१५ चैत्र २०८० बिहीबार
राजनीति

स्थापित नेतालाई चुनौती बन्दै नयाँ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार लड्दा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई मुख्य राजनीतिक दलहरूले आफ्नो प्रतिस्पर्धी ठानेका थिएनन्। लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीचनै प्रतिस्पर्धा हुने आकलन गरिएको थियो।

राप्रपाले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ५९१ मत मात्रै प्राप्त गरेको थियो। दलको चुनाव चिह्नले पाएकै मतका आधारमा ठूला भनिएका राजनीतिक दलहरूले राप्रपासँगको सम्भावित प्रतिस्पर्धालाई नजरअन्दाज गरे। अहिले जुम्लाको प्रारम्भिक रुझानले ठूला राजनीतिक दलका उम्मेदवारमाथि राप्रपाका ज्ञानेन्द्र शाही भारी पर्ने देखिएको छ।

जुम्लामा एकीकृत माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धन छ। अघिल्लो पटक पनि जुम्लाबाट माओवादी केन्द्र विजयी भएको थियो। यो पटक गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुवँर प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन्। यसअघि सांसद भइसकेकी उनलाई कांग्रेस र समाजवादीको दह्रो साथ हुँदाहुँदै ज्ञानेन्द्र शाहीको प्रारम्भिक नतिजाले पक्कै झस्काएको हुनुपर्छ।

जुम्ला नेकपा एमालेको पनि राम्रो जनाधार भएको क्षेत्र हो। एमाले उम्मेदवार रतननाथ योगी पनि ज्ञानेन्द्रभन्दा धेरै पछाडि छन्। सोमबार अबेरसम्मको मत परिणामअनुसार गठबन्धनभन्दा राप्रपाका शाही दोब्बर मतले अघि छन्। जुम्लामा प्रतिनिधिसभा सदस्यमा ४५ हजार ५९मत खसेको छ।

सल्यानमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार प्रकाश ज्वालालाई पुतली चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका राजेन्द्रबहादुर शाहले चुनौती दिइरहेका छन्। सल्यानमा ज्वाला आफै एक ‘ब्राण्ड’ हुन्। त्यसमाथि कांग्रेस र माओवादीको जनाधार पनि राम्रो छ। प्रारम्भिक नतिजाले लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार ज्वालालाई पनि चुनाव जित्न सहज देखिएको छैन।

अघिल्लो पटक एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका ज्वालालाई यो पटक स्वतन्त्र उम्मेदवारसँग संघर्ष गर्नु परिरहेको छ। प्रारम्भिक नतिजाले सल्यानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवारको जनाधार धेरै देखिएको छ।

ज्वालालाई पुतली एका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहे पनि एमालेका उम्मेदवार राजेन्द्रवीर राय गणनामै छैनन्। स्थानीय प्रेमनारायण विकका अनुसार सल्यानमा गठबन्धनका साझा उम्मेदवार ज्वाला र स्वतन्त्र उम्मेदवार शाहबीच मुख्य प्रतिस्पर्धा छ। ‘प्रारम्भिक नतिजा हेर्दा एमालेका उम्मेदवार ज्वाला र शाहसँगै प्रतिस्पर्धामा आउने देखिएन्,’ उनले भने, ‘पूर्व एमाले भएकाले त्यो भोट सल्यानमा ज्वालालाई आएको हुनसक्छ।’ स्वतन्त्र उम्मेदवार शाह कांग्रेसबाट विद्रोह गरेका हुन्। कांग्रेसले चुनावको केही दिनअघि उनीसँगै २२ जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको थियो।

स्वतन्त्र उम्मेदवार शाहलाई कांग्रेसका जिल्ला सचिवसहितका नेता तथा कार्यकर्ताको साथ थियो। ‘नयाँ दल भए पनि ज्वालाको जनतामा राम्रो प्रभाव छ, त्यसमाथि अहिलेको गठबन्धन निर्माणका लागि उहाँको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले पनि गठबन्धनका बागी उठ्दा पनि उहाँ (ज्वाला) ले अग्रता लिइरहनुभएको छ।’

कर्णालीका जुम्लासहित सुर्खेत–२, सल्यान र दैलेख–१ मा मतगणना भइरहेको छ। मतपेटिका समयमै आइनसकेका कारण अधिकांस ठाउँको मत गणना मंगलबारबाट हुने संभावना छ।

चासोका साथ हेरिएको सुर्खेत–१ को सिम्तामा मंगलबार मतदान हुँदैछ। कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँ पुनः मतदान हुन लागेको हो। यहाँ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गठबन्धनबाट र निर्वतमान सांसद एवम् नेकपा एमालेका नेता ध्रुवकुमार शाही चुनावी मैदानमा छन्।

कर्णालीमा १२ प्रतिनिधिसभा र २४ प्रदेशसभा निर्वाचन क्षेत्र छन्। मत गणना नभएका निर्वाचन क्षेत्रहरूमा पनि नयाँ उम्मेदवारले पुराना उम्मेदवारहरूलाई चुनौती दिने देखिन्छ।

प्रकाशित: ६ मंसिर २०७९ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App