एकै व्यक्तिलाई बारम्बार भोट दिँदा पनि असन्तोष चुलिएको रहेछ। पुरानालाई मात्र कति भोट दिने भन्ने सोचाइ पलायो।’ केही महिनाअघि भएको स्थानीय तहको चुनावमा स्वतन्त्रका उम्मेदवारले जितेको र काम गरेको देख्दा पनि अहिले स्वतन्त्र दलप्रति आकर्षण बढेको हुन सक्ने राजनीतिशास्त्रका प्राध्यापकसमेत रहेका दाहालले बताए।

प्रकाशित: ७ मंसिर २०७९ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App